काठमाण्डौ खोलेर अन्यत्र लकडाउन लम्ब्याउने तयारी
‘काठमाण्डौ महामारीका हिसाबले देशभरकै सुरक्षित र कम प्रभाव भएको ठाउँ हो भन्ने सरकारको बुझाइ छ’,
‘त्यसैले काठमाण्डौ लाई खुलै राखेर मुलुक चलाउने र बाँकी ठाउँमा अझै केही समय लकडाउन जारी राख्ने कि
भन्नेबारेमा अनौपचारिक तहमा छलफलहरु भइरहेको स्रोतले बताएको छ ।’
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लगाइँदै आएको लकडाउन फेरि एकपटक लम्ब्याइने भएको छ । सरकारले तेश्रोपटक घोषणा गरेको लकडाउन मिति आगामी ३ वैशाखमा सकिँदैछ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसमा सरकारले लकडाउन अवधि थप गर्दै आएको छ । समितिले केही दिनमै फेरि लकडाउन लम्ब्याउन मन्त्रिपरिषमा सुझाव दिने तयारी गरेको समिति सदस्यसमेत रहेका एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार मिछेकी भारतमा कोभिड–१९ को महामारी तीव्र गतिमा फैलिएकाले त्यसको प्रभाव नेपालमा पर्न सक्ने आंकलनका साथ सरकारले लकडाउन अवधि पथ गर्न लागेको हो । सुरक्षा चेकजाँच नहुने खुला स्थान (दसगजा) बाट एकअर्का देशका नागरिक आवतजावत गर्ने भएकाले कोभिड–१९ को संक्रमणबाट नेपाल जोखिममा रहेको सरकारको बुझाइ छ ।
सरकारले विदेशबाट आएका नेपालीमा संक्रमण पुष्टि भएपछि ११ चैतदेखि १८ सम्म पहिलोपटक लकडाउन गरेको थियो । तर, थप संक्रमित देखिन थालेपछि क्रमशः १९ देखि २५ र २६ देखि ३ वैशाखसम्मका लागि लकडाउन घोषणा गरिएको हो ।
काठमाण्डौ खोल्ने, अन्यत्र लकडाउन जारी राख्ने विकल्प !
यस्तै सरकारले लामो लकडाउनका कारण मुलुक सञ्चालनमा समस्या परिसकेकाले काठमाण्डौ उपत्यका खुलै राखेर अन्यत्र मात्र लकडाउन गर्ने कि भन्नेबारे समेत गृहकार्य गरिरहेको बुझिएको छ ।
अब एकपटक लम्ब्याउने र त्यसपछि पनि प्रभाव कम देखिए काठमाण्डौ खोल्ने तयारी रहेको उच्च स्रोतले जानकारी दियो । कोभिड–१९ को उदगमस्थल चीनको हुवेई प्रान्तमा लामो समय लकडाउन गरिए पनि राजधानी बेइजिङसहित कम प्रभाव भएका सहरहरु खोलिएको उदाहरण दिँदै एक मन्त्रीले त्यस्तो विकल्पमा समेत छलफल भइरहेको बताए । काठमाण्डौ उपत्यकामा हालसम्म विदेशबाट आएकी एक युवतीमा कोभिड–१९ संक्रमण देखिएको थियो ।
तर, उनीबाट परिवारका सदस्य तथा उनको सम्पर्कमा आएका व्यक्तिहरुलाई संक्रमण भएको पाइएको छैन । त्यसैले काठमाण्डौ मा समुदायस्तरमा कोरोना नफैलिइसकेको निस्कर्ष सरकारको छ ।