कोरोनाबाट विश्वभर २५ हजारको मृत्यु, भारतमा मृत्यु हुनेको संख्या २०,संक्रमितको संख्या ७ सय ९९
विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) का कारण १९९ राष्ट्र प्रभावित भएका छन् । विश्वभर २४ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ । ५ लाख ४९ हजार ४ सय ३० जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।
संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख २८ हजार ७ सय जना संक्रमित उपचारपछि निको भएका छन् ।
यता, चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा भएको छ ।
त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार २ सय १५ जना पुगेको छ । इरानमा २ हजार ३ सय ७८ व्यक्तिको मृत्यु भइसकेको छ भने ३२ हजार ३ सय ३२ जना संक्रमित छन् ।
स्पेनमा ४ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६४ हजार ५९ पुगेको छ । जर्मनीमा २ सय ८१ जनाको मृत्यु भएको छ भने ४७ हजार २ सय ७८ जना संक्रमित छन् ।
अमेरिकामा १३ सय ४ जनाको मृत्यु भएको छ भने ८५ हजार ७ सय ४९ जना संक्रमित छन् । फ्रान्समा १ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ । २९ हजार १ सय ५५ संक्रमित छन् ।
दक्षिण कोरियामा कोरोनाका कारण १ सय ३९ जनाको मृत्यु भएको छ भने ९ हजार ३ सय ३२ संक्रमित छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० र संक्रमितको संख्या ७ सय ९९ पुगेको छ ।
यस्तै पाकिस्तानमा ९ जनाको मृत्यु र १ हजार २ सय ५२ जना संक्रमित भएका छन् ।