नेपालमा कोरोनाको जोखिम कायमै छ ? जनस्वास्थ्य विज्ञहरु के भन्छन्
नेपालमा १७ दिनको लकडाउनमा पनि नौ जनाभन्दा बढी संक्रमित फेला नपरेको अवस्थामा अब कोरोनाको स्थिति के छ ? यसबारे विश्लेषण गर्नुपूर्व दुईवटा तथ्य विचरण गरौँ :
तथ्य एक : ९ चैतबाट अन्तराष्ट्रिय हवाई उडान र १० चैतबाट सीमा नाकाको आवागमन बन्द भयो । ११ गतेबाट देशभर लकडाउन लागू भयो । अर्थात् पछिल्लो १७/१८ दिनमा कोही पनि विदेशबाट आएका छैनन् र देशभित्र रहेका हरेकले १४ दिनको होम क्वारेन्टाइन अवधि पूरा गरिसकेका छन् ।
तथ्य दुई : लकडाउन आसपासमा भारतबाट सीमा क्षेत्रमा आएका केही मानिसहरु क्वारेन्टाइनमा छन् । उनीहरुमा कोरोना संक्रमण भए/ नभएको परीक्षण सुरु भएको छ । पछिल्लो दुई दिनमा भएको परीक्षणमा कोरोनाका संक्रमित भेटिएका छैनन् ।
त्यसोभए नेपालमा कोरोनाका थप संक्रमित छैनन् त ? अहिले धेरैले यो प्रश्न गर्न थालेका छन् । यो प्रश्न स्वभाविक पनि हो ।
किनभने, चैत पहिलो साता हवाई मार्गबाट आएका हरेकले तीनसाता पूरा गरेका छन् । काठमाडौं, धादिङ र धनगढीमा एक/एकजना तथा बागलुङका दुईजनाबाहेक अरूमा संक्रमण देखिएको छैन । १४ दिन बितिसक्दा कसैमा रहेको भए कोरोनाको लक्षण देखिइसक्नुपर्ने हो ।
यदि उनीहरु परीक्षणको दायरामा नआएर पो नदेखिएको हो कि भन्ने आशंका गर्ने हो भने पनि बिरामी भएर कोही अस्पताल पुगेको रेकर्ड छैन ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को भनाइ छ कि कोरोनाका एक सय संक्रमित छन् भने ८० प्रतिशतलाई सामान्य मात्र हुन्छ । १५ प्रतिशतलाई उपचार चाहिन्छ भने केहीलाई भेन्टिलेटरमै राख्नुपर्ने हुन्छ ।
तर, यो लकडाउनको अवधिमा नेपालका अस्पतालहरुमा कोरोनाको मात्र होइन, ‘सस्पेक्टेड इन्फ्लुएन्जा इन्फेक्सन’ भएका बिरामीको पनि चाप बढेको छैन ।
सुदुरपश्चिमका सीमा नाका हुँदै भारतबाट आएकाहरुले पनि दुईसाता अवधि पूरा गरे । भारतको स्थलमार्गबाट आएकाहरुको ठूलो संख्या आफ्नै घरपरिवारमा छन् भने कोही क्वारेन्टाइनमा छन् ।
त्यही क्वारेन्टाइन स्थलबाट संकलन गरिएको नमुनाहरुको परीक्षण भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म परीक्षण गरिएकाहरुमा संक्रमण देखिएको छैन ।
त्यसैले, नेपालमा कोरोना संक्रमणको अवस्था कुन स्थितिमा हो भने भन्ने प्रश्न स्वाभाविक हो । नेपालमा अब कोरोना नदेखिएकै हो त ?
