शेयर बजारमा उछाल, नेप्सेले १५ सय विन्दू यसरी पार गर्यो , ३ अर्ब ६० करोडको कारोबार
काठमाण्डौ । नेप्से परिसूचकमा उछाल आई बजार १५०० को विन्दू पार गरेको छ । आइतबार सुरुवातदेखि नै उछालको गतिमा दौडिएको बजार कारोबारको २ घण्टा र केही मिनेटको समयमा १५०० को विन्दू पार गर्न सफल भएको हो ।
नेप्से परिसूचक ६९.५६ अंकले बढेर १ हजार ५ सय ४ दशमलव १४ विन्दुमा पुगेको छ भने नयाँ रेकर्ड कायम गर्दै आइतबार ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ बराबरको कारोवार भयो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा वामदेव गौतम आउने राजनीतिक कुरोसँगै शेयर बजार उचालिएको हो
केही सातादेखि वित्तीय क्षेत्रमा ब्याजको आधार दर घटिरहेको छ । आधार दर घट्दा ऋणको ब्याज पनि कम हुन्छ । ऋणको माग नभएर तरलता थोरै बचतमा रहेका बेला बैंकहरुले शेयर बजारमा खन्याउन थालेका छन् ।
साताको पहिलो दिन आइतबार कारोबारका रुपमा बजार खुलेको पहिलो २० मिनेटमा ४३ अंक उक्लियो।
बजारमा अर्थमन्त्री हट्ने हल्ला र प्राविधिक विश्लेषणहरुले अब बजार रोकिने अर्को विन्दु १६ सय माथि हो भने पछि लगानीकर्ताहरु नाफा बुक गर्नुको साटो लगानी बढाउनतिर लागेपछि कारोबार अस्वभाविक बढेको हो । माग बढेपछि सूचक ७५ अंकसम्म उक्लियो ।
बजारमा एकैदिन ४.७१ प्रतिशतको बढोत्तरीको निकै दुर्लभ घटना भएको छ । यस्तै, कारोबार रकम समेत २ घण्टामै २ अर्ब माथि पुग्ने अर्को रेकर्ड समेत आजै ब्रेक भएको छ । राम्रा र बलिया कम्पनीमा उच्च खरीद चाप भएका कारण सेन्सेटिभ इण्डेक्स पनि एकैदिन १५.६१ अंकले बढेको छ । यो पनि नयाँ रेकर्ड हो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा यो अवधिसम्म ५.२९ अंकको बढोत्तरी भइसकेको छ ।
बजारमा एनएमबी बैंकले सबैभन्दा बढी ८ करोड ९७ लाख बढीको कारोबार गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले साढे ७ करोड, हिमालयन डिस्टीलरीले ७ करोड बढीको कारोबार गरिसकेका छन् । साल्ट टे«ेडिङ कर्पोरेसन, फ्रस्ट माइक्रोफाइनान्स, एनएमबी बैंक, कालिका माइक्रो क्रेडिट, आरएसडिसी लघुवित्त र मुक्तिनाथ विकासबैंकको मूल्यमा पोजिटिभ सर्किट लागिसकेको छ ।