नागरिक पोष्ट News


कोभिड १९, लक डाउन, श्रमिक र राज्यको उत्तरदायित्व !

2.6K

- दुर्गा अर्याल, कपिलबस्तु

 विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्व समुदायलाई नै आतकिंत वनाइरहेको छ । मानव मानव वीच एक आपसमा तर्सिनु पर्ने अवस्था छ । नयाँ अनुहारसंग अझ वढीनै डराउनु पर्ने भएको छ । प्राय सवै समाजमा आजभोली घर, परिवार, छरछिमेक सबैको सम्बन्धनै विच्छेद् जस्तो भएको छ । यातायातका साधनहरु पूर्ण रुपले ठप्प छन् । यही वीच कोरोना रोकथामका लागि भन्दै सरकारले चैत ११ गतेदेखि देश नै ‘लक–डाउन’ गरेपछि यातायातका साधनहरु पूर्ण रुपले ठप्प भएका छन्।

हालै भएको लक डाउनले आम समुदायमा समस्या त छदै तर पनि श्रमिक वर्ग सवै भन्दा वढि मारमा परेका छन् । दिन भर मजदुरी गरेर जेनतेन छाक टार्ने वर्गलाई हालको वातावरण अरु असहज हुदै गएको छ । तर यही वीचमा ईटा उद्योगहरुमा भने हाल सम्म पनि उद्योगीको आफ्नै पहलमा खाद्यान्यको जोहो गर्दै श्रमिक वर्गलाई उत्पादन कार्यमा लगाइ रहेको छ । यद्यपी सचेत उद्योगीहरुले आफ्ना उद्योगहरुमा सुरक्षाको उचीत प्रवन्ध सहित कामदारहरु परिचालन गरीरहेका छन र यस वर्षको करिव ८ पटकको अप्रत्यासित वर्षाका कारण ईटा उद्योगको उत्पादनमा भएको नोक्सानीलाई परिपूर्ति गर्ने गरी कामदार परिचालन गरेको देखिन्छ ।

अन्य उत्पादनका क्षेत्र वाहेक कपिलवस्तुका रुपन्देही जिल्लाका उद्योगमा काम गर्ने मजदुरका हालहरु भने आजका मिति सम्म नियमित चलिरहेका छन् । यस अघि वमौसमी वर्षाका कारण कमाउन नसके र यस वर्षको कमाई पुरा गर्न निरन्तर हात चलाई रहेका छन । काचो इृटा उत्पादन गरि रहेका छन् । उनीहरुको कमाउने अवसरलाई ‘लक–डाउन’ ले छोएको छैन । उनिहरु सहुँसंग लिएको ऋण रकम तिर्न र ६/७ महिनाको सिजनमा गरेको कमाईले बर्षभरी नै खानाको जोहो गर्ने उद्देश्यले काम गर्दै आईरहेका छन् । 

यस बर्ष बेमौसमे पानीले कामदारहरुलाई  साहुँसंग लिएको ऋण तिर्ना पनि धौ–धौ हुने पक्का छ । त्यस माथी कोरोना भाइरसका कारण उद्योगीहरु आफ्ना कामदारहरुलाई कतिवेला सम्म रासन सुविधा उपलब्ध गराईरहन सक्छन अनिशिचत छ । यसले सम्पूर्ण कामदारहरुलाई अझ चिन्तित बनाएको छ  ।  

कपिलबस्तु, रुपन्देही लगायतका स्थानमा भएको ईट्टा उद्योगहरुमा हजारौंको संख्यामा भारत तथा नेपालका विभिन्न जिल्लाहरुबाट आउने कामदारहरुले रोजगारी गर्न आउँने गर्दछन् । उनीहरुलाई पछिल्लो समय सरुवा रोग कोरोना भाइरस र त्यस माथि नेपाल सरकारले गरेको ‘लक–डाउन’ बर्षभरी जोहो गर्ने खानाको चिन्ता नभएर आज–भोली साँझ विहानको जोहो गर्ने पनि समस्या देखिने निश्चित प्राय देखिन्छ । श्रमिक वर्गको रासन जेनतेन प्रवन्ध हुदै आएको तर कहिले सम्म सकिने हो भन्न असहज रहेको उद्योगी विनोद पन्त ले जानकारी गराउनु भएको छ । हाल सरकारी पहल संचार माध्यमका पानामा मात्र सिमित रहेको छ । यद्यपी वुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आफ्ना नगरपालिका भित्रका इृटा उद्योगको भ्रमण गरी आवस्यक अनुगमन र  सहयोगको वातावरण मिलाउने वताउनु भएको छ । कामदारहरुको स्वास्थ्यकालागि उचित पहल गर्न उद्योगीहरुलाई निर्देशन दिनु भएको छ र उद्योगीहरुले पनि उद्योग भित्र आचर संहिता, प्रर्याप्त हातधुने स्थानहरुको व्यवस्था, कोरोना भाइरस सम्वन्धी जानकारी, पोष्टर, पम्पलेट लगायतका माध्यमवाट सुरक्षित रहने जानकारी गराई सकेको छन् ।

