२००% हकप्रदको अनुमति माग्दा ५०% पनि पाएन अपि पावरले
काठमाडौं । अपि पावर कम्पनीले ४७ दशमलव ६२ प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । २०० प्रतिशत हकप्रद जारी गर्न निवेदन दिएको अपिले ४७ दशमलव ६२ प्रतिशतको लागि मात्र अनुमति पाएको हो । अपिले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १९ करोड ७ लाखको आधारमा उक्त अनुपातको हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति पाएको हो ।
शतप्रतिशत हकप्रद शेयर जारी गर्ने योजनामा रहेको कम्पनीले अव रू. ५६ करोड ७० लाख बराबरको मात्र हकप्रद जारी गर्नेछ । ४७ दशमलव ६२ प्रतिशत हकप्रद जारी गर्न कम्पनीले फागुन १२ गते बोर्डको अनुमति पाएको हो । अपिलाई हकप्रद निष्कासनका लागि स्वीकृति दिर्दै बोर्डले हकप्रदको आव्हान सम्बन्धी सुचना सार्वजनिक गर्नु तीन दिन अगावै आयोजनाको वित्तीय अवस्था बोर्डमा पेश गर्न समेत आग्रह गरेको छ ।
विद्युत नियमन आयोगको निर्देशनमा पहिलो चरणमा ४७ दशमलव ६२ प्रतिशत हकप्रद जारी गर्न बोर्डले अनुमति दिएको बताएको छ । अपिले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि शतप्रतिशत हकप्रद शेयरमा मार्फत पूँजी जुटाउन लागेको थियो । हाल ८ दशमलव ५ मेगावाट क्षमताको नौगड गाड आयोजना र ८ मेगावाट क्षमताको माथिल्लो नौगड आयोजनाबाट कम्पनीले विद्युत उत्पादन गर्दै आएको छ ।
यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू. १३ करोड ५० लाखभन्दा बढी विद्युत विक्री आम्दानी गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोषमा रू. ११ करोड ५६ लाखभन्दा बढी रकम रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ९६ रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१०९ दशमलव ७१ रहेको छ ।
हकप्रदको स्वीकृति पाएको खबर पाएसँगै यस कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । मंगलबार कम्पनीको शेयरमूल्यमा सर्किटनै लागेको छ । यस दिन ९ दशमलव ६३ प्रतिशत मूल्य बढेपछि कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो ।