एचवानबी : अमेरिकाको कामदार भिसा खुल्यो, एचवानबीका लागि योग्यता कति र कसरी आवेदन गर्ने
अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो । जुन भिसा चवान बी भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको छ ।अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ ।
नेपाली समय अनुसार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले जनाएको छ । आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदक र उनीहरुका प्रतिनिधिहरुले आवेदक र लाभग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् ।
हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।
कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो ।
कामदार भिसा एचवानबीका लागि योग्यताएचवानबी भिसाका लागि यसपटक अनलाइनबाट दर्ता प्रकृया सुरु गरिएको छ । तर यसको अर्थ अमेरिका आउन चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन । यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ ।
एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।
कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।
कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।
त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।
लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।
वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।
वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।
वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।