कोरोना भाइरस जैविक अस्त्रको रुपमा प्रयोग भएको हो ?
आज विश्व कोरोना भाइरसको प्रकोपले आक्रान्त छ। चीनको वुहान शहरबाट सुरु भएको भनिएको कोरोना भाइरस यतिखेर विश्वव्यापी फैलिएको छ। यसबाट यतिवेला सबैभन्दा बढी युरोप र अमेरिका आक्रान्त भएको छ। यो कहिलेसम्म फैलिने हो ? यसले कति मानवीय क्षति पुर्याउने हो ? यसले विश्वव्यापी त्राहिमाम बनाएको छ।
कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन लगायत युद्धस्तरमा अभियान चलिरहेको छ। तर, पनि चीन र दक्षिण कोरियासहित एशियाका केही मुलुकहरु बाहेक अन्य मुलुकहरुमा नियन्त्रण हुन सकेको देखिदैंन। युरोप र अमेरिकामा झन् तीब्र गतिमा बढ्दो छ।
यसप्रकारको महामारी सामान्यतः प्राकृतिक प्रकोपको उपज मानिन्छ। विगत विभिन्न ऐतिहासिक कालखण्डहरुमा औलो, बिफर, प्लेग, इवोला, एड्स, सार्स जस्ता रोगहरु फैलिएका हुन्। त्यसबाट लाखौं र करोडौंको संख्यामा मानिसहरुको ज्यान गएको पनि हो। २० औं शताब्दी पूर्वसम्म यो प्राकृतिक प्रकोपकै रुपमा सीमित थियो। जब विश्वमा पूँजीवादको चरम विकास भयो र एकाधिकार पूँजीवादको विकास भयो, तब विश्वमा साम्राज्यवादको जन्म हुन पुग्यो। साम्राज्यवादी शक्तिहरुको बीचमा आआफ्नो उपनिवेश बिस्तार गर्ने क्रममा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गयो। फलतः शक्ति राष्ट्रहरुबीचमा द्वन्द्वको स्थिति पैदा भयो।
त्यस क्रममा पहिलो र दोस्रो विश्वयुद्ध भयो। युद्धमा लाखौ मानिसहरुको नरसंहार गरियो। दोस्रो विश्वयुद्धको अन्त्यसम्म आइपुग्दा अमेरिकी शासकले विज्ञान र प्रविधिको दुरुपयोग गर्दै युद्धमा आणविक र जैविक अस्त्र समेत प्रयोग गरे। दोस्रो विश्वयुद्ध पश्चात् संयुक्त राष्ट्र संघको गठन तथा विभिन्न अन्तरर्राष्ट्रिय अभिसन्धिहरु मार्फत् त्यसप्रकारका नरसंहारकारी अस्त्रहरुको प्रयोगमाथि प्रतिबन्ध लगाएको हो। तर, पनि उक्त अभिसन्धिहरुलाई विभिन्न वहानामा छल्दै शक्ति राष्ट्रहरुले त्यसप्रकारका अस्त्रहरुको निर्माण गर्ने र प्रयोग गर्ने गरिरहेका छन्। यसै क्रममा कोरोना भाइरस सम्बन्धमा अमेरिकाले सन् २०११ मा फिल्म बनाउनुका साथै त्यहाँ सेनाले त्यस सम्बन्धी प्रयोगशालामा परीक्षण र अभ्यास गर्ने गरिरहेको, त्यहाँको एक जना सैन्य अधिकृतलाई भाइरस संक्रमित भएको, चीनको वुहानमा भएको खेलकूद कार्यक्रममा सहभागी हुन अमेरिकी सेनाका जवानहरु वुहान पुगेर जुन होटेलमा बसेका थिए, खेल पश्चात त्यही होटलमा काम गर्ने कर्मचारीहरु र होटल नजिकैको माछा पसलेमा त्यस रोगका लक्षण देखिएको, उक्त कुरा विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट गरेपछि कोरोना भाइरस भनी पहिचान गरिएको परिघटना हेर्दा यस भाइरसलाई अमेरिकाले अस्त्रको रुपमा प्रयोग गरेको त होइन ? प्रश्न गम्भीर रुपले उठिरहेकोे