नागरिक पोष्ट News


को हुन् अग्नि सापकोटा ? कसरी भए प्रचण्डको विश्वास पात्र

3.7K

 सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस् यस्तो छ यहाँसम्म सापकोटाको यात्रा 

 को हुन् अग्नि सापकोटा

विसं २०१५ फागुन १४ गते सिन्धुपाल्चोकको कुभिण्डेमा जन्मनुभएका सापकोटाले १५ वर्ष अध्यापन गर्नुभएको थियो । नेता सापकोटा विसं २०३५ मा नेकपा (चौथो महाधिवेशन) बाट पार्टी राजनीतिमा लाग्नुभएको हो । हाल नेकपा स्थायी कमिटी सदस्य रहनुभएका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।

विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री हुनुभएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरूपमा राजनीतिमा क्रियाशील हुनुहुन्छ । विसं २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य हुनुभएका उहाँले विसं २०५२ माघदेखि भूमिगत राजनीतिसमेत गर्नुभएको थियो ।

उहाँले विसं २०५८ मा तत्कालीन नेकपा(मोआवादी)को तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान गर्नुभएको थियो । तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बन्नुभएका उहाँले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गर्नुभयो ।

Must View