नागरिक पोष्ट News


विश्व खरानी बनाउने परमाणु हतियार भएका शक्तिसगँ कोरोना हराउने भ्याक्सिन किन भएन ?

1.8K

प्रज्वल श्रेष्ठ

 

आज कोरोना नामको अत्यन्त सानो सुक्षम भाइरस जो एउटा कलमले दिएको थोप्लो जत्रो आकारमा लाखौंको संख्यामा अटाउन सक्छ, त्यसले दुनियाँको निन्द्रा भंग गरेको छ । यसलाई पराजीत गर्ने कुनै पनि शक्तिराष्ट्र खासगरी अमेरीका यूरोप सहितका धनाढ्य मुलुकमा देखा परीरहेको छैन । यो भाईरस शुरुमा देखा परेको चीनले निन्त्रण गरेको भनेको अनुशासन र अन्य उपचारबाट संख्या र फैलावट रोकेको हो औषधी वा भ्याक्सिन तयार पारेर जीतेको हैन । यसरी हेर्दा विश्व राजजीतिक मान चित्रका असाध्यै धनी देशहरु बढी मात्रामा र गरीब देशहरु अलि कम मात्रामा कोरोनाको कहरसगँ पराजीत भईरहेका छन् । यसले प्रत्यक सेकेण्डका हिशाबमा मानिसको ज्यान लिईरहेको छ । चीनदेखि अमेरीकासम्म ईटालीदेखि भारतसम्म । केही समय अघि भएको जी सेभेनको भर्चुअल बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तर्क दिए कि कोरोनाले धनी देशहरुमा ९० प्रतिशत प्रभाव पारेको छ र मृत्यु हुनेहरुमध्य पनि ८८ प्रतिशत त्यही देशहरुमा छ । हो एउटा अनौठो के भईरहेको छ भने ठूलो विनाशचाहीँ कोरोनाले धनीहरुकै बीचमा ल्याएको छ । एउटा धनीदेश चीनबाट शुरु भएर अहिले ससारकै सबै भन्दा धनी अमेरीकामा उत्पात मच्चाईरहेको छ । यो लेख तयार पार्दै गर्दा विश्वभर ७० हजार मान्छेलाई चितामा पुर्याएको कोरोनाले १२ लाख बढीलाई संक्रमण गरेको छ र यो दिनानुदिन बढीरहेको छ । अहिले धेरै तिर प्रश्न उठिरहेको छ कि धनी देशहरु जोसगँ चन्द्रमा कब्जा गर्ने तागत छ, मंगलग्रहमा जमिन र पानी खोज्ने तागत छ, पृथ्वीलाई कैयौ पटक ध्वस्त गर्न सक्ने परमाणु हतियारको भण्डार छ । तर तिनै देशले कोरोनालाई हराउने हतियार किन भेटेनन् ? अर्थात कोरोना विरुद्ध युद्ध जीत्ने भ्याक्सिन किन भएन ? १. प्रकृतिमाथिको शोषण विश्वमा हाल सम्म देखा परेका धेरै महामारीहरु प्रकृतिमाथिको चरण शोषणको उपज मान्न सकिन्छ । कतिपय बैज्ञानिकहरुको यो दावी छ कि मानिसले प्रकृतिको नियम विरुद्ध यसका संसाधनहरुमाथि आफ्नो स्वार्थ र सुविधाका लागि अथाह दोहन गरेका छन् । यसले वातावरण र वायुमण्डलमा परेको असर र प्रभाव आजको कोरोना पनि हो भनिरहेका छन् । तर यसलाई कतिपयले कृतिम तरीकाले उत्पादन गरिएको हो भनिरहेका छन् । यसका बारेमा भविष्यमा तथ्यहरु आउने नै छन् । तर प्रकृतिमाथिको दोहन यो महामारीहरुका लागि जिम्मेवार रहदै आएको छ । ब्लाक डेथ देखि स्पेनिस फ्लु र टिभी लगायतका सबै विश्वव्यापी रोगहरु १४ औं शताव्दीपछि आधुनिकिकरण बढ्दै जादा भएको देख्न सकिन्छ । अहिले पनि बन देखि बायुमण्डल र अन्तरीक्ष सम्म समुन्द्रदेखि जमिन काहीँ कतै पनि मानिसले पहुँच नबनाएको र विनाश नगरेको क्षेत्र छैन । यसले गर्दा विश्वव्यापी तापमानमा जो तलमाथि भईरहेको छ यसले भविष्यमा अरु संभावित खतराहरु ल्याउने निश्चित छ । २. पूर्व चेतावनीहरुको वेवास्ता अमेरीकी गुप्तचर संस्था सिआईएले आजको नोवेल कोरोना भाईरस सन् २०२० मा फैलिन्छ त्यो चीन वा दक्षिणपुर्वी एशियाबाट फैलिन्छ भनेर सन् २००५ मै रिपोर्ट दिएको पाईएको छ । त्यो आश्चर्यजनक प्रतिवेदनबारे पनि विश्वले कम चासो दियो । अर्थात उसले के के विषयका आधारमा यस्तो अनुमान गरेको थियो । संभावित नयाँ भारईरस विरुद्ध लड्न कसैले तयारी गरेन । फलस्वरुप धनी देशहरुसगँ पैसा र परमाणु बम छ तर कोरोनाको भ्याक्सिन छैन । त्यसै गरी सन् २००७ मा अमेरीकी तथा चीनीया वैज्ञानिकहरुले चीन गंभीर भाईरसको संभावित विपत्तीको टाईम बम माथि बसिरहेको छ भनेर चेतावनी दिएको देखिन्छ । अक्टोबर महिनामा अमेरीकी सोसाईटी फर माईक्रोबायोलोजीद्धारा प्रकाशित “ क्लिनिकल माईक्रोबायोलोजी रिभ्यु ” मा त्यस्तो चेतावनी जारी भएको थियो । हङकङ विश्व विद्यालयसगँ मिलेर काम गरीरहेका चार जना वैज्ञानिकले यो चेतावनी सयुक्त रुपमा दिएको देखिन्छ ।

