नागरिक पोष्ट News


श्वास प्रस्वास र कुराकानीवाट पनि कोरोना भाइरस सर्ने, सवै अमेरिकनले मास्क अनिवार्य लगाउनैपर्ने

1.9K

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अव हरेक अमेरिकी नागरिकलाई मास्क लगाउन नयां निर्देशिका जारी गर्ने वताएका छन् । प्रारम्भमा कोरोना भाइरस संक्रमित नभएका व्यक्तिले मास्क प्रयोग गर्नु नपर्ने तर केवल अर्को व्यक्तिवाट ६ फिटको दुरी कायम गर्नुपर्ने निर्देशिका आएको थियो ।

प्रतिष्ठित वैज्ञानिकहरुको समुहले विहीवारनै हाच्छिऊ र खोकीवाट निस्कने छिटावाट मात्र नभएर सामान्य कुराकानी र श्वासप्रश्वासवाट पनि कोरोना भाइरस सर्ने कुरा ह्वाइट हाउसलाई वताएका थिए ।

विश्व स्वास्थ संगठन (डव्लुएचओ) र रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी)ले ६ फिट दुरीमा वस्दा मास्क समेत लगाउनु नपर्ने वताइरहेको वेला प्रतिष्ठित वैज्ञानिकहरुले नयां तथ्य प्रस्तुत गरेका हुन् ।

नेशनल एकेडेमी अफ साइन्सका अध्यक्ष डा. हार्वे फाइनवर्गले सीएनएनसंग भनेका छन्, अव म सामान्य ग्रोसरी गर्न जांदा समेत मास्क लगाउन थालेको छु र अरुलाई पनि यही सिफारिस गर्छु ।

ह्वाइट हाउसमा विहीवार वोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकी प्रशासनले यो निर्देशिका चांडै जारी गर्ने वताए ।

न्यूयोर्कमा महामारी झन्झन् वढ्दै गएपछि विहीवारवाट सवै सर्वसाधारणलाई घरवाट वाहिर निस्कंदा वा अरु मानिसको नजिक जांदा अनुहार ढाकेर मात्रै निस्कन निर्देशन दिइएको छ । न्युयोर्क शहरका मेयर वील डे व्लासिओले विहीवार आयोजित पत्रकार सम्मेलनमा भने , सर्वसाधारणले मेडिकल मास्कनै लगाउनु पर्ने होइन, जुन स्वास्थकर्मीहरुलाई आवश्यक छ तर अरु सामान्य मास्कले अनुहार ढाक्नु उचित हुन्छ ।

न्यूयोर्कमा कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि व्यापक प्रयास गर्दा पनि सफल नभएको अवस्थामा मेयर डि व्लासिओले मास्क लगाउन निर्देशन दिएका हुन् ।

(स्रोत : सीएनएन)

Must View