 यद्यपी यी सवै राम्रा प्रयासका वावजुद उद्योगलाई अव आउने समस्या भनेका खाद्यान्यको आपूर्ति हो । यस सन्र्दभमा ईटा उद्योगमा काम गर्ने । श्रमिक वर्गका प्रतिनिधि पात्र जो कामदार समितिका पदाधिकारी छन् उनीहरुसंग सम्पर्क गरी हाल श्रमिक वर्ग र उद्योगीले के कस्तो महसुर गरेका छन् सो जान्ने प्रयास गरिएको छ । इटा उद्योगहरुले राज्यलाई औसत ६० लाख देखि १ करोड ४० लाख सम्म कर तिर्ने भएकोले पनि राज्यको सहयोग यो क्षेत्रमा हुन नितन्त जरुरी छ । राज्यलाई पर्याप्त कर वुझाउने यी उद्योगहरुलाई राज्यका निकायले संवोधन गर्न जरुरी देखिएकोले केही जानकारी दिने प्रयास गरिएको छ ।

बुद्धभुमी नगरपालिका वडा–८ स्थित सेभेन स्टार ईट्टा उद्योगमा पथेराको काम गर्दै आएका बर्दगोरिया–१ कैलाली निवासी टिकाराम डगौराले आफुहरुलाई पछिल्लो समय दैनिक खानाको जोहो गर्न पनि धौ–धौ हुन लागेको प्रतिक्रिया दिए  ।  उनले यस उद्योगमा आफुहरु छोरा, बुहारी र श्रीमती गरी ४ जनाले पथेराको काम गर्दै आएको बताउँदै सहुँहरुले कति दिनसम्मा हामीलाई पाल्नु हुन्छ कुन्नी ? भन्दै प्रश्न समेत गरे ।

 त्यस्तै हिमाल ईट्टा उद्योगमा कार्यरत कामदार समितिका एक सदस्य तथा बाणगंगा नगरपालिका वडा नं. ६ मैनहरा निवासी बाबुराम चौधरीले डर त्रासका विच हामी कामदार काम गर्दै आएको बताउँछन् । उनले आफुहरुले उद्योगमा नै बसेर काम गर्दै आएको बताउँदै कोरोनो रोक संक्रमण फैलिन नदिन सरकारले विभिन्न किसिमको अभियान चलाएको र लक–डाउन राम्रो रहेको बताए ।

 उनले लक डाउनको पूर्ण पालना गर्दै आएको बताउँदै कामदारहरुलाई आवश्यक खाद्यान्नको व्यवस्था मिलाउन स्थानिय सरकारले विशेष भुमिका खेल्नुपर्ने प्रतिक्रिया समेत दिए ।  

त्यस्तै शुद्धोधन गाउँपालिका  १ शोसा स्थित रहेको संमृद्धि ईट्टा उद्योगमा कार्यरत कामदार समितिका संयोजक तथा बर्दगोरिय गाउँपालिका ५ निवासी पथेराहरुका नाईके तिलक कठरियाले  पछिल्लो समय कामदारलाई ठुलो समस्या भोग्नु परेको गुनासो सुनाए ।  उनले भने–“हाट बजार पूर्ण रुपले बन्द छ । खानाको लागी जोहो गर्न समस्या छ । कामदारलाई घर पठाउँ यातायातका साधन चलेको छैन ।”  उनले साहुँ र आफुले मिलेर कामदारको लागी नजिकैको गाउँ तथा किराना पसलहरुबाट खाद्यान्यको जोहो गर्दै आएको जानकारी दिए । उनले अब ३/४ दिन भन्दा बढि खानाको जोहो गर्न सक्ने अवस्था नरहेको भन्दै राज्यले नै उद्योमा खद्यान्नको सहज व्यवस्था मिलाएको भए धेरै राम्रो हुने प्रतिक्रिया दिए । 