देखिन्छ। यसको छानविन र प्रविधिक पुष्टि त हुन बाँकी छ। तर पनि त्यस पश्चातका घटनाक्रमहरु हेर्दै जाँदा वुहानमा रहदैं आइरहेका अमेरिकी नागरिकहरुलाई तुरुन्तै वुहानबाट फिर्ता लैजानु, उक्त रोग विरुद्वको उपचारको क्रममा एकता र सद्भावको सट्टा चिनियाँ कोरोना भनी चीनप्रति विद्वैष पैदा हुने गरी अमेरिकी मिडियाहरुद्वारा गरिएको प्रचारबाजी आदि परिघटनाहरुले शंकाको सुईलाई झन् बढाएको छ।
विश्व परिस्थिति हेर्दा सन् १९९० को दशकमा सोभियत संघको विघटन पश्चात अमेरिकी शासकको नेतृत्वमा एक ध्रुवीय स्थिति रहदै आइरहेको हो। सन् २००८ पश्चात अमेरिका लगायत युरोपेली मुलुकहरुमा गम्भीर प्रकारको आर्थिक मन्दी पैदा भयो। अर्कोंतर्फ चीन लगायतका एशियाली मुलुकहरुमा आर्थिक विकासको गति तीब्रतर रुपमा बढिरहेको अवस्था हो। यही गतिमा चीन लगायतका मुलुकहमा आर्थिक बृद्धि दर जारी रहेमा निकट भविस्यमा आर्थिक रुपले शक्ति राष्ट्र चीन बन्नेछ र अमेरिकी नेतृत्वको पश्चिमी एक ध्रुवीय प्रभुत्व समाप्त हुने आँकलन अमेरिकाले गरेको छ। यस स्थिति पैदा हुन नदिन र अमेरिकी प्रभुत्व कायम राख्नका लागि व्यापारिक क्षेत्रमा शीतयुद्धको रुपमा चलिरहेको व्यापार युद्धको रणनीतिलाई परिवर्तन गरी फौजी युद्धतर्फ मोडेर मात्र चीनलाई नियन्त्रण गर्न सकिन्छ भन्ने रणनीति गत केही बर्षदेखि यता अमेरिकाले लिदैं आइरहेको छ। त्यसको लागि अमेरिकाले इण्डो प्यासिफिक रणनीतिक अभियान सुरु गरिसकेको छ। चीनका छिमेकी मुलुकहरुसँग सैन्य गठबन्धन गरेर चीनलाई घेराबन्दी गर्दै लगिरहेको छ।
कोरियाली पेनेसुएला लगायत हिन्द तथा प्रशान्त महासागरीय क्षेत्रमा शस्त्रअस्त्रसहित ठूलो संख्यामा अमेरिकी सेना तैनाथदेखि जापानसँग अकिनावा टापुको विवाद, ताइवान समस्या, दक्षिणी चिनियाँ समुद्रको विवाद, हङकङ परिघटना, सिन्ज्याङ परिघटना, कथित फ्री तिब्बत र दलाई लामाको मुद्दा आदि सबै कुनै न कुनै रुपमा चीनलाई घेराबन्दी गर्ने र विखण्डन गर्ने रणनीतिसँग जोडिएका छन्।
तर, अर्कोतर्फ चीनको रणनीति भने आर्थिक विकास र व्यापारमा केन्द्रित रहदैं आयो। शान्तिपूर्ण प्रतिस्पर्धाको नीतिमा केन्द्रित रहदैं आयो। यही क्रममा छिमेकीहरुसँग पनि आर्थिक विकासमा साझेदारी गर्दै आर्थिक समृद्विको लागि ‘एक भेग एक सडक’ को मान्यता अनुसार देशभित्र मात्र होइन ऐतिहासिककालीन एशिया र युरोपबीचको रेशमी मार्गको मान्यतालाई उजागर गर्दै चीनको सिंयाल शहरदेखि युरोप जोड्ने र पश्चिमी एतिहासिक सभ्यताको केन्द्र इटलीको रोमसम्म जोड्ने लक्ष्यका साथ आर्थिक पूर्वाधार निर्माणमा केन्द्रित रहेको अवस्था हो। यसमा एशियाली मुलुकहरुमात्र होइन इटली लगायतका युरोपेली मुलुकहरुले यस अभियानमा सहमति पनि जनाई सकेको अबस्था हो।
