इटालीमा रहेका नेपालीको हालको अबस्था यस्तो छ
इटालीमा हालसम्म ११ हजार ५९१ को दुःखद निधन भइसकेको छ भने उपचाररतमध्ये झण्डै ४०० गम्भीर अवस्थामा छन् । इटलीको सम्पूर्ण भागमा भाइरस पुगेको छ । सबै भागमा सङ्कटकाल लगाएको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा घरमै बसिरहँदा उनीहरुमा एक प्रकारको छटपटी छ ।
इटालीको उत्तरी भागमा रहेको लोभागियामा सबैभन्दा बढी असर परेको छ, त्यहाँ पनि नेपाली रहेका छन् । इटालीको अनुभवमा नियमित व्यायाम र दैनिक काम गर्ने पनि सङ्क्रमित र मृत्यु भएका छन् । पहिला अन्य रोग लागेकालाई अन्य मुलुकमा झैँ बढी असरमा पारेको छ ।
इटाली सरकारले जरुरी काममा बाहेक त्यहाँको एक पालिकाबाट अर्को पालिकामा मानिसलाई जान रोक लगाइएको छ । ‘लकडाउन’ उलङ्घन गर्नेलाई ४०० देखि तीन हजार युरोसम्म कारवाही तोकेको छ ।
गैरआवासीय नेपाली सङ्घ एनआएनए का इटाली शाखाका पूर्वसचिव खकुरेलले इटालीका जनतालाई सरह आफूहरुलाई पनि आवश्यक पर्दा स्वास्थ्य परीक्षण र उपचार गर्न सरकारले प्रतिबद्धता जनाएको जनाउँदै सरकारले त्यहाँका नागरिक कसैको पनि रोजीरोटी नगुमोस् भनेर आर्थिक सहायताको घोषणा गरेको तथा व्यवसाय र रोजगार बन्द हुने कम्पनी र व्यक्तिलाई सहायता दिने जानकारी दिएका छन्।
उहाँका अनुसार एनआएरएन शाखाले दुई हजार दुई सय युरोको आपत्कालीन कोष बनाएर आर्थिक समस्यामा परेका नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ तर हालसम्म नेपाली आर्थिक सङ्कटमै भने परेका छैनन् ।
नेपाली समुदायलाई कुनै समस्या परेको खण्डमा इटालीस्थित नेपाली दूतावासले पनि आवश्यक समन्वय गर्दै आएको छ ।
इटालीमा रोमसहित मिलान, पेनिस, आवोस्ता, तोरिनो, पिसा आदि शहरमा नेपाली रहेका छन् ।