जग्गाको मूल्य बढेको बढ्यै, तर पनि ८ /९ लाखमै घडेरी उपत्यकामा पाइन्छ ! पाइने ठाउँहरु हेर्नुहोस
पछिल्लो समय घरजग्गा कारोबारमा कमि आए पनि मूल्य भने निरन्तर बढिरहेको छ । मूल्य बढेका कारण सितिमिति निम्न मध्यम वर्गले जग्गा किन्ने आँट नै गर्न छाडिसकेका छन् ।
सरकारले ल्याएको कित्ताकाट र बाटोको नियमले काठमाडौं उपत्यकामा जग्गा महँगिएको हो । तर अहिले पनि यस्ता ठाउँ छन् जहाँ ९–१० लाख रुपैयाँदेखिका जग्गा पाइन्छन् । यस्तो जग्गा लिन दलालको भर नपरी आफैं हिंड्नु पर्ने हुन्छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले बाटो र खुल्ला क्षेत्रको मापदण्ड परिवर्तन गरेसँगै त्यसको प्रत्यक्ष भार पनि जग्गाको मूल्यमै परेको थियो । शुरुवातमा ८, १० र १२ फिटे बाटो छुट्याउँदै घडेरी बिक्री गरिएपनि अहिले भने न्युनतम २० फिटे बाटो नक्सामा देखाउनु पर्ने व्यवस्था छ । जसका कारण जग्गाको मूल्य ह्वात्तै बढेको घरजग्गा व्यवसायीहरुको दाबी छ ।
आनाको १० लाखमा जग्गा पाउने ठाउँ काठमाडौमा अहिले सुन्दरीजल, साँखु, झोर महाकाल, गोलढुंगा, काभ्रेस्थली, रामकोट, थानकोट, मातातीर्थ, मच्छेगाउँ र चाल्नाखेलमा प्रतिआना १० लाख रुपैयाँ सम्मका जग्गा पाइन्छन् । मुख्य राजमार्गबाट २ किलोमिटरभित्र २० फिटे बाटोमा यी ठाउँमा प्रति आना १० लाख रुपैयाँ सम्मका जग्गा किन्न सकिन्छ ।
यीमध्ये सुन्दरीजल, साँखु र गोलढुंगा क्षेत्रमा ९ लाख रुपैयाँ प्रतिआना सम्मका घडेरी पाइने जग्गा व्यावसायी राम कुँवर आलेले बताए ।
त्यसैगरी ललितपुरमा खोकना, बुङमति, चापागाउँ, गोदावरी, हरिसिद्धी र लामाबगरमा प्रति आना १० लाख रुपैयाँसम्मका घडेरी किन्न सकिने व्यवसायीले बताएका छन् । २० फिटे बाटो कायम भएका यी ठाउँमा पनि दक्षिण दिशातर्फ परसम्म जाँदा ८–९ लाख रुपैयाँ प्रति आनासम्म घडेरी पाइने उनीहरुको दाबी छ ।
त्यसैगरी भक्तपुरको दुवाकोट, दधिकोट, ताथली, सुडाल, चाँगुनारायण, सिपाडोल, जगाती र सानोठिमी क्षेत्रमा पनि प्रति आना १० लाख रुपैयाँ सम्ममा जग्गा पाउने स्थानीय ब्यवसायी कृष्णकुमार बमले जानकारी दिए ।
अहिले उपत्यकाको काठ क्षेत्रमा जग्गाको औषत मूल्य १० देखि १२ लाख रुपैयाँसम्म पुगिसकेको छ । तर यिनै ठाउँमा ३/४ वर्ष अघिसम्म भने प्रति आना ४ देखि ५ लाख रुपैयाँसम्मा पाइन्थ्यो । यी ठाउँमा लगातार कारोबार बढ्न थालेपछि जग्गाको मूल्य पनि दिन प्रतिदिन बढेको हो ।
मालपोत कार्यालयको तथ्यांकले पनि यी ठाउँमा एउटै जग्गा धेरै पटक किनबेच भएको देखाउँछ । जसले गर्दा यी ठाउँमा जग्गाको मूल्य ३ वर्षमै तेब्बर सम्मले बढेको हो ।
आनाको १५ लाखमा जग्गा पाउने ठाउँ माथि उल्लेख गरिएका ठाउँमा पनि मुख्य राजमार्गमा भने प्रति आना १५ लाख रुपैयाँ घटी जग्गा पाउन छाडिसकेको छ । यी ठाउँ जत्तिकै टाढा भए पनि बुढानिलकण्ठ क्षेत्रमा २० फिटे बाटोमा प्रतिआना १५ लाख रुपैयाँ घटि जग्गा पाउन सकिँदैन ।
त्यसैगरी मुलपानी, कपन, धापासी, मनमैजु, सितापाइला, सतुङ्गल, कीर्तिपुर, चोभार, भैसेपाटी, ठैब, टिकाथली, बालकोट, लोकन्थली, सल्लाघारी र ठिमीमा प्रतिआना १५ लाख रुपैयाँ घटि जग्गा पाउन नसकिने व्यावसायीहरुले बताएका छन् । यी ठाउँमा ३–४ वर्ष अघिसम्म भने ८ देखि १० लाख रुपैयाँमै जग्गा किन्न सकिन्थ्यो । काठ क्षेत्रको तुलनमा भने यी ठाउँमा जग्गाको मूल्यवृद्धि कम देखिन्छ ।
आनाको २०–२५ लाखमा जग्गा पाउने ठाउँ चक्रपथको वरिपरी अहिले पनि प्रति आना २० देखि २५ लाख रुपैयाँसम्ममा जग्गा किन्न सकिन्छ । बाटोको उपलब्धता र राजमार्गको अवस्था हेरी चक्रपथबाट १र२ किलोमिटरमा २० देखि २५ लाख रुपैयाँसम्मका घडेरी किन्न सकिन्छ । तर मुख्य राजमार्गसँग जोडिएका जग्गाको भने काठ क्षेत्रमै पनि २०–२५ लाख रुपैयाँ मूल्य पर्न थालिसकेको स्थानीय जग्गा ब्यवसायी समर्पण श्रेष्ठले बताए ।
काठमाडौ प्रवेश गर्ने समुहको पहिलो रोजाइ काँठ क्षेत्र हुने भएकाले काठ क्षेत्रमा संख्यात्मक रुपमा धेरै घरजग्गा किनबेच हुन्छन् । त्यसकै कारण यहाँको मूल्य ३ वर्षमै तीन गुणा सम्मले बढिसकेको छ । तर चक्रपथ आसपासमा भने कारोबार नै कम हुने हुँदा तुलनात्मक रुपमा जग्गाको मूल्य पनि कम वृद्धि भएको हो ।
चक्रपथ आसपासमा एक चरणको मूल्य बढिसकेपछि धेरै किनबेच नहुँदा जग्गाको मूल्य वृद्धि चक्र पनि केहि सुस्त भएको व्यवसायी बताउँछन् । यी ठाउँमा वर्षमा थोरै मात्र घरजग्गा किनबेच हुन्छन् ।
चक्रपथ भित्रका महँगा घरजग्गा किनबेच गराउने डिल्लीबजार मालपोत कार्यालयले मासिक २ देखि ३ सयसम्म मात्रै घरजग्गा किनबेच गराउँछ। यसको तुलनामा काठ क्षेत्रका मालपोत कार्यालयले मासिक एक हजारको हाराहारीमा घरजग्गा किनबेच गराउने गरेका छन् । बिजमाण्डुबाट