यसरी अमेरिका पूरै सैन्य रणनीतिमा र चीन शान्तिपूर्ण आर्थिक विकासको रणनीतिमा लागिरहेको स्थितिमा चीनको ठूलो औद्योगिक शहरको रुपमा परिचित वुहान शहरमा देखिएको कोरोना भाइरस प्राकृतिक प्रकोप मात्र नभई कतै अमेरिकाले चीनविरुद्ध जैविक अस्त्र प्रयोग गरेको त होइन ? धेरैले अहिले यसबारेमा शङ्का गरेका छन्।
चीनपछि अरु बढी प्रभावित मुलुकहरुमा इटली, स्पेन, इरान आदि देखिन्छ। यसबाट कतै चीनद्वारा प्रस्तावित ‘एक भेग एक सडक’का विरुद्ध परिलक्षित त छैन ? शंका गर्ने ठाउँ देखिन्छ। किनभने अमेरिकाको इरानमाथिको निशाना प्रस्टै छ कि चीन र अरब मुलुकबीचको एकता र नाकाको रुपमा रहेको इरानलाई कसरी कमजोर पार्ने भन्ने देखिन्छ। त्यस्तै गरी इरानलाई कमजोर पार्नु भनेको प्रकारान्तरले रुस र भारतलाई पनि कमजोर पार्नु हो। इटली युरोपेली मुलुकमध्ये सायद पहिलो नै चीनको ‘एक भेग एक सडक’ विकास आयोजनालाई समर्थन गर्ने मुलुक हो। त्यसले ऐतिहासिककालीन रोमन सभ्यतासँग एशियाली सभ्यता जोड्ने महत्वपूर्ण मुलुक हो। त्यसका साथै अरब र युरोप जोड्ने र अफ्रिका जोड्ने नाका पनि हो। यही व्यापारिक र आर्थिक महत्वलाई ध्यानमा राखी इटलीलाई निशाना बनाउन खोजेको हो कि भन्ने देखिन्छ। त्यसैगरी अमेरिकाको निम्ति ल्याटिन अमेरिकी मुलुकहरुलाई चुनौतीको रुपमा लिने गरिरहेको छ। ल्याटिन अमेरिकासँगको सम्बन्ध भनेको स्पेनलाई लिने गरिरहेको छ। स्पेनलाई कमजोर पार्न सकेमा ल्याटिन अमेरिकालाई कमजोर पार्न सकिने अमेरिकी रणनीति रहेको छ।
स्वयम् अमेरिकामा नै किन कोरोना भाइरस फैलियो ? भन्ने प्रश्न उठ्न सक्छ। पहिलो कुरा यो सिधा भौतिक रुपमा लड्ने सैन्य युद्ध होइन, सिधा लड्नुपर्ने सैन्य युद्धमा कैयन ‘क्यामोफ्लाइज’ गर्नका लागि दायाँवायाँ कदमहरु चाल्छन्। यो त झन् परोक्ष रुपमा षडयन्त्रमुलक ढंगको लड़ाई हो। यस्तोमा प्रतिरक्षाका लागि झनै दायाँवायाँ कदमहरु चाल्नु युद्धको अनिवार्य नियम हो। युद्धमा गतिविधिहरु कहिलेकहीँ नेतृत्वको नियन्त्रण बाहिर पनि जाने गर्दछ। त्यसको प्रभाव पनि रहेन भनेर भन्न सकिन्न। अमेरिका स्वयममा भाइरस फैलिनुको पछाडि प्रतिरक्षाको रणनीतिले काम गर्नुका साथै आगामी नोवेम्वरमा हुने निर्वाचनमा ट्रम्पलाई जिताउने रणनीति पनि अन्तरनिहित देखिन्छ। अमेरिकामा यो भाइरस अन्त्यहीन ढंगले फैलिदैन। यो नियोजित हुने भएकाले सायद आउदो में महिनासम्म फैलिने भनी ट्रम्प स्वयंले भनेका छन्।
अहिलेको विश्व साम्राज्यवादको आर्थिक आधार भनेको एकाधिकार पूँजीवाद हो। त्यसमा पनि मुख्यत: वित्तीय एकाधिकार पूँजीवादी बहुराष्ट्रिय कम्पनीहरुको प्रभुत्व नै प्रमुख रुपमा रहेको छ। साम्राज्यवादका राजनीतिक प्रतिनिधिहरु तिनै बहुराष्ट्रिय कम्पनीहरुको लगानीको आधारमा परिचालित हुने गर्दछन्। अहिलेको भाइरस अस्त्र कति हदसम्म र कुन कुन मुलुकमा फैलाउने भन्ने कुरा तिनै भूमण्डलीकृत बहुराष्ट्रिय कम्पनीका मालिकहरुको हातमा केन्द्रित छ। आधुनिक युगमा विज्ञान र प्रविधिको जुन विकास भएको छ, त्यो पनि तिनै बहुराष्ट्रिय कम्पनीका मालिकहरुको हातमा केन्द्रित छ। उनीहरुले आफ्नो प्रतिस्पर्धीहरुलाई कसरी विस्थापित गर्ने भनी हरहमेसा षड्यन्त्र गरिरहेको हुन्छ। त्यसैको आधारमा घटना परिघटनाहरु चलिरहन्छ।
