नागरिक पोष्ट News


कोरोना भाइरस आक्रमण शुरुमा सामान्य हुन्छ तर सङ्क्रमण फैलदै गएपछि शरीरमा धेरै नै जलन

2.3K

कोरोना मानिसको शरीरमा कसरी छिर्छ  कोरोनाले मानिसको शरीरमा कसरी आक्रमण गर्छ

यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोनाभाइरस  शरीरमा पस्न सक्छ। दूषित वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि कोरोनाभाइरस शरीरमा छिर्न सक्छ।

त्यसले पहिला तपाईँको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई असर गर्न थाल्छ। बिस्तारै ती अङ्ग कोरोनाभाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन्। तिनले तपाईँका थप कोषलाई आक्रमण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्छन्।

प्रारम्भिक अवस्थामा तपाईँ बिरामी पर्नुहुन्न। केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन। भाइरस स्थापित हुने सङ्क्रमणकालीन अवधि सरदर पाँच दिनको भएको पाइएको छ।

सामान्य रोग

कोभिड-१९ भन्ने रोग १० मध्ये आठ जनाका लागि सामान्य रोग हो। उनीहरूलाई रुघा लाग्ने र ज्वरो आउने गर्छ। शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छन्। तर ती लक्षण देखिन्छन् नै भन्ने छैन।

ज्वरो आउनु र असहज महसुस गर्नु तपाईँको प्रतिरक्षा प्रणाली सक्रिय भएर त्यसले सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको परिणाम हो। यस्तो बेला भाइरस कुनै बाह्य तत्त्व हो भन्ने बुझेर त्यसविरुद्ध लड्न उक्त प्रणालीले साईटकाईन नामक प्रोटीन परिचालन गर्छ।

यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ। तर सँगसँगै शरीरमा पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने हुन्छ। कोरोनाभाइरस सङ्क्रमण भएको बेला सुक्खा खोकी लाग्छ। त्यति बेलासम्म भाइरसहरू कोषमा बिस्तारै सक्रिय हुन थाल्छन्। केही मानिसलाई खकार पनि आउन थाल्छ।

एक हप्तासम्म रहन सक्ने यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बिरामीहरूलाई निको हुन्छ। तर केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्छ। यदि रोग अझै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियता त्यसको कारण हुन सक्छ। प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले शरीरमा जलन हुन सक्छ। तर त्यसलाई सावधानीपूर्वक सन्तुलन मिलाउनुपर्ने हुन्छ। धेरै जलन भइरहे शरीरमा निकै धेरै हानि पनि हुन सक्छ।

फोक्सोमा हुने जलन नै निमोनिया हो। मुखबाट सासनली हुँदै हामीले फेर्ने सास अर्थात् वायु फोक्सोमा भएका ससाना कोठामा पुग्छ।

त्यही कोठाबाट अक्सिजन रगतसँग मिसिन्छ र कार्बनडाईअक्साईड बाहिर निस्किन्छ। तर निमोनिया हुँदा ती साना कोठा पानीले भरिन थाल्छन् र त्यसै कारण सास फेर्न कठिन हुन्छ। यस्तो बेला कसैकसैलाई त सास फेर्न सहज बनाउने भेन्टिलेटरको सहायता चाहिन्छ।

फोक्सोमा धेरै जलन भएर बिरामीले सास फेर्न नसक्ने अवस्था उत्पन्न भएपछि बाँच्नको लागि पर्याप्त अक्सिजन प्राप्त हुँदैन। त्यस्तो बेला मिर्गौलाले रगत सफा गर्न पनि सक्दैन आन्द्रामा समेत क्षति पुग्न थाल्छ।

यदि प्रतिरक्षा प्रणालीले भाइरसलाई जित्न सकेन भने त्यो शरीरको सबै भागमा पुग्न थाल्छ र त्यसले अझै धेरै क्षति पुर्‍याउन थाल्छ।

यस्तो बेलामा गरिने उपचार अलि बढी नै कडा हुने गर्छ। यस्तो बेला एम्को भनिने बाहिरी यन्त्रको सहायताले रगतमा अक्सिजन दिने प्रणाली प्रयोग गरिन्छ।

त्यो कृत्रिम फोक्सोजस्तै हो जसले शरीरको रगतलाई बाक्लो नलीको सहायताले बाहिर निकाल्छ त्यसमा अक्सिजन भर्छ र फेरि भित्र पठाउँछ।

तर भाइरसको प्रभाव बढ्दै गएमा क्षति खतरनाक तहमा पुग्छ। त्यति बेला अङ्गहरूले शरीरलाई जीवित राख्न सक्दैनन्।

Must View