नागरिक पोष्ट News


यसरी फैलियो पूरै इटालीमा कोरोना भाइरस, अबस्था भयावह बन्दै

2.1K

कोरोना भाइरस इटालीमा महामारीकै रुपमा फैलिएको छ ।  इटलीमा अहिलेसम्म झण्डै २८ हजार संक्रमित भेटिएका छन् भने २ हजार १५८ जनाको ज्यान गइसकेको छ । इटालीमा एक साताभित्र मर्नेको संख्या पनि ३ गुणा नाघिसकेको छ । संक्रमितको संख्या पनि एक साताअघि १० हजार थियो तर यो सातामा मात्र नयाँ संक्रमितको संख्या १७ हजारले बढिसकेको छ । इटलीमा जनवरी २९ मा पहिलोपटक देखिएको थियो । त्यसबेला दुई चिनियाँ पर्यटकलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । इटालीका नियामकले उनीहरुलाई तत्कालै क्वारेन्टाइनमा राख्यो । तर कोरोनाको थप संक्रमण देखिन थाल्यो । सरकारले केही प्रभावित क्षेत्रलाई रेड जोन घोषणा गर्दै मानिसहरुलाई सचेत गरायो । तर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या बढ्दै गयो ।

नयाँ संक्रमितको संख्या बढेसँगै एक चौथाइ मुलुकलाई क्वारेन्टाइनमा राख्ने निर्णय गर्‍यो । यो निर्णय गर्ने तयारी भइरहेको सूचना चुहिएपछि रेड जोनमा रहेका धेरै मानिसहरु भाइरस नफैलिएको आ–आफ्नो घर फर्किए । त्यसपछि ह्वात्तै इटालीमा बिरामीको संख्या बढ्यो । इटली सरकारले पूरै मुलुक लकडाउन गर्ने निर्णय गरेको छ । तर यो निर्णय गर्नु अगाडि नै महामारी मुलुकभर फैलिसकेको थियो । त्यसैले चीनपछि सबैभन्दा बढी प्रभावित मुलुक बन्यो ।

इटलीमा पूरै स्वास्थ्य आपतकालको अवस्थामा छ । अस्पतालमा बिरामीको संख्या बढेको छ । उनीहरुलाई राख्ने अस्पतालको मात्र होइन, उपचार गर्ने डाक्टर र नर्सको पनि अभाव देखिएको छ । चाहेर पनि सबै बिरामीलाई डक्टरले ध्यान दिन सकेका छैनन् । पूरै मुलुक लकडाउनमा राख्दा पनि नयाँ संक्रमितको संख्या भने घटेको छैन र दिनानुदिन मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ ।

Must View