कालोबजारी गर्दै गर्दा जगदम्बा सिमेन्ट र स्टीलका मालिक सुलभ अग्रवाल रंगेहात यसरी पक्राउ परे
काठमाडौँ । ‘तपाईंसँग ज्वरो नाप्ने थर्मल गन छ भन्ने सुन्यौं, हामीलाई चाहिएको छ, १ सय थान जति मिलाइदिनु र्पयो,’ शनिबार सुलभ अग्रवालसँग एक अपरिचित व्यक्तिले फोन गरे ।
त्यसपछि सुलभले फोन गर्ने ग्राहकलाई हुन्छ, प्रतिपिस १६ हजार पर्छ भने। ग्राहकले त्यत्रो त महंगो भयो, अलि मिलाइदिनुस् भन्दै आग्रह गरे। त्यसपछि सुलभले १५ हजारमा कुरा मिलाए। ती ग्राहक एक्लैले सय पिस थर्मल गन मागेपछि त्यसको जोहो गर्दै सुलभले मंगलबार बिहान उपलव्ध गराउने वचन दिए। तर ग्राहकले एकमुष्ट पैसा छैन भनेपछि सुलभले जति पैसा छ, त्यतिको मात्रै लैजानुस भनेपछि ग्राहकले १० लाख रुपैयाँ जोहो गरे।
सुलभले मंगलबार बिहान नक्सालमा सामान लिन ग्राहकलाई बोलाए। पहिले भएको कुराकानी बमोजिम नै ग्राहक उनलाई भेट्न नक्साल गए। सुलभ कूटनीतिक नियोग तथा राजदूतावासले प्रयोग गर्ने २०९ एचसीसी–१ नम्बर प्लेटको गाडीमा भेटिए। ग्राहकले फोन गरेर उनको गाडी नजिकै गए। सामान निकालेर १० लाख रुपैयाँ बुझाउन नपाउँदै सुलभलाई ती ग्राहकले नियन्त्रणमा लिए।
आफू प्रतिष्ठित उद्योगपति रहेको भन्दै पक्राउ नगर्न सुलभले आग्रह गरेका थिए। उनी शंकर ग्रुप तथा जगदम्बा स्टिल र सिमेन्टका सञ्चालक पनि हुन्।