नागरिक पोष्ट News


धेरै मात्रामा पानी पिउनु घातक

1.9K

बाँच्नका लागि पानी पिउनुपर्छ । शरीरलाई आवश्यक अन्य तत्वजस्तै पानीसमेत कति पिउने भन्‍ने जान्‍नु जरुरी छ । आवश्यकता भन्दा बढी मात्रामा पानी पिउनु स्वास्थ्य समस्यालाई निम्तो दिनुजस्तै हो । पानी पिउनु स्वास्थ्यका राम्रो हो भन्दै अत्याधिक पिउने बानी छ भने आजैदेखि छोड्नुहोस् ।

गाह्रो किसिमको शारीरिक अभ्यास र धेरै अल्कोहल पिएपछि प्रशस्त पानी पिउनु निकै खतरनाक हुन्छ । शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्राले ‘हाइपोनेट्रेमिया’ को अवस्थामा पुर्‍याउँछ ।

‘हाइपोनेट्रेमिया’ भएमा हाम्रो मृगौलाले अनावश्यक पानी प्रशोधन गर्न सक्दैन । अनावश्यक पानी खपतले रगतमा नुनको मात्रा निकै कम हुन जान्छ र मृगौलाले संवेदनशील रुपमा कार्य गर्न सक्दैन । यस्तो अवस्थामा कतिपय व्यक्तिको मृत्युसमेत हुन्छ । ‘हाइपोनेट्रेमिया’ भएको खण्डमा व्यक्तिलाई तत्काल उपचारको आवश्यकता पर्दछ । उपचारबाट रगतमा नुनको मात्रा नर्मल बनाउन सकिन्छ ।

केही वर्षअघि अमेरिकाको क्यालिफोर्नियामा पानी पिउने प्रतियोगितामा भाग लिने एक महिलाको मृत्यु भएको थियो । म्याराथन धावक, एथ्लेटिक्स र अन्य खेलाडीहरु पनि तुरुन्तै अत्यधिक पानी पिउने कारणले बिरामी पर्ने गरेका छन् भने कतिपयको मृत्यु भएको छ । याद राख्नुहोस्, पानी आवश्यकभन्दा बढी पिउनु खतरनाक हुन्छ ।

कति पानी पिउनु ठीक हुन्छ ?

कति पानी पिउनु उचित हो भन्‍ने प्रश्‍नको रेडिमेड उत्तर पाउन कठिन छ । तर, तपाईँको तिर्खा मेटिने जति पानी पिउनुहोस् अनि पिउन छोड्नुहोस् । हरेक व्यक्तिको शरीरले पानी आवश्यक भएको थाहा पाउने बित्तिकै तिर्खा लागेको अनुभव हुन्छ । अनिमात्रै पानी पिएर तिर्खा मेट्नुहोस् ।

शरीरलाई आवश्यक पानीको मात्रा व्यक्तिपिच्छे फरक हुन्छ । तर, स्वास्थ्यका लागि अधिक मात्रामा पानी पिउनु कदापि राम्रो होइन । अनावश्यक रुपमा धेरै पानी पिउने बानी हटाउनु नै उत्तम हो । अनावश्यक पानी पिएर बित्थामा जोखिम किन उठाउनु?

Must View