कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम, सचेत रहौं, सावधानी अपनाऔं
कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम रहेको जनस्वास्वाथ्य विज्ञहरुले बताएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण सन्त्रासपछि भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै डेढ लाख नागरिक भित्रिएको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा पनि खासगरी सात पहाडी जिल्लाको रोजगारीको प्रमुख गन्तव्य नै भारत हो । नेपाल र भारतमा सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहँदा दार्चुलाको सीमावर्ती बजार धारचुलादेखि कञ्चनपुरको सीमावर्ती भारतीय वनबासा बजारसम्म नेपाली मजदूर रोकिएका छन् ।
भारतमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिमकै ठूलो नाका गड्डाचौकीबाट सबैभन्दा बढी करिब ७० हजारको सङ्ख्यामा नेपाली घर फर्किएको तथ्याङ्क छ । चैतको पहिलो साता भारतबाट आउने क्रम बढे पनि दोस्रो साता निकै ठूलो जमात भित्रिने पूर्वानुमान गर्दै गड्डाचौकी नाकामा सेना नै खटिएर आउनेको तापक्रम मापनको काम भयो ।
सेना पनि आफ्नो सावधानी अपनाउँदै तापक्रम मापनदेखि शङ्का लागेका बिरामीलाई अस्पताल पठाउने र हेल्थ डेस्कको व्यवस्थापनमा निकै सक्रिय रह्यो तर भारतबाट आउने हजारौँको सङ्ख्यालाई सीमामा व्यवस्थित हिसाबले राखेर सघनरूपमा चनाखो भएर स्वास्थ्य परीक्षण गर्न आवश्यक तयारी थिएन ।
चार जना सङ्क्रमित भइसकेको सुदूरपश्चिममा धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ भने बैतडी र डोटीमा पनि परीक्षणका लागि आवश्यक मेशिन उपकरण जडानको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ । सुदूरपश्चिम सङ्क्रमणको जोखिममा रहेको भन्दै सङ्घीय सरकारले पनि कैलाली र कञ्चनपुरमा कोरोना भाइरस परीक्षणका लागि ¥यापिड टेस्टिङ कीट प्रयोग गर्ने निर्णय गरेको छ ।