नागरिक पोष्ट News


शेयरबजारमा पनि चलखेल हुने गर्छ !

2.2K

काठमाडौं । शेयरबजारमा हुने चलखेलको शैलीमा परिवर्तन आएको छ । ७/८ बर्ष अघि बजारको आकार सानो थियो । त्यसबेला कम्पनीको शेयर खरिद गरेर बजारमा उत्तार चढाव ल्याउने गरिन्थ्यो । तर, अहिले बजारको आकार बढेपछि उत्तार चढाव आउने गरी पहिलेको तरिकाबाट चलखेल हुन छाडेकोे छ । शेयर बजार चलखेलरहित भएको छैन, चलखेलको शैैलीमा मात्र परिवर्तन आएको एक लगानीकर्ताले बताए । उनले भने, ‘शेयरबजार चलखेलरहित त हुनै सक्दैन, चलखेल बढी र कम मात्रैको कुरा हो ।’

बजारको आकार बढ्दै गएपछि चलखेल गर्ने परम्परागत तरिकामा पनि परिबर्तन आएको छ । बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा निर्बाचित हुनका लागि शेयर खरिद गर्ने र मनोनित भइसकेपछि बिक्री गर्ने प्रचलन छ । सञ्चालक समितिमा मनोनयन हुनका लागि कम्पनीको शेयर बढाउने र मनोनयन भइसकेपछि घटाउने काम हुने गरेको अर्का लगानीकर्ताले बताए। उनले भने, ‘शेयरबजारमा हुने त्यस्तो चलखेलका बारेमा थाहा नपाउने लगानीकर्ताका लगानी जोखिममा पर्न सक्छ ।’

त्यसैगरी, बैंक तथा वित्तीय कम्पनीको सञ्चालक समितिले बोनस शेयर वा नगद लाभांश घोषणा गर्नु अघि आफ्ना नातेदारलाई कम्पनीले दिने प्रतिफलका बारेमा जानकारी दिने गर्छन् । ‘सञ्चालक समितिको बैंठक समाप्त नहुँदै ट्वाइलेटमा गएर सञ्चालक समितिले गरेको निर्णय सार्बजनिक गर्ने गर्छन्’ नेपाल धितोपत्र बोर्डका एक पूर्वअध्यक्षले भने, ‘सञ्चालक समिति नै चलखेलमा लाग्ने गरेपछि अरुको त के कुरा ?’ 

बैंक तथा वित्त कम्पनीका सञ्चालकहरुमा नै संस्थागत सुशासनको कमी देखिन्छ । ‘बैंक तथा वित्तीयको सञ्चालक समितिको बैंठक सकिएको हुँदैन । तर, बजारमा उक्त कम्पनीको प्रति शेयर मूल्यमा उतार चढाव भइसकेको हुन्छ । यसलाई के भन्ने ?’ एक ब्रोकरले भने, ‘चलखेल विकसित देशको पुँजी बजार र विकासोन्मुख मुलकको शेयर बजार दुबैमा हुन्छ ।’

बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो कर्जा लिनका लागि पनि लगानीकर्ताले चलखेल गर्ने बैंकर बताउँछन् । बढी ऋण लिनका लागि आर्थिक बर्षको अत्यमा शेयर बजारमा बढी चलखेल हुने गरेको शेयर विश्लेषकहरु स्वीकर गर्छन् । बैंकले शेयर धितोमा ऋण दिँदा ३ महिनामा भएको शेयरमूल्यलाई औसत मूल्य मान्ने गरेका छन् । ‘औसतमूल्य बढी कायम गर्न पनि शेयर बढाउने गर्छन्,’ ती बिश्लेषकले भने ।  बजारको आकार बढ्दै गएपछि एक वा दुई कम्पनीको शेयर नै खरिद गरेर चलखेल गर्ने काम भने कम हुने शेयर विश्लेषकहरु बताउँछन् । 

हिजोका दिनमा ४–५ जनाले बजारलाई असर पार्ने गरेका थिए । अहिले त त्यो सम्भावना छैन् । तर, कुनै न कुनै किसिमले बजारमा उत्तार चढाव गराउने गरेको उनीहरु बताउँछन् । ‘बजारको आकार सानो हुँदा केही सिमित व्यक्तिले शेयर खरिद गरेर चलखेल बढी गर्न सक्छन् । तर, बजारको आकार ठूलो हुँदा पनि चलखेलरहित भने हुन सक्दैन,’ एक शेयर बिश्लेषकले भने, ‘चलखेल सानो ठूलो दुबै बजारमा हुने सम्भावना त्यतिकै हुन्छ ।’ अहिले पनि संस्थागत सुशासनको कमीले हुने चलखेल बढेको उनले बताए ।

‘चलखेल केलाई मान्ने केलाई नमान्ने ? कसैले बिक्री गर्दै छ भन्ने थाहा पायो र बिक्री गर्न थाल्यो भने त्यसलाई के भन्ने ? म त त्यसलाई चलखेल भन्दिन ।’ एक बिश्लेषकले भने, ‘कस्तालार्ई चलखेल भन्ने कस्तालाई नभन्ने भन्नेबारे स्पष्ट हुनु जरुरी छ ।’ 

नेप्से परिसूचक ३ सयको हाराहारीमा हुँदा कम चलखेल हुन्थ्यो । तर, अहिले नेप्से १३ सय भन्दामाथि छ । मूल्य बढ्दै जादाँ चलखेल पनि बढी हुने र कम हुँदा कम हुने गरेको विश्लेषकहरु बताउँछन् ।  

From aarthik

Must View