नागरिक पोष्ट News


भावी गभर्नरको दौडधुपमा डेपुटी गर्भनरदेखि पूर्व अर्थसचीवसम्म, कसले बाजी मार्ला ?

2.5K

भावी गर्भनरको दौडमा चिन्तामणि, महाप्रसाद, किरणकुमार, सुबोध, मीनबहादुर, राजन र शिवराज औपचारिक तथा अनौपचारिक रुपबाटै शक्तिकेन्द्रमा लागि परेका छन् ।

गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल चैत ५ मा सकिँदैछ । उता अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्य पद फागुन २० गतेबाट सकिँदैछ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले पुनः राष्ट्रियसभा सदस्यमा मनोनीत गरेमा मात्र उनी अर्थमन्त्रीको रुपमा निरन्तर रहनसक्छन् ।

नयाँ गभर्नरको लाइनमाछन् चिन्तामणि शिवाकोटी । उनी हाल राष्ट्रबैंकका वरिष्ठ डेपुटी गभर्नर पनि हुन् । डेपुटी गभर्नर बन्दा पनि उनले धेरै वरिष्ठ कार्यकारी निर्देशकहरुलाई पछाडि पारेका थिए । केपी ओलीसँगको निकट सम्बन्ध भएका कारण उनलाई  आगामी गभर्नर चिन्तामणि शिवाकोटी नै हुने ठोकुवा गरिरहेका छन् । उनले समेत प्रधानमन्त्री निवास बालुवाटारको दौडधूपलाई तीव्र बनाएका छन् । 

गभर्नरको यो दौडमा अर्को संभावित नाम हो महाप्रसाद अधिकारी । उनी नेपाल राष्ट्रबैंकका पूर्व डेपुटी गभर्नर हुन् । हाल लगानी बोर्डको सीइओको रुपमा कार्यरत उनले समेत गभर्नरका लागि दौडधूप सुरु गरिसकेका छन् ।

गभर्नरको दौडमा केही पछि इन्ट्री भएको नाम हो राष्ट्रबैंकका संचालक डा. सुबोधकुमार कर्ण । बैंकिङ विषयमै पिएचडी गरेका उनी राष्ट्रपतिसँग निकट छन् ।

तत्कालीन माओवादी अध्यक्ष तथा हालका नेकपाका अध्यक्ष प्रचण्डसँग निकट मानिने डा. मिनबहादुर श्रेष्ठलाई समेत संभावित गभर्नरको अर्को बलियो उम्मेद्वारको रुपमा हेरिएको छ 

अर्थमन्त्रीको रुपमा डा. खतिवडाको निरन्तरता भयो गभर्नरको रुपमा ल्याउन चाहेका व्यक्ति हुन् राजन खनाल । अर्थसचिवबाट अवकाश पाएका खनाललाई गभर्नर बनाउने इच्छा खतिवडाले औपचारिक÷अनौपचारिक भेटघाटहरुमा व्यक्त गरिसकेका छन् । राजन खनाललाई पछिल्लो समय प्रधानमन्त्रीको समेत आशिर्वाद प्राप्त हुनसक्ने विश्लेषण समेत गर्न थालिएको छ । 

निकै पछि गभर्नरको रेसमा इन्ट्री भएको अर्को दमदार नाम हो किरणकुमार श्रेष्ठ । उनी हाल पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । श्रेष्ठ अन्तिम समयमा प्रधानमन्त्रीको रोजाईमा पर्नसक्ने संभावना समेत रहेको स्रोत दाबी गर्छ । 

गभर्नरको रेसमा संभावित उम्मेद्वारको रुपमा हेरिएका अर्का पात्र हुन् डेपुटी गभर्नर शिवराज श्रेष्ठ । तर, छानबिनको डण्डा चलाइसकेपछि उनको आत्माविश्वास कम भएर गएको राष्ट्रबैंक स्रोतले जनाएको छ । 

नेकपाभित्रबाट प्रधानमन्त्रीमा केपी ओलीकै विकल्प खोज्ने प्रयास भइरहेको बेला भावी अर्थमन्त्री र त्यसपछि राष्ट्रबैंकमा आउने गभर्नरको विषयमा अहिले नै ठोकुवा गरेर भन्न सकिने अवस्था छैन । 

Must View