राजधानीमै पैसा नभए पछि श्रीमतीलाई नाम्लोले बोकेर उपचार गर्न यसरी लादै दृष्य (तस्वीर/भिडियो )
काठमाण्डौं । लकडाउनले गाडीहरु चलेका छैनन् । बजारका सटर र घरका ढोकाहरु बन्द छन् । सडकमा मान्छै त्यति हिडेका छैनन् । कोरोनाको रोकथामका लागि करीब दुई सातादेखि राजधानी काठमाण्डौं सहित देशको जनजीवन यसरी नै बितिरहेको छ ।
अपरान्ह २ बजे यो पक्तिकार लकडाउनकाे रिपाेटिङकाे सिलसिलामा गाेंगबु जाँदै गर्दा सामाखुसीमा एक व्यक्तिले एक अधबैशे महिलालाई नाम्लोले बाकेर हिडिरहेको दृष्य देखियो । त्यस पछि आफ्नो स्कुटर रोकेर उनीसगँ केही जिज्ञासा राख्यौं । ती व्यक्ति डम्बर सिंखडा रहेछन् धादिङका । जसले विरामी श्रीमतीलाई नाम्लोले बोकेका थिए । काठमाण्डौंमा डेरा गरेर बस्ने डम्बरको श्रीमती सिता सिंखडा लामो समयदेखि मृगौला पीडित भएर डायलासीस गराउदै आएकी छन् ।
हप्तामा दुई पटक डायलासीस गर्नु पर्ने भएकाले उनले श्रीमतिलाई एम्बुलेन्समा लाने पैसा नभए पछि नाम्लोले बोकेरै गोंगबुमा रहेको नेस्नल डायलासीस सेन्टर प्रा.लि.तिर लादैँ गर्दाको दृष्य हो यो ।
- सिर्जना तिम्सिना/https://www.mirmireonline.com/
लकडाउनले गर्दा सार्वजनिक गाडी नचल्ने, एम्बुलेन्समा लान पैसा नहुने भए पछि उनले आज डायलासिस गर्नै पर्ने भएकाले नाम्लैले भए पनि बोकेर सितालाई लिएर हिडेँका हुन् । करीब ७ बर्ष अघि देखि नै सीतालाई टिभी, सुगर जस्ता रोग देखिएको थियो । त्यस पछि शिक्षण अस्पतालमा उपचार पछि त्यो ठीक भए पनि ४ बर्ष अघि उनको मृगौलामा समस्या देखियो । उपचार गर्दै जादाँ पनि निको भएन बरु सम्पूर्ण रुपले फेल भएर अहिले डायलासीस गरेर बचाउनु परेको छ उनलाई ।
डम्बर निन्याउरो अनुहार लगाएर भन्छन्, ‘गाँउमा एक रोपनी जति खेत र एक हल जतिको मेलो बारी छ , त्यो पनि बादरले खान्छ बाली । विदेशमा बसेर ८ बर्षको मजदुरी गरेर कमाएको सबै श्रीमतिको उपचारमा सकियो ।’ यति मात्र कहाँ हुनु र सिंखडाको पीडाको बोझ त अरु पनि छन् । उनको १३ बर्षीय छोरो जन्मजात (अटिजम) अपांग छन् । केही संस्थाहरुको पहलमा गत आईतबार सिताको डायलासीस गरेकै दिन उनका नातेदारहरुले चितवन नारायणघाटको एउटा आश्रममा लगेर राखिदिएका छन् । डम्बर काठमाण्डौंमै साढु भाइकाे डेरामा बसेर सिताकाे उपचार गराउदै छन् । उनी चार महिना अघि मात्रै कतारबाट श्रीमति साह्रै भए पछि आएका थिए । करीब १४ लाख रुपैया जति सकिएको, आर्थिक अभाव उत्तिकै । उमेरले ४३ बर्ष पुगेका सिंखडालाई दुःखले घेरेको उनकी श्रीमति बिरामी भए पछि नै हो । उनले कतारमा मजदुरी गरेर केही पैसा पठाएर छोरा र श्रीमति पाल्दै आएका थिए । तर अब त्यो पनि जटिल बन्दै गएको छ ।
केही दिन अघि लकडाउनको राहत लिन सामाखुसीमा पुग्दा वडाले ४ किलो चामल, एक पोका तेल र एक किलो दाल दियो । त्यही खाएर बसेका छौँ । उनले भने । डायलासीस निःशुल्क गर्ने सरकारको नीतिका कारण अलि सजिलो भए पनि औषधी, विभिन्न समस्याले गर्दा रिण पानले नै चले पनि अब त्यो पनि बाटो बन्दहुँदै गएको सिंखडाले बताए । के गर्नु श्रीमतिलाई बचाउन जति दुखः गर्नु परे पनि गर्छु, तर आर्थिकले नसक्ने स्थितिमा पुर्यायो भावुक हुदै उनले भने ।
उनले दुखःले अस्पतालको कागजपत्र हामीलाई देखाउदै गर्दा पनि सिता पीडाले बोल्न नसकेको देखिन्छ । यो एउटा मायाको अनुपम उदाहरण हो मानवीय जीवनमा । तर पैसै ठूलो भए पछि कहिले काहीँ माया पनि हार्न सक्छ गरीबहरुका लागि । याे डम्बर सिंखडाकाे अवस्था एउटा प्रतिनिधिमुलक घटना हो, नेपालका सबै भन्दा धनीहरु र राज्यको सम्पूर्ण केन्द्रीय निकाय रहेको ठाँउ राजधानीमै पैसाको अभावमा मान्छे नाम्लोमा बोक्नु पर्ने स्थिति छ भने दुरदराज गाँउमा कतिको उपचार नपाएर, आर्थिक अभावले ज्यान गएको होला सोच्ने कसले ? ध्यान दिने कहिले ?
डम्बरले भने, ‘अब बस्न खान नि समस्या भएकाे छ । उपचारका लागि त झनै अप्ठ्याराे छ सहयाेगी हातहरू भए सजिलाे हुन्थ्याे नि तर म दुःखीलाइ कस्ले पाे हेर्छ र ?’
भिडियाे हेर्नुहाेस् ।