नागरिक पोष्ट News


कोरोना भाइरसको महामारी : अमेरिकामा कस्तो छ, नेपालीको अबस्था

2.5K

अमेरिका कोरोना भाइरसको चपेटामा फसेको छ ।  अमेरिकामा सबैभन्दा बढी कोरोनाको संक्रमित छन् । तथापी, मृत्यूदर  कम छ । कोरोनाको फैलावट दिन दुईगुना रात चौगुना भएपछि अमेरिकाको जनजीवन त्रस्त बनेको छ । अमेरिकामा, विश्वमै सबैभन्दा धेरै १ लाख ४१ हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको छ । तैपनि अमेरिकाले लकडाउन गरेको छैन । २४ सय ७५ जनाको त मृत्यु भैसकेको छ । कोरोनाबाट आइतबारसम्म अमेरिकामा करिब १ लाख २५ हजार व्यक्ति संक्रमित बनेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भएको छ । यसमा कति नेपालीहरु परेका छन् भन्ने यकिन छैन ।

अहिलेसम्म एकजना गैरआवासीय नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान मृत्यु भएका अनिल लिम्बुको शुक्रबार दाहसंस्कार गरिएको थियो । उनको दाहसंस्कारमा परिवारका सदस्य र आफन्त पनि सहभागी हुन सकेनन् । न्युयोर्कमा रहेको ग्रिनउड सिमेट्री नामक निजी कम्पनीलाई दाहसंस्कारको जिम्मा दिइएको थियो । १२ सय अमेरिकी डलर लिएर सो कम्पनीले दाहसंस्कार गरेको हो ।

दुई दशकदेखि अमेरिकामा बस्दै आएको लिम्बुको परिवार उतैको नागरिक बनिसकेका छन् । उनीहरु पाँचथरका हुन् । लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

परिवारका  अन्य सदस्य पनि भाइरसबाट संक्रमित रहेको चर्चा चले पनि पुष्टि भएको छैन । अमेरिकामा अन्य नेपालीहरु धेरै संख्यामा संक्रमित रहेको आशंका गरिएको छ, तर धेरै सार्वजनिक हुन चाहेका छैनन् । अमेरिकामा व्यक्तिगत गोपनियताको कानून कडा भएकाले पनि धेरै केसहरु बाहिर आउन नसकेको राजदूत अर्जुन कार्की बताउँछन् । न्यूयोर्कको ज्याक्सन हाइट क्षेत्रमा व्यवसाय गर्ने भिडियोग्राफर शम्भु मोक्तान र अर्का व्यवसायी जीवन बमलाई संक्रमण पुष्टि भइसकेको छ । दुवै अहिले स्थानीय अस्पतालमा उपचाररत छन् ।

यस्तै भर्जिनिया राज्यको फेरफाक्समा बसोबास गर्दै आएकी ३८ वर्षिया महिला संक्रमण देखिएपछि सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छन् ।

अमेरिकाको गृहमन्त्रालयमा काम गर्ने गुणराज लुईंटेलले फेसबुकमा स्टाटस लेख्दै न्यूयोर्कमा मात्रै अनुमानित २०० जना नेपाली कोरोनाबाट संक्रमित भएर उपचार गराइरहेको उल्लेख गरेका छन् ।  न्यूयोर्क एउटा अस्पतालमा ११ जना, अर्कोमा १२ जना र अर्कोमा ७ जना भर्ना भएको उनको दाबी छ । तर, यसको औपचारिक पुष्टि भने भएको छैन । राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलमा रहेका सरुवा रोगविज्ञ डा। एन्थोनी फाउचीले ‘अहिलेको अवस्थामा मृत्यु हुनेको संख्या एकदेखि दुई लाख हुनसक्ने’ बताएको सीएनएनले जनाएको छ । यो संख्यामा मृत्यु हुन संक्रमणको अवस्था तीव्र हुनुपर्ने उनको भनाइ छ ।  

Must View