कोरोना शङ्का भएकाको समाचार प्रकाशन प्रसारण गर्दा परिचय गोप्य राख्नुपर्छ - प्रेस काउन्सिल नेपाल
प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ ।
निर्देशिकाअनुसार कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ, सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्नसक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन । सङ्क्रमित व्यक्तिको सचेत स्वीकृति र सम्बन्धित आधिकारिक स्रोतको अनुमति विना परिचय सार्वजनिकसमेत गर्नु हुँदैन । यसैगरी पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्रीमात्र सम्प्रेषण गर्नुपर्छ । पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने कोरोना सङ्क्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारी मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ । साथै सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार, जानकारी वा लेख र प्रतिक्रियालाई शेयर, लाइक वा रिट्विट गरी पुनः प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह आधिकारिकता समेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लालाई स्थान दिनु हुँदैन । पाठक, श्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्ने निर्देशिकामा जनाइएको छ । त्यस्तै पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमित व्यक्तिका नातेदार वा नजीकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्ने गरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नु हुँदैन । सङ्क्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिरहरूसमेत सम्प्रेषण गर्नु हुँदैन । पत्रकार तथा सञ्चारमाध्यमले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्रीमा कुनै पनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याई त्यसबारे सोही सञ्चारमाध्यमबाट सार्वजनिक जानकारी गराउनुपर्दछ । साथै प्रेस काउन्सिलले गल्ती सच्याउन दिएको निर्देशनको तत्काल पालना गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ । निर्देशकाको पालना गरे÷नगरेको प्रेस काउन्सिलले अनुगमन गरी प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता, २०७३ (संशोधित–२०७६) अनुसार आवश्यक कारवाही गर्न सक्नेछ । नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिलले सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई लागू हुनेगरी महामारीलगायत जनस्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण निर्देशिका २०७६, यही चैत १० गते जारी गरेको हो ।
प्रेस काउन्सिलले हालै मात्र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा आचारसंहिता र निर्देशिका विपरीत कोरोना भाइरस सङ्क्रमणसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गर्ने दर्ता नै नभएका करीब दुई दर्जन वेबसाइटहरु बन्द गरिसकेको छ । यसबाहेक विभिन्न ३२ सञ्चारमाध्यमलाई आचारसंहिता विपरीतका समाचार सामग्री हटाउन लगाई २४ घण्टे स्पष्टीकरण सोधिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो ।