नागरिक पोष्ट News


गाइबस्तु, बाँदर र कुकुरहरु भोकभोकै मर्ने खतरा ! कहाँ गए पशुअधिकारकर्मी संघसंस्थाहरु

3.5K

काठमाडौं, 'लकडाउन'को असर पशुपक्षीमा पनि देखा पर्न थालेको छ । लकडाउनका कारण सहर, बजार बन्द छ भने मन्दिर प्रवेशमा पनि रोक लगाइएपछि यहाँ आश्रित पशुपक्षीको जीवन संकटमा पर्न थालेको हो ।

मन्दिरहरुमा फालिने र श्रद्धालुहरुबाट दिइने खानेकुरा खांदै आएका पशुपक्षीहरु यतिबेला भोकै पर्न थालेका छन् ।

यसको सबैभन्दा बढी मारमा बाँदर र कुकुरहरु परेका छन् । उनीहरु बजारमा चहलपहल नभएपछि खानाको खोजीमा भौंतारिरहेका भेटिन थालेका छन् ।

लकडाउनका कारण श्रद्धालुहरु मन्दिर जान बन्द भएपछि  बाँदरहरु खानेकुराको खोजीमा नजिकका घरहरुमा समेत पुग्न थालेका छन् ।

यस्तै सहर, बजारबाट कहीं न कहींबाट खानेकुरा पाउने कुकुरहरुलाई पनि यतिबेला आहारको समस्या परेको छ ।

केही स्थानमा उनीहरुलाई खानेकुरा बाँड्दै आएका मानिसहरु पनि घरबाट निस्कन पाएका छैनन् । यसको असर उनीहरुले पाउने खानेकुरामा देखिएको छ ।

सहरमा छाडिएका गाईवस्तुलाई पनि यतिखेर आहाराको अभाव देखिएको छ ।

लकडाउनको समयावधि बढ्दै गएपछि मानवआश्रित जीवजन्तुहरु भोकै मर्नसक्ने खतरा बढेको छ ।

अरु बेला पशु अधिकारको कुरा गर्ने संघसंस्थाहरु यतिबेला भने मौन देखिन्छन् । उनीहरुले यसप्रति खासै चासो दिएको देखिँदैन ।

तर, केही व्यक्तिहरु भने पशुपक्षीले अहिले भोग्नु परेको समस्याप्रति संवेदनशील देखिएका छन् र सहयोगमा जुटेका पनि छन् ।

लकडाउनका कारण भोकै परेका जीवजन्तुको आहारको व्यवस्था गर्न देखाइएको यस्तो कदम स्वागतयोग्य छ ।

लकडाउनको कारण आफ्नो आहारा गुमाउँदै गएका जीवजन्तुलाई कसरी आहारको व्यवस्था गर्ने हो, त्यसतर्फ सरोकारवालाले बेलैमा ध्यान पुर्‍याउन आवश्यक देखिन्छ ।

News Source : नवीन शर्मा (इमेज)

Must View