नागरिक पोष्ट News


नेपालमा कोरोना नै छिर्दैन कारण यस्तो छ, भयभित र आतङ्कित नबन्न अपील !

10.4K

काठमाडौ । सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरी आवश्यक तयारी गरेको भन्दै संयमित हुन सबैलाई अपिल गरेको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा कोरोना सङ्क्रमणको जोखिमबाट देशलाई बचाउनका लागि सरकारबाट भइरहेका प्रयासबारे जानकारी गराउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले भयभित र आतङ्कित नबन्न सबैलाई आग्रह गरेका हुन् ।

अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट एक जना पनि सङ्क्रमित भएको नपाइएको जानकारी गराउँदै उनले सङ्क्रमणलाई प्रवेश नै नदिने ढङ्गले सरकारले तयारी गरिरहेको स्पष्टपारेका छन् । मन्त्री ढकालका अनुसार अहिलेसम्म नेपालमा चार सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् । सन् २०२० जनवरी ९ तारिखमा नेपाल आएका विद्यार्थीले १३ तारिखमा परीक्षण गराउँदा पोजेटिभ देखिए पनि १० दिन हस्पिटल बसाइपछि फेरि परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।

उनले कोरोना सङ्क्रमणलाई नेपाल प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइएको र एक अर्कामा हात मिलाउने, गला मिलाउने भन्दा पनि निश्चित दुरीबाट नमस्कार गर्ने, साबुन पानीले हात धुनेलगायतका काम गर्न सर्वसाधरणलाई अपिल गरेको बताएका छन् । अहिले काठमाण्डौमा एक सय ७० बेडको आईसीयू सञ्चालनमा छन् । उपत्यकाभित्र एक सय २० र बाहिर एक सय १५ वटा गरेर दुई सय ३५ वटा आईसीयूको व्यवस्था तत्काल गर्ने काम भइरहेको मन्त्री ढकालले बताएका छन् ।

पछिल्लो तथ्यांकअनुसार चीनमा २०१९ को डिसेम्बर ३१ मा देखिएको कोरोना भाइरस अहिलेसम्म १ सय ५२ वटा मुलुकमा देखा परेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको दृष्टिले ४६ वटा मुलुक प्रभावित छन् । अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ५ हजार ८ सय ३९ जनाको मृत्यु भएको छ । १ लाख ५६ हजार व्यक्तिमा संक्रमण भएको, ७५ हजार ९ सय ३७ जना उपचारपछि घर फर्किएको तथा ७४ हजार ९ सय ९० जना अहिले पनि संक्रमित अवस्थामा नै रहेका छन् ।

Must View