नागरिक पोष्ट News


उपत्यका लगायत देशभर भारी वर्षा–हिमपात सँगै तराईमा हुस्सु, चिसो अचानक फेरि ह्वात्तै बढ्यो

2.6K

काठमाडौं । आज बिहानै देखि काठमाडौं उपत्यका लगायत देशभर जसो नै पानी परिरहेको छ । केही दिन खुलेको मौसम हिजोबाट फेरि बदली भएको हो । बिहीबारदेखि देशभर दिउँदे वर्षा सुरु भएको छ । तीन दिनसम्म सफा मौसम हुँदा सामान्य रहेको जनजीवन वर्षाका कारण फेरि प्रभावित हुन पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, मुलुकको पूर्वी मध्य तथा पश्चिमी अधिकांश भू–भागमा हल्का र मध्यम वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले एक सातासम्म झरी पर्ने जानकारी दिइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार, ‘हिउँदे वर्षा पुनः सुरु भएको छ । मौसम देशव्यापी रुपमा फेरिएको छ ।’

हिमाली एवम् उच्चपहाडी भूभागमा हिमपात भइरहेको छ । तराईका भू भागमा हुस्सु र कुहिरो लागेको छ । बिहीबारदेखि बढेको चिसो एक सातासम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । तराईमा हुस्सु र कुहिरो लाग्नेछ । न्युनतम तापक्रममा भने उल्लेखनीय परिवर्तन हुनेछैन ।

शुक्रबार र शनिबारदेखि अधिकतम तापक्रम घट्ने विभागले जनाएको छ । साताको अन्त्यतिर मुलुकभर मौसम सफा रहने मौसम पूर्वानुमान शाखाको अनुमान छ । साताको अन्त्यतिर बुधबार र विहिबार मौसम प्रणालीमा सुधार आउने देखिएको छ । मौसम सामान्यतया सफा रहने छ ।

Must View