कोरोना अपडेट : विश्वभर ११ हजार ४१७ जनाको मृत्यु, बच्चालाई जन्म दिएलगत्तै आमाको मृत्यु
विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ ।
कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा चार हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ३७ हजार ८६० जना सङक्रमित रहेको इटालीमा पाँच हजार १२९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ४३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४६६ जना सङक्रमित रहेका छन् । ६ हजार ७४५ जना उपचारपछि घर फर्किएका बताइएको छ ।
स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८९० जना सङक्रमित रहेका छन् । शनिबार प्राप्त समाचार अनुसार एक हजार ५८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना सङक्रमित रहेका छन् । उपचारपछि १८० जना घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ३५२ जना सङक्रमित रहेका छन् भने १४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४५० जनाको मृत्यु भएको छ । हाल १० हजार ५७५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १०२ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ८५ जनामा अझै पनि सङ्क्रमण छ ।
कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १७७ जना, नेदरल्याण्ड्समा १०६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म कम्तीमा २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ ।
दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना सङ्क्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्, र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् ।
बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आमाको मृत्युपोल्यान्डमा बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आामाको मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी २७ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनी विश्वमै कोरोना सङ्क्रमण भएर कम उमेरमा ज्यान गुमाउने पहिलो महिला भएकी छिन् । ती महिलालाई आफ्नै आमाबाट कोरोना भाइरस सङ्क्रमण भएको मानिएको छ ।