नागरिक पोष्ट News


कोभिड-१९, मैले देखेका चुनौति र अवसर : राज्यले दूरगामी सोच राखेर गरेको लकडाउनको निर्णय सर्हानीय

4.5K

- पुनम कुइकेल (शर्मा)

चैत्र ५ गते भन्दा एकदिन अगाडिसम्म म बौद्द-चाबहिल बाटो हुँदै नित्य आफ्नो काममा जाने गर्थे। हरेक दिन धुलो-धुवाँसंग संघर्ष गर्दै घरबाट काम; कामबाट घर मेरो दैनिकी बनेको थियो। यहाँका वासिन्दाहरु सडकको धुलो धुवाँको प्रदुषणबाट ग्रसित भएर राज्यप्रति आक्रोस पोख्ने क्रम निरन्तर चलिरहेको थियो। तर आज यहाँको वातावरण भिन्न देखिएको छ। अहिले यो क्षेत्र सुनसानलाग्दो छ । हिजोसम्म धुलाम्य आकाश निर्मल र सफा देखिन्छ । हावा स्वच्छ छ । हावामा एकखालको पुरानो सुवास फैलिएको छ । स्वच्छ माटोको सुवास । वाल्यकालमा अनुभव गरेको चैत्र महिनामा वर्षाका थोपा माटोका खस्दा आउने एउटा मीठो सुवास हुन्थ्यो, त्यहीखालको सुखद अनुभव।

 हिजोसम्म आजको जस्तो स्वच्छ वातावरणको लागि गुहार मागिरहेका हामी आज त्यो वातावरण पाउँदा काहाली लागिरहेछ कि हामी कस्तो अनौठो दिन बाँचिरहेका छौं। कोरोना भाइरसको आतंकबाट विश्वका कुनैपनि पहिलो वा तेस्रो देश, धनी या गरीब, कोही पनि मुक्त छैनन् । नदेखिने शत्रुहरुको आक्रमणले महाशक्ति राष्ट्रहरु पनि नीरिहजस्ता देखिएका छन् । अमेरिका र युरोपको अवस्था कहालीलाग्दो छ । सन्त्रास व्याप्त छ संसारभरका मानव जातिमाहरुमा ।

चौबिसै घण्टा सामाजिक सञ्जालहरुमा व्यापक समाचारहरु आइरहेकाछन् । नकारात्मक र सकारात्मक दुवैखाले समाचारका वीचमा विस्मय र दुःखका खबरहरु नै धेरै छन् । मनमा एक प्रकारको त्रासको अनुभूति भैरहेछ। टोलमा छाएको शान्ति र स्वच्छता पनि एकप्रकारको भयावह क्षणको आगमनको प्रतिक्षामा बसिरहेको भान हुन्छ। मानौं सबै मान्छेहरु थाकेर घरभित्र सुस्ताउन थाले जस्तो । चराचुरुंगीको चिरबिरले पनि कुनै खुसीको सजीवता थपे जस्तो लाग्दैन। लकडाउन चलिरहेको छ । सारा सडक सुन्न भएजस्तो। सरकारले लकडाउन गरेपछि संक्रमण धेरै फैलिन भने सकेको छैन । तर पनि मनमा अन्यौल कायम नै छ।

हामी यो जान्दैनौं कि कोभिड - १९ महामारी कहिले समाप्त हुन्छ; न त हामीलाई थाहा छैन यो कसरी अन्त्य हुनेछ। र वर्तमानमा हामी यसको दीर्घकालीन राजनीतिक र आर्थिक प्रभावको बारेमा मात्र अनुमान लगाउन सक्छौं। संकटको समयमा, हामी अनिश्चितताबाट संक्रमित भएका छौं। मनमा एक प्रकारको आशा निराशाका विचारहरुको हुरी नै चलिरहेको छ। अन्यौलता भएपनि परिवेश स्थिर रहदैन, त्यो पक्का छ। तर त्यस संकटले ल्याउने मानसिक, सामाजिक, भौतिक र आर्थिक असर भने विगत भन्दा धेरै फरक बनाउँदछ। आजको संकटको समयमा शाररिक कार्य खासै नभएकोले दिमागी कार्यको बोझ बढेको छ। अनेक विचार भुमरी बनेर उमडिरहेको छ। भोलिको दिन स्वयंको लागि, परिवारको लागि, समाज, सिंगो राष्ट्र अझ भनौं संपूर्ण संसारको लागि कस्तो रहने होला?

