दोलखा भीमसेनलाई पसिना आयो, भीमसेनलाई पसिना आउदा देशमा के के भएको थियो
प्रसिद्ध दोलखा भीमसेनको मुर्तिबाट पसिना आएपछि दोलखावासी मुलुकमा संकट निम्तने भन्दै पुजापाठमा जुटेका छन्। भीमसेनको मुर्तिमा बिहीवार विहान साढे ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना स्थानियले जनाएका छन् ।
मन्दिरमा पसिना आएपछि दर्शनार्थीको भीड लागेको छ । भीमेश्वरको सिलामा पसिना आउनुलाई अनिष्टको सुचकका रुपमा लिने गरिएको छ । शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ ।
पसिनापछिदेशमा के के भयो ?
भीमसेनको शिलामा पसिना आएको ६ महिनाभित्र देशमा केही न केही ठूला घटनाहरू हुने गरेको जनविश्वास छ । भीमसेनमा मन्दिरमा पसिनामा आउँदै ठुला घट्ना घटेका पनि छन् । यसलाई संयोग मान्नेको संख्या पनि छ तर घट्ना भने घटेका छन् ।
भीमसेनको शिलामा पहिलोपटक १९९० सालमा पसिना आएको थियो । त्यतिबेला भीमसेनको बायाँतर्फ पसिना आएकाले देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षति भएको थियो।
दोस्रोपटक १९९७ सालमा भीमसेनको शिलामा पसिना आउँदा चारजना नेपाली नागरिकलाई झुन्ड्याएर फाँसी दिइएको थियो ।
त्यसैगरी २००७ सालमा भीमसेनलाई पसिना आउँदा १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भएको थियो । २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको थियो । २०१८ सालमा भीमसेनलाई पसिना आउदा देशमा ठूलो बाढी पहिरो आई ठूलो क्षति भएको थियो ।
त्यस्तै २०२८ साल माघ महिनामा भीमसेनलाई पसिना आउँदा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको थियो । त्यसैगरी २०३५ साल फागुनमा पसिना आउदा देशमा जनमत सङ्ग्रह भएको थियो । २०४५ साल चैतमा पसिना आउँदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भई देशमा बहुदलीय प्रजातन्त्र आएको थियो ।
त्यसैगरी २०५७ साल माघ १ र १५ गते भीमसेनलाई पसिना आएको थियो । पसिना आएको चार महिना नबित्दै दरवार हत्याकाण्ड हुन भएको थियो । त्यसैगरी २०६१ साल फागुनमा भीमसेनलाई पसिना आउँदा देशमा जनआन्दोलन भयो । २०६३ सालमा पनि भीमसेनलाई पसिना आएको थियो र देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको थियो ।
२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो ।