नागरिक पोष्ट News


लकडाउन : एक सातालाई बन्द, घरबाट निस्किन नपाइने, सरकारी कर्मचारीलाइ पनि बिदा (८ निर्णय सहित)

2.8K

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो । यो सँगै भोलीदेखि कुनैपनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्।

खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।

समितिले आन्तरिक उडानमा समेत रोक लगाएको छ। सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ, भने अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने निर्णय गरेको हो। अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक सवारी वा निजी सवारी साधनलाई पनि रोक लगाइएको छ।

औषधि उपचार, खाद्य बस्तु खरिद जस्ता अत्यावस्यक काममा बाहेक कुनै व्यक्ति घरबाट बाहिर ननिस्कन भनिएको छ। समितिले औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, ईन्धन उत्पाद गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिन व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरु:

औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने

अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन फोहोरमैला व्यवस्थापन जस्ता अतिआवश्यक सेवा बोहक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बनिधत कार्यालय प्रमुखले बिदा दिने

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन, उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने

व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाइ मूल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने

 

Must View