विश्वमा प्रतिघण्टा १२ मिलियन डलर (नेपाली रुपैया एक अर्ब ४५ करोड २० लाख) परमाणु हतियारको आविष्कार, उत्पादन,परीक्षण र भण्डारणमा खर्च भईरहेको छ । जब कि खान नपाएर प्रत्यक दिन २२ हजार बच्चाको मृत्यु हुने गर्दछ , ८५ करोड मानिससगँ पर्याप्त खानेकुरा छैन विश्वभरी । अमेरीकासगँ कैयौ पटक पृथ्वीलाई नष्ट गर्न सक्ने परमाणु हतियार छ तर कोरोनाको भ्याक्सिन छैन । मास्क छैन, विरामी राख्ने भेन्टिलेटर छैन र उनीहरुको ज्यान गईरहेको छ ।

त्यस पछि सन् २०१२ मा अमेरीकी थिंक ट्यांक रेड कर्पोरेसनले अमेरीकामा आतंकवाद भन्दा पनि अमेरीकालाई चेतावनी दिएको थियो कि उसका लागि आतंकवाद भन्दा अधिक खतरा महामारीको छ । तर उसले पनि सुनेको र तयारी गरेको देखिएन । अमेरीकी अट्लान्टिक अखबारले सन् २०१८ मा ईन्फ्लुएन्जासगैँ अघिल्लो प्लेग आउन सक्ने चेतावनी दिएको थियो तर ट्रम्प प्रशासनले यसलाई पनि नजरअन्दाज गरिदियो । उसले बरु अरबौं डलर युद्ध र हतियारमा खर्च गरीरह्यो फलस्वरुप आज कोरोनासगँ निरीह हुनु परेको छ । सन् २०१९ मै अमेरीकाको जोन हप्किन्स विश्वविद्यालयको हेल्थ सेन्टरले चीनबाट भाइरस आउन सक्छ भनेर पूर्व चेतावनी दिएको थियो तर त्यसलाई ट्रम्पले वेवास्ता गरे जसको परिणाम अहिले अमेरीकी नागरिकले जीवन दिएर भोगिहेका छन् । अमेरीका चीन, युरोप लगायतका देशहरुले प्रत्यक पटक मडारीरहने महामारीहरुका विरुद्ध ठूलो तयारी नगरेको स्पष्ट छ । यो पनि अहिलेको कोरोना नियन्त्रण बाहिर जानुको एउटा कारण देखिन्छ । ३.हतियारको होड र एटमबममा बढी खर्च विश्वका शक्ति राष्ट्रहरुले आफ्नो सामरीक , आर्थिक र र भूराजनीतिक स्वार्थको रक्षा र विस्तारका नाममा विश्वको ठूलो प्राकृतिक स्रोत साधनको दोहनबाट आएको पैसा हतियार र एटम बममा खर्च गरीरहेका छन् । ग्लोबल जिरोमा सन् २०११ मा प्रकाशित एक रिपोर्ट अनुसार विश्वमा प्रतिघण्टा १२ मिलियन डलर अर्थात आजको मुल्य अनुसार नेपाली रुपैया एक अर्ब ४५ करोड २० लाख रुपैया परमाणु हतियारको आविष्कार, उत्पादन,परीक्षण र भण्डारणमा खर्च भईरहेको छ । यसरी सन् १९४५ यता शक्ति राष्ट्रहरुको एटम बम निर्माण र परीक्षण, प्रयोग एवं आविष्कार खर्च हेर्ने हो भने खरबौं डलरको नाश भएको छ । यरी एटम बम बनाएर पृथ्वीलाई कैयौ पटक ध्वस्त पार्न सक्ने क्षमता भएका राष्ट्रहरु मध्य कुन देशिसगँ कति छ परमाणु हतियार तल हेरौँ ।

देश                                                 एटम बम रुस                                                  ७०० अमेरीका                                           ६८ सय फ्रान्स                                                ३०० चीन                                                 २६० बेलायत                                             २१५ पाकिस्तान                                        १४० भारत                                               ८०–१०० उत्तर कोरीया                                     १०–२०

यी देशहरु मध्य अमेरीकाले २८ सय भन्दा बढी नष्ट गर्नु पर्ने सम्झौता बमोजिम ती हतियार नष्ट गरेको छैन भने रुसले २५ सय भन्दा बढी । यति मात्र हैन करीब ७ वटा राष्ट्रसगँ हाईड्रोजन बम समेत रहेको छ । जसले पृथ्वीलाई सम्पूर्ण रुपले नष्ट गर्न सक्छ । एसआरपिआरआईको तथ्यांक अनुसार वर्षे पिच्छे सैन्य खर्चमा विश्वभर वृद्धि भईरहेको छ । सन् २०१८ मा मा मात्रै विश्वभरको सैन्य खर्च १८ सय २२ बिलियन डलर देखिन्छ । जसमध्य करीब ७ सय बिलियन अमेरीका एक्लैको छ । यस बाहेक स्टेल्थ फाईटर बिमान, सबमरिन, ईलेक्ट्रोनिक र स्पेस वारमा समेत ठूलो धनराशी देशहरुले खर्च गरीरहेका छन् । यसरी देशहरुले जनश्वास्थ्यमा त्यति नै रकम खर्च गर्ने संभावित महामारीहरुको तयारी गर्ने र सबैको स्वास्थ्य सुनिश्चितता गर्नुको साटो हतियारको होड गरीरहेका छन् । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरीकालाई पहिलो र महान बनाउने नाममा परमाणु हतियारको थप आविष्कार र आधुनिकीकरण गर्ने कुरामा जोड दिए राष्ट्रपति भए पछि जतिखेर ओवामा हेल्थकेयर नामक श्वास्थ्य कोष खारेज गरे । अहिले त्यही अमेरीका मास्क र भेन्टिलेटर नपाएर छटपटाईरहेको छ । उसले जर्मनीले अर्डर गरेको २ लाख बढी मास्क नै जफत गर्यो । जसलाई जर्मनले आधुनिक डकैतीको संज्ञा दिएको छ ।

मानवजाति र प्रकृृतिकीचको द्धन्दको परिणामको रुपमा यस्ता खतराहरु फेरी पनि अर्को केही बर्षहरुमा आउने लगभग देखिन्छ नै त्यसको विरुद्ध पूर्व तयारी र अनुसन्धान जारी रहनु पर्दछ । एक राज्य, एक व्यक्ति वा केही व्यक्ति शक्तिशाली हुने, धनी हुने र अरुलाई पछि पार्ने भन्ने जुन आर्थिक सामाजि संरचना छ त्यो बललिनु आवस्यक छ ।

