कोरोना महामारी : मानव विकासलाई नै वर्षौं पछाडि धकेल्न सक्छ, अन्त होला कहिले ?
अहिले विश्वको आधा भन्दा बढी जनसंख्या लकडाउनमा घरभित्रै छ । सायद यो न त विगतमा भएको थियो न त भविष्यमै होला । यस्तो अवस्था सँसारमा भएका दुईवटा विश्वयुद्धमा पनि भएको थिएन ।
भारतीय प्रधानमन्त्रीले भनेजस्तै महाभारतको युद्ध १८ दिन चलेको थियो । सँसारले अहिले कोरोना भाइरससँग गरेको युद्ध तीन महिना बितिसकेको छ । चीनको वुआन प्रान्तमा सन् २०१९ को डिसेम्बरको अन्ततिर कोरोना भाइरसको पहिचान भएको थियो । त्यसपछि वुआनलगायत चीनका विभिन्न भागमा महामारी फैलियो ।
चीनमा महामारी फैलँदा उसको प्रतिष्पर्धी देश अमेरिकाले यसबाट आफ्नो आर्थिक अवसर सृजना हुने ठान्यो । अमेरिकी वाणिज्यमन्त्रीबाट रोजगारीको अवसर अमेरिकामा फर्कने भन्दै अभिव्यक्ति पनि आयो । तर, रोग फैलन छाडेन ।
शुरुमा पूर्वी एशिया, दक्षिण पूर्वी एशिया हुँदै मध्यपूर्वमा पुग्यो । युरोपमा इटाली, जर्मनी र फ्रान्समा फैलँदै गयो । त्यतिबेला पनि यसलाई पश्चिमाहरुले निकै गम्भीर रुपमा लिएका थिएनन् । जब युरोपमा यो आगो सरह फैलियो तब विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्व महामारी घोषणा गर्यो । लगत्तै अमेरिकामा फैलियो ।
चीन पछि युरोप र अमेरिकामा खतरनाक बनेको कोरोना भाइरसको संकट कहिलेसम्म भन्ने प्रश्न उठेको छ । सँसारको आधाभन्दा बढी भाग अहिले लकडाउन छ । युरोपका सबैजसो देशमा लकडाउन छ । अमेरिकाको ८० प्रतिशत जनसंख्या लकडाउनको पालना गरिरहेका छन् । विश्वकै ठूलो देश रुसमा लकडाउन छ । विश्वकै दोस्रो ठूलो जनसंख्या भउको भारत लकडाउनमा छ । यो महामारीलाई जित्न लकडाउन गरिएको छ । रोगको संक्रमण फैलन नदिन गरिएको लकडाउन चीनको अभ्यास हो जहाँ वुआन प्रान्तमा दुई महिना लकडाउन गरी स्थितिलाई नियन्त्रणमा ल्याइएको थियो । यसबाहेक वैज्ञानिकहरु औषधी र भ्याक्सिन बनाउन अहोरात्र खटिएका छन् ।
कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्न अमेरिका, चीन, भारत, इजरालयका अलावा युरोपेली देशका कम्पनिहरु जुटेका छन् । चीनमा सरकार नै यसमा सक्रिय छ । अमेरिकाले मानवीय परीक्षण गरिसकेको छ । भारतले पनि जनावरमा परीक्षण गरिसकेको छ । चीनमा पनि परीक्षणहरु भइरहेको छ । यस्तो अवस्थामा कोरोना भाइरससँगको युद्ध जित्न सिंगो सँसार एकजुट भएको अवस्था छ । कुनै न कुनै देशले भ्याक्सिन या औषधी नबनाएसम्म यसले पार्ने प्रभाव बढिरहनसक्छ । यसले सँसारमा आर्थिक संकट पार्ने देखिन्छ । यसबाहेक मानव विकासलाई नै वर्षौं पछाडि धकेल्न सक्छ ।