अमेरिकामा ८ हजार ५ सय को मृत्यु, न्यूयोर्कमा संकट, संक्रमित ३ लाख ११ हजार
एजेन्सी, चैत्र २३ । अमेरिकामा कोरोना भाइरसबाट ८ हजार चारसयभन्दा बढीको मृत्यु भएको छ । ३ लाख ११ हजारभन्दा बढी संक्रमित बनेका छन् ।
महामारीको इपिसेन्टर बनेको न्यूयोर्कमा एकै दिन कोभिड–१९ का कारण ६३९ जनाको मृत्यु हुँदा मृतकको संख्या अर्को उचाईमा पुगेको हो । न्यूयोर्क राज्यमा मात्रै मृत्यु हुनेको संख्या तीन हजार ५६५ पुगेको जनाइएको छ ।
ज्यान गुमाउने धेरै न्यूयोर्क शहरका छन् । न्यूयोर्क राज्यमा संक्रमितको संख्या एक लाख १३ हजार सात सयभन्दा बढी रहेको समाचार छ । अमेरिकाभर भने शनिबार मात्र कम्तिमा १२ सय २४ जनाको मृत्यु भएको छ ।
न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले अबको चारदेखि १४ दिनमा राज्यमा कोरोना भाइरस संक्रमणको अवस्था अहिलेसम्मकै उच्च भई अत्यन्त खराब स्तरमा पुग्ने बताएका छन् ।
राज्यमा कोरोना भाइरसविरुद्धको युद्धमा ८५ हजार मानिसले स्वतन्त्र रुपमा सेवा गरिरहेको र त्यसमध्ये २२ हजार मानिस राज्यभन्दा बाहिरका रहेको गभर्नर कुओमोले जानकारी दिएका छन् ।
उता चीनले न्यूयोर्कका लागि एक हजार भेन्टिलेटर सहयोग गर्न लागेको र ओरिगनले १४० भेन्टिलेटर पठाएको पनि उनले जानकारी दिए । न्यूयोर्क राज्यका गभर्न र मेयरले भाइरससँग लड्न सामान अभाव भएको बताउँदै आएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
स्वास्थ्य सामग्रीको आपूर्ति कम भएको भन्ने खबरलाई बढाइचढाईँ गरेर सञ्चारमाध्यम रेटिङ्ग बढाउने धुनमा लागेको आरोप ट्रम्पले लगाएका छन् । न्यूयोर्कका गभर्नर कुओमोले राज्यलाई ४० हजारभन्दा बढी भेन्टिलेटर आवश्यक रहेको बताइरहँदा ट्रम्पले भने त्यो कुनै हालतमा पूरा नहुने प्रतिक्रिया दिएका छन् ।