अबदेखि जथाभावी बाटो काटे एक हजार, ट्याक्सी मिटरमा जान नमाने १५ हजार जरिवाना हुने
काठमाडौं। सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपियाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ।मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाई एक हजार, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएमा पाँच हजार तर त्यस्तो सवारी सार्वजनिक सवारी भएमा १० हजार रुपियाँ जरिवाना लिने व्यवस्था गरेको छ।
त्यसै गरी मिटर ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार रुपियाँ जरिवाना प्रस्ताव गरिएको छ। विधेयक लागू भएमा मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्यरूपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ।लामो र मध्यम दूरीमा सवारी दुर्घटना बढ्दै गएपछि सरकारले सो व्यवस्था गर्न लागेको जनाएको छ। त्यस्तै, मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङग्रे सवारी चलाउँदा चालक तथा पछाडि बस्ने यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था गरेको छ।सवारी व्यवस्थापनलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरिएको सरोकारवालाको भनाइ छ।