सेयर बजार ७३ अंकले बढ्यो, १४ कम्पनीको सेयर मूल्यमा यसरी सर्किट ब्रेक लाग्यो
सेयर बजारमा ७३.७८ अंकले बढेर करेक्सन भएको छ ।
बुधबार नेप्से परिसूचक १४२३.०९ विन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९४ प्रतिशतले बढेर ३०४.६९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १४.३३ अंकले बढेको हो ।
बजारमा कूल २ अर्ब २२ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १८० कम्पनीको कूल ५६ लाख २६ हजार ८१२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको २३ करोड ६६ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बुधबार सबैभन्दा बढी ५१०.९७ अंकले बढेर ८१३४.६३ अंकमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको सूचक ४४५.६५ अंकले बढेर ६३२४.१४ अंकमा पुगेको छ । माइक्रोफाइनान्स समूह ११७, उत्पादनमूलक १०९, होटल ९९, बैंकिङ् ६८ अंकले उकालो लागेको छ । म्युचअल फण्ड समूह बाहेक बाँकी समूह उकालो लागेका हुन् । म्युचअल फण्ड समूह सामान्य ०.०८ अंकले ओरालो लागेको छ ।
उच्च अंकले बढेको बजारमा १४ कम्पनीको सेयर मूल्य ९.५ प्रतिशतले बढेर पोजेटिभ सर्किट ब्रेक लागेको छ । जसमध्ये ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन, लक्ष्मी लघुवित्त वित्तीय संस्था, एभरेष्ट इन्स्योरेन्स कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो । बाँकी १० कम्पनीकाे ९.५ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेकाे छ ।