अर्को एउटा डरलाग्दो तथ्यांक पनि देखिन्छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरीकाको ट्वीन टावर र ह्वाईट हाउसमा अलकायदाले विमान अपहरण गरेर ठोक्काउदा करीब ३ हजार अमेरीकीको ज्यान गए पछि अमेरीकाले आतंकवाद विरोधी युद्धको नाममा अफ्गानिस्तान ईराक लगायतका मुलुकमा गरेको नरसंहारकारी युद्धमा सन् २००२ मा मात्रै ५९ अर्ब डलर खर्च गरेको थियो । यो बढेर सन् २०१९ मा एक सय ५९ अर्ब पुगेको देखिन्छ । तर दुनिया आतकवादबाट सुरक्षित रहेन बरु कोरोना भाईरसको नयाँ आतकंले विश्व असुरक्षित बन्यो । मान्छे मार्ने र शहरै नष्ट गर्ने क्षमता राख्ने तर आफ्ना देशहरुमा मास्क र भेन्टिलेट र अनि श्वास्थ्य परीक्षणको अभाव हुनु भनेको कति दुखदः कुरा हो आजको विश्वका करीब पौने ७ अर्ब मानिसहरुले सोच्नु पर्ने बिषय हो यो । अझ डरलाग्दो तथ्याकं त के छ भने प्रत्यक दिन विश्वभर २२ हजार बालबालिकाहरुको मृत्यु भोकका कारण हुन्छ । ८५ करोड मानिसहरुसगँ पर्याप्त खानाको अभाव छ । एक अर्ब ३० करोड भन्दा बढी मानिसहरु प्रति दिन २.५ डलर भन्दा कम आए भएका मानिस छन् । जसले अहिलेको महंगो शिक्षा र स्वास्थ्यमा पहुँच राख्न सक्दैन । नागरिकतालाई अस्वस्थ राखेर भोकै राखेर, उपचार नपाएर मर्न दिएर निश्चित शासकरुले हतियार र बममा खर्च गर्ने कुराको संसारका जनताले विरोध गर्नु आवस्यक छ । पृथ्वी विनाश गर्न सक्ने, मान्छे मार्न सक्ने हतियार बनाउने तर कोरोना भाईरस नष्ट गर्न सक्ने भ्याक्सिन बनाउन नसक्ने ? कति मानिसको जीवन जाला ? अहिले नै अनुमान गर्न नसकिए पनि यसले लाखौंको संख्यामा ज्यान लिने त हैन भन्ने पूर्वानुमान गर्न सकिन्छ ।

यस्तो भाईरस फेरी आउन सक्छ लाग्छ कुनै न कुनै आविष्कार र प्रयासले यो कोरोना भाईरस लाखौं मानिसको ज्यान लिएर विश्वका अरबौं मान्छेको जीवनमा नयाँ पीडा र शिक्षा दिएर ढिलो छिटो बाटो लाग्ने छ । तर १४ औं शताव्दीको यूरोपमा देखिएको ब्लाक डेथ , अमेरीकाको दादुरा,क्यारेबियन क्षेत्रको पँहेलो ज्वरो,अफ्रीकाको राईडरपेष्ट,प्लेग, स्पेनिश फ्लु, सार्स, मर्स, ईबोला, स्वायनफ्लु जस्ता महामारीबाट विश्वले के शिक्षा लिन जरुरी छ भने यो बारम्बार आउन सक्छ । मानवजाति र प्रकृृतिकीचको द्धन्दको परिणामको रुपमा यस्ता खतराहरु फेरी पनि अर्को केही बर्षहरुमा आउने लगभग देखिन्छ नै त्यसको विरुद्ध पूर्व तयारी र अनुसन्धान जारी रहनु पर्दछ । एक राज्य, एक व्यक्ति वा केही व्यक्ति शक्तिशाली हुने, धनी हुने र अरुलाई पछि पार्ने भन्ने जुन आर्थिक सामाजि संरचना छ त्यो बदलिनु आवस्यक छ । जस्तै अहिले महामारी विरुद्ध देशहरु एक्ला एक्लै लडिरहेका छन् । सिंगो मानवजातिमा कोरोनाले प्रभावित बनाएको छ । जब सम्म विश्वभरबाट यो निर्मुल हुदैन तब सम्म कुनै पनि देशले आफू मात्र सुरक्षित रहन सक्दैन ।

-Source : https://www.mirmireonline.com/2020/04/06/142210/

Must View