दक्षिणपूर्वी एसियामा कोरोना फैलिनसक्ने डब्लूएचओको चेतावनी, कस्तो छ हालको अबस्था
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस कोभिड–१९ लाई नियन्त्रणका लागि केही एसियाली मुलुकले आक्रामक योजना बनाउनुपर्नेमा जोड दिएको छ । उपयुक्त योजना नल्याउँदा कोरोना संक्रमणलाई रोक्न निकै कठिन हुने उसले बताएको छ ।
दक्षिण एसियामा कोरोनाको संक्रमण ५०० जना भन्दा कममा देखिएको छ । तर यहाँको स्वास्थ्य प्रणालीका कारण जुनसुकै समयमा भाइरसको महामारी फैलिने जोखिम रहेको बताइएको छ ।
डब्ल्यूएचओले दक्षिणपूर्वी एसियालाई लक्षित गरेर चेतावनी जारी गरेको हो, जसमा इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड, बंगलादेश र उत्तर कोरियासहितका मुलुक पर्छन् ।
डब्ल्यूएचओको दक्षिण पूर्वी एसियाका क्षेत्रकी निर्देशक पुनम खेत्रपाल सिंहले मानिसहरुलाई भाइरसबाट बचाउने प्रयास बढाउनुपर्ने बताएकी छिन् ।
म्यानमार र लाओसमा भने कुनै संक्रमण फेला परेको छैन । म्यानमार सरकारका प्रवक्ताले आफ्नो खानपान र जीवनशैलीले भाइरसबाट आफूहरुलाई बचाएको दाबी गरेका छन् । विशेषज्ञहरुले भने यसमा त्यति विश्वसनीयता नरहेको भन्दै आशंका व्यक्त गर्छन् ।
चीनमा संक्रमितको संख्या अझै उच्च छ तर चीनमा नयाँ संक्रमितको संख्यामा भने धेरै कमी आएको छ । दक्षिण कोरियाले पनि आफ्नो मुलुकमा भाइरसलाई नियन्त्रणमा राख्दै आफूलाई सबैभन्दा प्रभावित मुलुकको सूचीमा छैठौं स्थानमा झारेको छ । अहिले दक्षिण कोरियाले धेरै मानिसहरुमा यो भाइरसको परीक्षण बढाएको छ ।
पाकिस्तानमा समग्र संक्रमितको संख्या २५४ पुगेको छ । यससँगै दक्षिण एसियामा प्रभावित हुनेको संख्या ४९० नाघेको छ ।
इन्डोनेसियामा पनि यो भाइरसको संक्रमितको संख्या २२७ पुगेको छ । त्यहाँ कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ । मलेसियानमा पनि उल्लेख्य मात्रामा यसको प्रभाव बढिरहेको छ ।