नागरिक पोष्ट News


चोर बाटो हुँदै अमेरिका छिर्न खोज्ने २ हजार जना यस्तो हातलमा समातिए

1.7K

काठमाडौं । मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ । ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २,००० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ ।

 

नेशनल इन्स्टिच्युट अफ माइग्रेसन (आईएनएम) का अधिकारीहरूका अनुसार पक्राउमा परेका व्यक्तिहरुमा एक हप्ता अगाडि होन्डुरस छाडेका “२०२० काराभान”मा आबद्ध व्यक्तिसहित अन्य ठाउँबाट देशभित्र प्रवेश गरेका धेरै व्यक्ति रहेका छन् । यी व्यक्तिहरु मेक्सिको हुँदै संयुक्तराज्य अमेरिका प्रवेश गर्ने योजनामा थिए ।

आइएनएमले करिब १,३०० व्यक्तिलाई टाबास्को र अरु ८०० जना चियापास क्षेत्रमा पक्राउ गरिएको जनाएको छ । बुधबार, मेक्सिकोका दुई दक्षिणी राज्यहरूबाट सरकारी हवाई जहाज र बसहरू मार्फत ४६० जना होन्डुरसका नागरिकलाई उनीहरुकै देश फिर्ता पठाइएको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ ।

ग्वाटेमालाको टेकुन उमान हुँदै क्याराभानमा संलग्न सयौं व्यक्तिले सोमबार बिहान सीमावर्ती सुसिएट नदी पार गर्ने प्रयास गरेका थिए । उनीहरुले मेक्सिकोका अधिकारीहरु समक्ष संयुक्तराज्य अमेरिका प्रवेशका लागि यात्रा अनुमतिको माग गरेका थिए । मेक्सिकोका अधिकारीहरूले जवाफ नदिएपछि उनीहरु जबर्जस्ती नदी तर्न थालेका थिए । यस मौसममा नदी त्यति गहिरो छैन । तर मेक्सिकोको सेनाले उनीहरुमाथि तितरबितर बनाउन र फिर्ता गर्न अश्रुग्यास प्रहार गरेको थियो ।

सेनाको कारबाहीका बाबजूद करिब ५०० व्यक्ति अवैधानिक रूपमा मेक्सिको प्रवेश गर्न सफल भएका थिए, यद्यपि तीमध्ये करिब ४०० लाई पछि पक्राउ गरिएको थियो । मध्य अमेरिकी राष्ट्रहरु एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरसमा व्याप्त गरिबी र हिं’साका कारण भागेका हजारौं व्यक्ति सुरक्षित भविश्यको खोजीमा मेक्सिको पार गर्दै संयुक्तराज्य अमेरिकातिर लागेका हुन् ।

मेक्सिकोको सेनाले निरुत्साहित गरेका कारण ग्वाटेमालाका व्यक्तिहरु स्वदेश फर्कन राजी भएका छन् । आप्रवासीको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै गत वर्ष निर्वाचित मेक्सिकोका राष्ट्रपति आन्द«ेस म्यानुएल लोपेज ओब्राडोरले प्रवासीहरु दक्षिणी मेक्सिकोमा रहन चाहेमा ४,००० जनालाई रोजगारी दिने प्रस्ताव गर्नु भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा कडाई गर्न निरन्तर दबाब दिनुभएपछि मेक्सिकोले आप्रवासीका सम्बन्धमा कडा कदम चाल्न थालेको हो । अमेरिकाले आफ्नो देशतर्फ अनधिकृत रुपमा प्रवेश गर्न चाहनेमाथि कडा कदम नचाले मेक्सिको विरुद्ध व्यापार शुल्क बढाउने धम्की दिएको थियो । अमेरिकाको आग्रहमा राष्ट्रपति ओब्राडोरले देशको सिमानामा करिब २६,००० सेना खटाउनुभएको छ । एएफपी

Must View