त्यस्तै रुपन्देहीको सिद्धार्थ ईट्टा उद्योगको म्यानेजर ईश्वरी बस्तीको प्रतिक्रिया उस्तै छ ।  उनले कोरोना रोगलाई संक्रमण हुन नदिन सवै कामदाहरुलाई सचेत गरेको बताए । उनले कुनै पनि ठाउँमा ४÷५ जना भन्दा वढी कामदारहरुलाई एकै ठउँमा बस्न नदिएको र आफुहरुले अनुगमन गरिरहेको प्रतिक्रिया दिए । उनले उद्योगका मजदुरहरुलाई उद्योग भन्दा बाहिर निस्कन पूर्ण रुपमा बन्देज रहेको बताए । उनले कामदारहरुको लागी आवश्यक दाल, चामल, नुन तेल, उद्योग व्यवस्थापकले नै व्यवस्था गर्दै आएको सुनाए । उनले यो लक–डाउन धेरै दिन भयो भने मजदुरलाई ठुलो समस्या हुने जानकारी दिदै राज्यले नै केही खाद्यान्यको सहज र सरल रुपमा व्यवस्था गरे राम्रो हुने प्रतिक्रिया दिए । त्यस्तै सेभेन स्टार ईट्टा उद्योगका म्यानेजर तथा गुनासो समितिका संयोजक मनोज चौधरीले निकै समस्याको बाबजुद कामदारहरुलाई नुन, तेल, दाल, चामल र तरकारीको व्यवस्था गर्दै आएको बताए । उनले भने–“बजार पूर्ण रुपमा सुनसान छ । हाट बजार खुलेका छैन । प्रहरी प्रशासन बाटोमा निस्कन दिएको छैन ।” उनले पूर्ण रुपमा विजोग रहेको बताउँदै आफु बाचौं र अरुलाई बचाऔं भन्ने उद्देश्यले उद्योग बािहर कोहीलाई पनि निस्कन र बहिरी मान्छे उद्योगमा छिर्न नदिएको बताए । 

बुद्धभुमी नगरपालिका वडा नं. ८ वडा कार्यलयको सिफारिस र ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेको अनुमति लिएर कामदारहरुलाई आवश्यक दैनिक उपभोग्य खद्यान्य गोरुसिङ्गे, बनगाई देखि दाल, चामल, नुन, तेल लगाय तरकारीहरु कामदारहरुलाई दिएको बताए । उनले अब २÷३ दिन पनि धौ–धौ भएको भन्दै राज्यले नै उद्योगका कामदारहरुलाई दैनिक उपभोग्य खाद्यान्नको व्यवस्था गर्नुपर्ने प्रतिक्रिया दिए ।  

त्यस्तै बुद्धभुमी नगरपालिका–८ बुद्ध ईट्टा उद्योगका संचालक विनोद पन्तले कामदारहरुलाई पूर्ण सुरक्षित तरिकाले काम गर्ने बतावरण गरेको बताए । उनले उद्योगमा काम गर्ने मजदुरलाई कोरोना भाइरस (कोभिड–१९) को बारेमा सम्पूर्ण कामदारहरुलाई सचेत गरेको जनकारी दिदै उनले ठाउँ–ठाउँमा सबुन पानीले हात धुने व्यवस्था मिलाएको र प्रत्येक कामदारलाई मास्कको व्यवस्था गरेको जानकारी समेत दिए । 

उनले कामदारलाई लक–डाउनको अवस्थामा घर फर्काउन पनि समस्या भएको हुँदा सुरक्षित रुपमा आ–आफ्नो झ्याउलीमा बसे पनि उनिहरुलाई साझँ विहानको खानाको समस्या हुन सक्ने बताए  । उनले आज सम्म आफुहरुले जसोतसो दैनिक उपभोग्य खाद्यान्नको उपलब्ध गरेपनि अब यो धेरै दिनसम्मा उपलब्ध गर्न नसकिने प्रतिक्रिया दिए । उनले भने– ‘लक–डाउन सरुवा रोग कोरोना भाईरसबाट बच्ने धेरै राम्रो उपाय भएपनि यो धेरै दिन लम्बीयो भने उद्योगमा काम गर्ने मजदुरलाई धेरै समस्या हुन्छ । त्यसैले राज्यले पनि यस विषयमा गम्भिर हुन जरुरी छ ।’

(Durga Aryal - ESDO NEPAL, Education In Every Home & Self-Reliant Development Organization Nepal

Must View