यसमा जनस्वास्थ्य विज्ञहरुको दुईखाले मत पाइन्छ ।
महामारीबारे अध्ययन गरेर आएका डाक्टरहरुको एकखाले मत पाइन्छ भने अरुको त्योेभन्दा फरक मत पाइन्छ ।
महामारीका विषयमा अध्ययन गरेका डाक्टरहरु भन्छन्, ‘संक्रमित भए पनि नदेखिएको पो हो कि ? किनकि, हामीले ज्वरो आयो भने मात्र कोरोना संक्रमणको लक्षण भन्ने गरेका छौँ । तर, थुप्रै देशहरुको तथ्यले भन्छ कि लक्षण नै नदेखिएका (ए सिम्टोम्याटिक) संक्रमित पनि हुन सक्छन् र उनीहरुले धेरै मानिसलाई सार्न सक्छन् ।’
यस्तै तर्क गर्नेमध्ये एक डा. अनुप सुवेदी भन्छन्, कोरोना छैन भनेर भनेर ढुक्क हुने अवस्थामा हामी छैनौँ ।’
त्यसोभए हामी कहाँ छौँ त ? डा. सुवेदी भन्छन्, ‘हामी कुन अवस्थामा छौँ भन्नका लागि हामीसँग तथ्यांक हुनुपर्छ । विनाआँकडा यसबारेमा कुरा गर्दा अनुमानमात्र हुन्छ । मेरो आकलन हाम्रोमा एक/दुई सय वा एक/दुई हजार संक्रमित भेटिन सक्छन् । तर, हजारबाट नै लाख पुग्ने हो । त्यसका लागि एकाध हप्ता पनि लाग्दैन ।’
डा. सुवेदीले यसो भनिरहँदा अन्य चिकित्सकहरुको मत अलिक फरक छ ।
त्यस्तो मत राख्ने चिकित्सिक भन्छन्- ‘लक्षण नै नदेखिएका कोरोना भाइरसका संक्रमित त एकाध पो हुन सक्लान्, सबै त हुँदैनन् । लक्षण नदेखिएका संक्रमित पनि परिवारमा बसेका होलान् र तिनमा संक्रमण देखिएन । तर, परिवारका सदस्यलाई सरेको भए बिरामी त हुनुपर्ने, अस्पताल आउनुपर्ने हो । इन्फ्लुएन्जा सस्टिमिक इन्फेक्सन’का बिरामी त बढेका छैनन् । त्यसैले यो चाहिनेभन्दा बढी डर हो, जुन उपयुक्त होइन ।
जोखिम रहिरहनेछ
डा. अनुप सुवेदी र खेम कार्की दुबै सहमत छन् कि नेपालमा कोरोनाको जोखिममा भने रहिरहने छ ।
पछिल्लो समय दक्षिणी छिमेकी भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । संक्रमण फैलिन नदिन चालिएका तमाम सरकारी कदमका बाबजुद महामारीको रुप लिने खतरा कायमै छ ।
भारतमा ठूलो संख्यामा नेपालीहरु छन् । भारतमा महामारी बढ्दै जाँदा त्यहाँ रहेका नेपालीहरु घर फर्किन चाहन्छन्, जसलाई लकडाउन वा सीमाबन्दीले रोक्न गाह्रो छ ।
किनकि, नेपाल र भारतका खुला सीमामा वैधभन्दा अवैध प्रवेशमार्गहरु धेरै छन् । डा. कार्की भन्छन्, ‘सीमा नाकामा आवत- जावत बन्द गरेपछि पनि छिटफुटरुपमा मानिसहरु छिरिरहेका छन् र भोलिका दिनमा पनि रोक्न गाह्रो छ । त्यसैले प्रदेश १, २, ५, ६ र ७ मा अझै केही समय उच्च जोमिख रहिरहने छ ।’
भ्याक्सिन उत्पादन नभएसम्म जोखिम हुन्छ भन्ने सोचेर सरकारले अहिलेदेखि नै तयारी गर्नुपर्ने डा. अनुप बताउँछन् । ‘टेस्ट किटदेखि पीपीई जोहो गर्नुपर्छ ।
आईसीयू र भेन्टिलेटर नभएको ठाउँमा पनि अहिलेदेखि नै जोहो गर्न थाल्नुपर्छ । किनकि, कोरोनाको महामारीको दुई/चारपटक आउन सक्छ’ उनले भने, भोलिका लागि सोचेर अहिलेदेखि नै पूर्वतयारी गरिएन भने ठूलो विपत आउँछ ।’ अनलाइन खबरबाट