गोकुल बास्कोटाको राजनीतिक इतिहास यस्तो थियो: छिट्टै उदाए, चाँडै अस्ताए
२०३७ सालबाट तत्कालीन नेकपा माले निकट अनुरास्ववियूमा संगठित भएका बाँस्कोटा जिल्ला अध्यक्ष पनि बनेका थिए । राजनीतिमा अरुलाई साइड लगाएर ओलीको विश्वासपात्र भई उदाएका बास्कोटा जसरी उदाए त्यसरी नै अस्ताएका छन्। उनीमाथि लागेको ७० करोडको भष्टाचार आरोपबाट चोखिएपनि बाँस्कोटालाई फेरि राजनीतिमा उदाउन भने सहज छैन।
गोकुल बास्कोटाको इतिहास यस्तो
काभ्रेको कम्युनिस्ट आन्दोलनमा गोविन्दनाथ उप्रेती, केशव बडाल, केपी सापकोटा, विदुर सापकोटालगायतको नाम अग्रपंक्तिमा आउँछ । बाँस्कोटाको भने त्यति परिचित थिएनन् । तर, राजनीतिमा बाँस्कोटा जसरी उदाए, जसका कारण काभ्रेका कम्युनिस्ट आन्दोलनका ठुल्ठूला हस्तीहरू पछाडि परे । पूर्वमन्त्री उप्रेती राजनीतिबाट ओझेल परिसके । बडाल सहकारी आन्दोलनको बोकेर पछि परे। पार्टीमा महत्त्वपूर्ण भूमिकामा छैनन् । केपी र विदुर सापकोटाको नाम निशाना नै छन पार्टीमा।
२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ३३ सिट जितेको थियो, त्यसमध्ये काभ्रे– ३ बाट कृष्णप्रसाद सापकोटा निर्वाचित भएका थिए ।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पार्टी केन्द्रले सापकोटालाई नै दोहोर्याउने निर्णय नै गरेको थियो । तर ओलीको आडमा बाँस्कोटाले टिकट खोसे । परिमाणतः एमालेले सिट गुमायो ।
दोस्रो संविधानसभा निर्वाचनमा काभ्रे ४ बाट निर्वाचित विदुर सापकोटाको त्यही नियति दोहोरियो । गोकुल पार्टी केन्द्रीय सदस्य हुँदा उनैलाई पार्टीमा स्थापित गराउने विदुर प्रदेश कमिटी सदस्यमा सीमित छन् ।
“केपी र विदुरकै बलमा बाँस्कोटा पार्टी उपसचिव, सचिव हुँदै अध्यक्ष बने । पार्टीमा प्रभुत्व बढेपछि दुवैलाई क्रमशः किनार लगाए र एकछत्र रजाइँ गरे । उनी संगठकभन्दा पनि गुटगठक हुन् ।
बाँस्कोटाको कार्यकालमा फरक गुटका मान्छेले मुन्टो उठाउन पनि पाएनन् । एकलौटी पार्टी चलाए ।
नवौं महाधिवेशनमा केपी ओलीलाई पार्टी अध्यक्ष जिताउने मुख्य पात्र थिए, महेश बस्नेत, गोकुल बाँस्कोटा र खगराज अधिकारी । विडम्बना तीनै जना केन्द्रीय सदस्यमा पराजित भए ।
ओलीले बस्नेत र अधिकारीलाई मन्त्री बनाएर गुण तिरिसकेका थिए । बाँस्कोटालाई मन्त्री बनाएर बाँकी कोटा पनि पूरा गरे ।
बास्कोटाले जिल्लाका पत्रपत्रिकामा काम गरे पनि पत्रकारको परिचय रेडियो नेपालको घटना र विचार कार्यक्रमपछि मात्रै बनेको उनका सहकर्मी बताउँछन् ।
२०५१ मा मनमोहन अधिकारीको सरकारको पालामा घटना र विचार कार्यक्रममा आवद्ध भए । २०६२–६३ सालको जनआन्दोलनताकासम्मै उनी पत्रकारितामै संलग्न थिए ।
चेष्टा, छलफल साप्ताहिकमा संलग्न रहेका उनी दृष्टिका सम्पादक पनि भए । तैपनि पत्रकारितामा राष्ट्रिय छविको विकास भने हुन सकेन । अचम्म त के छ भने पत्रकारिता पृष्ठभूमिबाट आए पनि मन्त्री बाँस्कोटा कार्यकालभरि पत्रकारकै निन्दा गरेर बिताए ।
सातौं महाधिवेशनदेखि ओली खेमाका बास्कोटा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे २ बाट ५५ हजार २२६ मत ल्याएर निर्वाचित भएपछि मन्त्री बन्ने बाटो खुल्यो ।
ओलीको विश्वास जितेकैले पहिलोपटक सांसद हुनेबित्तिकै महत्त्वपूर्ण जिम्मेवारी पाउन सफल भएका थिए । २०७४ चैत २ गते सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका बाँस्कोटा त्यही वर्षको जेठ १८ गते मन्त्रीमा बढुवा भए ।
ओलीले कतिसम्म विश्वास गर्थे भने मन्त्री बने पनि बाँस्कोटाले पुल्चोकमा आवास पाएनन् । ओलीले बालकोटमै बस्ने बन्दोबस्त मिलाइदिए ।
मन्त्री बनेपछि बाँस्कोटा कार्यकालभरि आलोचनाको केन्द्रमै रहे । आलोचकप्रति असहिष्णु र खरो टिप्पणी गर्ने छवि बनाएका बाँस्कोटा सञ्चारकर्मी सामु पनि उही रवैया दोहोर्याउँथे ।
ओलीले आफ्नै घरमा राखेका बास्कोटाले ओलीकै सपना बिपरित काम गरेको भेटियो र अन्त्यमा पदबाट राजिनामा पनि दिए। यसरी घरमै राखेका सदस्यले विश्वासघात गरेपछि प्रधानमन्त्री ओलीले घेरा तोड्नुपर्ने टिप्पणी हुन थालेको छ ।
-
-