यतिखेर अमेरिकाकै औषधि उत्पादन र व्यापार गर्ने भूमण्डलीकृत बहुराष्ट्रिय एकाधिकार कम्पनीहरुको षडयन्त्रको आधारमा वर्तमान कोरोना भाइरस रुपी महामारी सिर्जना भइरहेको अनुमान धेरैले गरिरहेका छन्। यदि त्यसो भएमा चीन र एशियाली मुलुकहरुको अर्थतन्त्रलाई विस्थापित गरेर पश्चिमी बहुराष्ट्रिय कम्पनीहरुको प्रभुत्व कायम गर्न र पूर्वीय विकास र समृद्विको सभ्यतालाई ध्वस्त बनाएर पश्चिमी संस्कृतिको प्रभुत्व कायम गर्न कम्तिमा पनि यो बर्ष ८/१० महिनासम्म यो भाइरस आतंक मचाउन सक्ने सम्भावना देखिन्छ।
परन्तु त्यसप्रकारको महामारीको प्रतिरोध गर्ने चिनियाँ समाजवादी चिन्तन शैली, चिनियाँ जनताको एकता, दृढता र विज्ञान प्रविधिको प्रयोग र चिनियाँ नेतृत्वको साहसिक कदमले गर्दा चीनले २/३ महिनाकै अन्तरालमा महामारीको अस्त्रलाई निस्तेज बनाउन सफल भएको छ। त्यही मात्र होइन महामारीको विरुद्धमा विश्वव्यापी अभियान सुरु गरेर एक प्रकारले विश्वका मानव जातिको संरक्षण गर्नसक्ने विचार, नेतृत्व र क्षमता रहेको सन्देश समेत चीनले दिइरहेको छ। विश्व शक्ति सन्तुलनको दृष्टिबाट चीन र एशियाली मुलुकहरु अग्रपंक्तिमा देखिन थालेको छ भने अमेरिका यस भाइरस रणनीतिबाट आत्मघाती बनेर बुमर्याङ हुने त होइन भन्ने देखिन्छ। अब उसको रणनीतिक दिशा संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठन, विश्व वैंक, अन्तरराष्ट्रिय मुद्रा कोष आदि अन्तरराष्ट्रिय संघ संस्थाहरुको आवरण र सहारा लिएर केही समय शक्ति संचयको लागि प्रतिरक्षात्मक कदमहरु चाल्न सक्छ।
तर, साम्राज्यवादको चारित्रिक विशेषता भनेको जतिसुकै पराजयको स्थिति पैदा भए पनि अन्तिम समयसम्म विश्व मानव जातिका विरुद्ध षड्यन्त्र र नरसंहार मच्चाउनपछि पर्दैन भन्ने कुरा पहिलो र दोस्रो विश्वयुद्धमा मात्र होइन शान्तिकालमा पनि सिरिया, लेवनान, प्यालिस्टाइन, इराक, इरान, अफगानिस्तान, भियतनाम, इण्डोनेसिया लगायतका मुलुकहरुमा चलाएको ज्यादती र नरसंहारका घटनाहरुले पुष्टि गर्दै आइहेको छ।
अतः विश्व साम्राज्यवादका विरुद्ध विश्वका सम्पूर्ण उत्पीडित मुक्तिकामी राष्ट्रहरु अझ नयाँ उचाइमा एकताबद्ध हुँदै विश्व साम्राज्यवादको प्रतिरोध गर्नुको विकल्प छैन। महामारीविरुद्धको अभियान यसैको अभिन्न अंगको रुपमा लैजान सकेमा नै प्राकृतिक प्रकोप मात्र होइन प्रायोजित प्रकोपहरुको पनि नियन्त्रण गर्न सकिने छ।
- मिति २०७६ चैत्र २० (झिल्काेबाट साभार)