अन्नपूर्ण हिमपहिरोमा घण्टौ पुरिएर बाँचेका जगदीशको अन्तिम जीवनसंघर्ष, आश मारेको जिन्दगी पाए
अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा परेर ज्यान बचाएका जगदीश खत्रीले कहालीलाग्दो घटना
साभार : अनलाइनखबर / अमृत सुवेदी
अन्नपूर्ण पदयात्रामा निस्किएका जगदीशको जिउ नै हल्लायो जब की हावा जोडले चल्यो, ठूलो आवाज कानमा ठोक्कियो । एकैछिनमा टेकेको जमिन बग्यो । सासै फेर्न गाह्रो भयो ।
जगदीशले बल्ल अनुमान लगाए, हिउँ पहिरोमा परिएछ । तर चलमलाउन सक्ने अवस्था थिएन । टेकेको जमिनसँगै बगेका थिए जगदीश । केही समय बगेपछि एकैछिन रोकियो । माथिबाट फेरि हिउँको पहाड खसेछ । त्यसले धकेलेर फेरि बग्न थाले ।
पहिरो रोकिएर चलमलाउन नपाउँदै फेरि बग्न सुरु गर्यो । फेरि रोकिन्छ, फेरि बग्छ यसरी नै बगिरहें । पहिरोसँगै खोलामा पुगें,’ शुक्रबार अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा परेर ज्यान बचाएका जगदीश खत्रीले कहालीलाग्दो घटना सुनाए ।
हिउँ पहिरोमा परेका उनी मोदी खोलामा खसेका थिए । त्यहाँ पनि जगदीशलाई लाग्यो, ‘खोलामा पानी होइन, हिउँ नै बगिरहेको छ । खोलामा त्यति चिसो पानी थियो ।
१० मिनेट जति खोलामा बगेपछि पौडिएर छेउ लाग्न सफल भए । जगदीश अड्कल गर्छन्, ‘१० मिनेर बगें, त्यति नै समय खोलाबाट किनारा लाग्न लाग्यो होला ।’ बल्लतल्ल खोला किनार त लागे तर उभिन सक्ने अवस्था थिएन । थपक्क बसेकामात्र के बसेका थिए, फेरि बसेको ठाउँ नै भासिएर खोलामा पुग्यो ।
‘जानेजत्तिको बुद्धि लगाएर बाहिर निस्कें,’ जगदीशले बाँच्न गरेको संघर्ष सुनाए । उनका अनुसार हिउँ नै हिउँ छ थियो । समाउने र टेक्ने ठाउँ छैन । भित्तामा मुड्कीले हान्दै खाल्टा परेर त्यसैमा टेक्दै बाहिर निस्कन सफल भएको उनले बताए ।
जगदीश हिम्मतले बाँचे । पौडी खेल्ने कलाले पनि बाँचेएको भन्दै उनी भन्छन्, ‘आफूले टेकेको जमिनको माथिमाथि नबगेको भए, त्यही सकिन्थें होला ।
खोलाबाट निस्किएर पनि बाटोसम्म पुग्न आफूलाई झण्डै २ घण्टा लागेको उनले बताए । बाटो नजिकै पुगेपछि उनले मान्छेहरुलाई देखे । जगदीशमा अरु हिम्मत पलायो ।
केही मिटर तल पुगेर चिच्याए, ‘हेल्प, हेल्प ।’ उनले जमिन र ठाउँको अवस्थाबारे बताए, ‘मान्छेहरुले हेरिरहेका छन् तर कसैले तल झरेर हात दिने हिम्मत राखेन । त्यस्तो थियो, त्यहाँको जमिन र मान्छेहरुको अवस्था ।’
बाटोमा निस्किएपछि वरिपरीका मान्छेहरु आए । अन्नपूर्ण पदमार्गका पर्यटकहरु पनि भेला भए । मान्छेहरुले अंगालो हाले । कपडा धुजा, धु्जा थियो, उनीहरुले नै लगाइदिए । ‘खल्तीको चस्मा त हातले माडेको भुजियाजस्तो भएको रहेछ । म कसरी फर्किएँ भनेर त्योबेला अझ झसंग भएँ,’ उनले सुनाए ।