भ्रष्टाचार छानविन गर्दा हामीले नै भ्रष्टाचार गरेको जसरी अफवाह फैलाइयो : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विगतमा भएका र लुकाइएको भ्रष्टाचारहरू छानबिन गर्दा अहिले नै भ्रष्टचार भइरहेको जसरी प्रचार भएको बताएका छन् । विगतमा गरेका भ्रष्टाचार यही सरकारको पालामा गरेको भ्रष्टाचारसरह मिडियाहरूले प्रचार गरेको भन्दै उनले तिव्र रोष प्रकट गरे । नेकपा केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य दिने क्रममा पार्टी अध्यक्ष समेत रहेका ओलीले विगतका भ्रष्टाचार काण्डहरु अहिलेको सरकारका पालामा छानबिन गरेर बाहिर ल्याइएकाले भ्रष्टाचार बढेजस्तो देखिएको बताए । केन्द्रीय सदस्यलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने, ‘विगतमा भएका र लुकाइएको भ्रष्टाचारहरू छानबिन गरी कारवाही गर्ने हामी, अनि हामीले नै भ्रष्टाचार गरेको हो भनेर गलत प्रचार फैलाउने र अफवाह फैलाउने काम भइरहेका छन्, यो तपाईंहरूले बुझ्न जरुरी छ ।’
विगतका भ्रष्टाचारका काण्डहरूमाथि निरन्तर छानबिन गरेर कारवाही प्रक्रिया अघि बढाउने कार्यमा सरकार केन्द्रित हुँदा भ्रष्टाचार बढेको जस्तो भान देखिएको ओलीको तर्क छ।