कोरोना भाइरस के हो ? भाइरसकाे संक्रमणबाट कसरी जोगिने, जनचेतनाका लागि सक्दो शेयर गरौ
संक्रमित एकजना व्यक्तिबाट पनि सयौं मानिसहरूमा भाइरस फैलिने खतरा भएकाले हरेकले व्यक्तिगतरूपमा सचेतना अपनाउन जरुरी छ। तर, त्रसित हुन भने जरुरी छैन। कोरोना भाइरस प्रकृतिमा पाइने भाइरसमध्ये एक हो। कुन न्युक्लिक एसिडबाट बनेको छ भन्ने आधारमा भाइरसलाई दुई भागमा बाँडिन्छ- डिएनए र आरएनए। कोरोना भाइरस आरएनए भाइरस हो अर्थात् यो राइबोन्युक्लिक एसिडबाट बनेको हुन्छ। इलेक्ट्रोनिक माइक्रोस्कोपमा हेर्दा ताजजस्तो (क्राउन) देखिने भएकाले यसलाई कोरोना भाइरस नाम दिइएको हो। यो भाइरसले मेरुदण्ड भएका जीवलाई मात्र संक्रमण गर्छ। यो मानिस र अन्य जनावरका थुप्रै रोगको कारक हो। यसले मानिस र जनावरहरूको श्वास नली, आन्द्रा र स्नायु प्रणालीमा असर पुर्याउन सक्छ
यी भाइरस ताप अगाडि संवेदनशील हुन्छन्। ५६ डिग्री सेल्सियसको तापक्रममा ३० मिनेटसम्म तताउँदा यी निस्क्रिय हुन्छन्। त्यस्तै ७५ प्रतिशत इथानोल (जुन स्यानिटाइजरमा हुन्छ) ले पनि निस्क्रिय बनाउन सकिन्छ।
यो भाइरस कसरी सर्छ ?
कसैको शरीरमा नोबल काेरोना भाइरस छ भने अरूलाई सर्न सक्छ। यी भाइरस थुक, सिंगान, र्यालका थोपामा हुन्छन्। शरीरमा भाइरस भएका व्यक्तिले खोक्दा, बोल्दा, हाँच्छ्यु गर्दा थुकका छिटासँगै भाइरस बाहिर आउँछन्। ती छिटाहरूमा भएका भाइरस जुनसुकै वस्तुको सतहमा पनि बस्न सक्छन्। ती त्यहाँ पुग्नासाथ निस्क्रिय हुँदैनन्। यदि अरू मानिसले ती छिटा परेका ठाउँमा छोएर त्यो हात आफ्नो आँखा, नाक वा मुखमा लगे भने भाइरस शरीरमा प्रवेश गर्छन्। त्यसैले कुनै पनि मानिससँग भेट्दा, कुराकानी गर्दा कम्तीमा एक मिटर (तीन फिट) दूरी कायम गर्न जरुरी छ। बारम्बार साबुनपानीले हात धुँदा झुक्केर भाइरस भएको सतह छोइएको भए पनि संक्रमणको जोखिम रहँदैन। साबुनपानी उपलब्ध नभएको ठाउँमा ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न सकिन्छ। तर, रक्सी होइन। रक्सीले भाइरसलाई निस्क्रिय गर्दैन।
कोभिड-१९ का लक्षण कस्ता हुन्छन् ?
उच्च ज्वरो, कमजोरी र सुख्खा खोकी यसका मुख्य लक्षण हुन्। नाक अवरुद्ध हुने, रुघा लाग्ने जस्ता लक्षण कसै-कसैमा मात्र देखिन्छ। करीब आधाजसो संक्रमितमा एक हप्तापछि श्वासप्रश्वासमा कठिनाइ भएको र कसैलाई जटिल श्वासप्रश्वास समस्या भएको पाइएको छ। केही मानिसहरू संक्रमित हुँदा पनि लक्षण नदेखिने, अप्ठ्यारो महसुस नहुने भएको पनि पाइएको छ। तथापि ८० प्रतिशत संक्रमित विशेष उपचारबिना नै निको भएका छन्। कोभिड-१९ का ६ जना रोगीमध्ये एकजना गम्भीर बिरामी हुने गरेका छन्। वृद्धावस्थाका, उच्च रक्तचापका, मुटु, मधुमेह जस्ता जटिल रोगका रोगीमा यसको असर बढी पर्ने गरेको छ।
मास्क लगाउने कसरी ?
१.कपडाले बनाइएका साधारण खालका मास्क प्रभावकारी हुँदैनन्। त्यसैले सर्जिकल मास्क वा बजारमा पाइने एन–९५ मास्क मात्र प्रयोग गर्नुहोस्।
२. मास्क लगाउनुभन्दा पहिले साबुनपानीले हात धुनुहोस्।
३. मास्क लिएर च्यातिए वा प्वाल परेको छ कि हेर्नुहोस्।
४. कडावाला भाग (धातु भएको) नाकपट्टि पार्नुहोस्।
५. सर्जिकल मास्क लगाउँदा नीलो पट्टिको भाग बाहिर पार्नुहोस्।
६. शुरूमा नाक, मुख ढाकिने गरी मास्क लगाउनुहोस्। र, कडा भाग थिचेर नाकको आकारसँग मिलाई टम्म बन्द गर्नुहोस्।
७. मास्कको तल्लो भागले चिउँडोसम्म ढाकिने गरी तल तान्नुहोस्।
८. प्रयोग गरिसकेपछि फुकाल्ने बेला कानको पछाडिबाट समाएर निकाल्नुहोस्। नाक, मुख ढाकिएको भाग नछुनुहोस्।
९. डस्टबिनमा तुरुन्तै फाल्नुहोस्।
१०. तुरुन्तै साबुन पानीले हात धुनुहोस्।