 दिन बिताउने वाहेक खासै महत्त्वपूर्ण कार्य केही नभएकोले दिमागको काम भने बढ्दै गएको छ। आजको परिवेशलाई एक अवसरको रुपमा हेर्दा विभिन्न तरंगहरु झंकार बनेर गुन्जिरहेका जस्तो लाग्छ। ती तरंगहरुलाई शब्दमा व्यक्त गर्दा निम्न अवसर एवं चुनौतिहरुको प्रस्फुरित भइरहेका छन्-

आजको सबैभन्दा महत्त्वपूर्ण विषय भनेको  महामारीको बिरूद्ध सामूहिक रक्षाको व्यवस्था कसरी गर्ने पूर्णतया सरकारमा निर्भर अवस्था छ। एकातिर विज्ञान नै अन्योलमा परेको समयमा हाम्रो राज्यले दूरगामी सोच राखेर लकडाउनको निर्णय अवश्य पनि सह्रनीय मान्नुपर्छ। अर्कोतिर दिनप्रतिदिन खस्किदै गएको अर्थतन्त्रले अझ आउँदा दिनमा कस्तो महामारी फैलाउने हो त्यो बेग्लै चिन्ताको विषय बनेको छ। उदाहरणको लागि हालै अष्ट्रेलिया सरकारले २० लाखभन्दा बढीको संख्यामा रहेका अस्थायी भिसा बाहेकलाई आफ्नो घर फर्कन सुझाएको अवस्था छ। उनको अनुसार अबको छ महिनासम्म आफ्नो खर्च धान्न नसक्ने अस्थायी भिसा भएका मानिसहरुलाई आफ्नो मुलुक फर्किन प्रेरित गरिएको भनिएको छ। साथै विभिन्न मुलुकहरुमा कार्यरत विशाल संख्याका रहेका युवाहरुको घर फर्कनेको पनि कमि छैन।यसले एउटा नँया चुनौती खडा गरको छ भने सँगै अवसर पनि। चुनौति-यदि ती संपूर्ण युवाहरु स्वदेश फर्किए भने राज्यले वनीहरुको भविष्यको कस्तो भाग्यरेखा कोर्ने छ त? अवसर-ती दक्ष जनशक्तिको उचित व्यवस्थापनद्वारा देशको आर्थिक वातावरणमा विकासको मोहर लगाउन सक्दछ।

भोलिको दिन सिंगो विश्व नै नयाँ परिवेश र सोचले अगाडि बढ्न सक्ने संभाव्यताको पनि कमि छैन। कोभिड-१९ ले राष्ट्र-राष्ट्र बिचको धेरै सिमाना बन्द भएपछि यो देख्न सकिन्छ - हरेक सरकारले आफ्नो जनतामा ध्यान केन्द्रित गरिरहेको छ।सामान्य अवस्थामा राष्ट्रहरूले बिरामीको स्वास्थ्य प्रणालीमा उनीहरूको राष्ट्रियतामा कुनै भिन्नता राख्दैन तर यस संकटमा उनीहरूले आफ्नो नागरिकलाई अरूभन्दा बढी प्राथमिकता दिएको देखिन्छ। यसले के प्रष्ट पार्छ भने हिजो सम्म विश्व एक बजारको नारा चलिरहेको आज विनाशकारी कोरोना प्रकोपले हरेक राष्ट्रलाई सांघुरिन वाध्य बनाएको छ। प्रत्येक देशका जनताहरु सुरक्षाका लागि सरकारको ठोस कदममा निर्भर छन्। सरकारको प्रभावकारिता अब उनीहरूको दैनिक व्यवहारमा परिवर्तन गर्न सक्ने क्षमता द्वारा मापन गरिएको छ।त्यसकारण, कोरोनाभाइरसले जातिवादको आधारमा नभई राष्ट्रवादलाई मजबुत बनाएकोछ। बाँच्नका लागि सरकारले नागरिकहरूलाई केवल राज्यहरू बीचमा नभई व्यक्तिहरू बिच भित्ताहरू निर्माण गर्न लगाएकोछ। चुनौति-विश्व एक भिलेज मानेर परनिर्भर हुँदा कठिन समयमा विभेद गर्दाको चोट। अवसर-आ-आफ्नो राष्ट्रलाई मजवुद गर्न दूरगामी रणनीति निर्माण गर्ने नँया परिवेश।

कोभिड १९ को संकटले अन्तर्पीढिय द्वन्दको गतिशीलतामा पनि ठूलो प्रभाव पारेको मैले महशुश गरेकोछु। मौसम परिवर्तन र यसले प्रस्तुत गर्ने जोखिमको बारेमा बहसको सन्दर्भमा युवा पुस्ताहरूले आफ्ना अघिल्ला पीढिहरुलाई स्वार्थी हुनुका साथै भविष्यको बारेमा गम्भीरतासाथ सोच्दै नसोचेका भनेर समय-समयमा आलोचना गरिरहेका छन्। तर आज कोरोनाभाइरसको संक्रमणले यी गतिशीलताको विपरित असर देखाएको छ। अहिले, सबैभन्दा बढी समाजको पुरानो सदस्यहरु असुरक्षित छन्।विश्व जगतमा देखिएको मृत्युदर जीवनको साठी दशक पार गरिसकेका छन्।जुन आजका पुस्ताले अपनाएको जीवनशैली पनि एक कारण बन्न पुगेको छ। यदि यो लामो समयसम्म संकट रह्यो भने यो अन्तर्पीढिय द्वन्द्व अझ भयावह हुन सक्छ। चुनौति-यन्त्रवत् रुपमा चलिआएको जीवनशैली परिवर्तन। अवसर-कोरोनाको कारण आएको स्थीरताले वातावरणीय परिवर्तन पक्कै पनि संपूर्ण सजिव जीवजन्तुको लागि अकल्पनीय उपहार बनेको छ।

त्यसैगरि आजको परिस्थीतिमा घर भित्र नैबस्ने, सामाजिक दूरी कायम राख्ने, अनावश्यक कसैको घर नजाने-नबोलाउने, धैर्य धारण गर्ने, सफाइमा ध्यान दिने जस्ता कृयाकलापले एक प्रकारको मशिन बनिसकेका मानिसहरुलाई बिश्रामको अवसर दिएको छ। आज सबैजना आफ्ना बाल्यकाल, स्वच्छ वातावरण, पारिवारिक एक्यबद्दता, सपरिवार समयको सदुपयोगको महत्तव बुझिरहेका छन्। जसले गर्दा धेरैको संवन्धमा आएको तीतोपन पनि मीठासमा परिणत भएको बारम्बार सुन्नमा आइरहेको छ। चीनका जनताले देखाएको संयम, जीवनको महत्त्वको कदरले गर्दा आज यस्तो महामारीबाट छोटो समयमा मुक्त हुनसकेको दृश्य पनि हामीबाट लुकेको छैन।परिस्थीति अनुसार आफूलाई ढाल्नुमा नै बुद्दिमानी हुन्छ भन्ने यसले प्रमाणित गर्दछ। यसलाई हामीले ठूलो उपलब्धी मान्नु पर्छ। अर्कोतिर लकडाउनलाई गंभिरता साथ नलिदां, चंचल स्वभावमा लगाम लगाउन नसक्दा, महामारीले ल्याउन सक्ने जोखिमको आंकन गर्न नसक्दा देखिएका कहाली लाग्दो परिस्थीति पनि हाम्रो अगाडि चित्रित नै छ। इटली र अमेरिकाका आजका दृश्य यसको ज्वलन्त उदाहरण हुन्।

अन्त्यमा, विश्वव्यापी कोरोनाको महामारीले सबैजसो मुलुकहरु पीडित छन्। मानवता जिउँदो रहेसम्म संसारले कोरोनाजस्तो महामारीबाट पार पाउन कठिन हुने छैन। माथि उल्लेखित विचारहरु केबल लकडाउनको समयमा खर्चिएको मेरो दिमागको उपज मात्र हुन्। तर सबैको मष्तष्कमा एक उपज पक्कै समान छ, त्यो समय सधैं एकैनास रहदैन। परिवर्तन अपरिहार्य हो र भएर नै छाड्छ। समय गतिधील छ; यसलाई कसैले रोकेर रोक्न सक्दैन। सकारात्मक बनौं। चुनौतिहरुको सामना गरौं र अवसरहरुको स्वागत गरौं। दिन अवश्य फेरिने छ। हाम्रा लागि परिस्थिति सजिलो पनि छैन ।तर मनमा विश्वाश लियौं-  नँया घमाइलो दिन फेरि देखिनेछ।

 

Must View