नागरिक पोष्ट News


माघी पर्व थारू समुदायले नयाँ वर्षको रूपमा मनाउदै

2.5K

दाङ,

अाज माघ १ गते माघी पर्व अर्थात माघे संक्रान्ति दाङ लगायत देशभर मनाउने गरिन्छ । अरु समुदायले माघे संक्रान्तिकाे रूपमा मनाउने गर्दछन् तर थारू समुदायले माघी पर्वलाई विशेष महत्त्वकाेे साथ मनाउने गर्दछन् भने यस पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउने गर्छन् ।

थारूहरूको पुराना पुर्खा माघी पर्वलाई नयाँ वर्षको रूपमा मात्र होइन वर्षभरि लागू हुनेगरि नयाँ नीति र कार्यक्रम बनाउने दिनको रूपमा माघी पर्व मनाउथे । त्यसबेला माघी पर्वको ठूलो महत्त्व थियो । प्रत्येक वर्षको पाैष मसान्तकाे दिन साँझ सबै गाउलेहरु अाफ्नाे घरबाट दाउरा लिएर महतवाकाे अागँनमा गएर धुनी बालेर धुनीकाे चारैतिर बसेर धुम्रु गीत गाउथे र माघ १ गते बिहान गंगामा सबै गाउँलेहरु नुहाउन अाजसम्म पनि जान्छन् ।

नुहाइ सकेपछि अाफु भन्दा ठूलो मानिसले साना मानिसलाई टीका लगाएर अार्शिवाद दिन्छन् । नुहाएर घरमा अाएपछि चामल, मास र नुनको निस्राउ तीन देखि सात पसर एक भाडाबाट अर्को भाडामा राख्छन् र त्यो निस्राउ माघ २ गतेकाे दिन अाफ्नाे फुफु, भतिजी, दिदीबहिनीलाई दिन जाने प्रचलन छ । निस्राउ काडीसकेपछि अाफु भन्दा ठूलो नाता पर्ने मान्नेजनलाई ढाेक सलाम दिने र अार्शिवाद लिने प्रचलन छ । त्यसपछि प्रत्येक घरकाे अाफ्नाे घरको अागनमा धुनी बालेको त्यो धुनी वरिपरि भएर अाफु भन्दा ठूला र सानालाई हातखुट्टामा ढाेक दिई अार्शिवाद लिने प्रचलन छ । साे कार्यक्रम सकेपछि घरको सबै जहान परिवार धुनीकाे वरपर बसेर माछा, मासु, तरुल, गैँजी, ढिक्री, राेटी र अनेक प्रकारका तरकारी परिकार समेत खाने गरिन्छ । त्यसै समयमा अाफ्नाे घरको एक वर्षभरि गर्ने कामकार्यकाे नीति बनाउने तथा साे नीति कसरी कार्यान्वयन गर्ने सल्लाह हुन्छ । त्यसैगरी माघ १ गतेकै दिन दिउँसो सबै गाउँकाे मानिसहरु अाफ्नाे घरबाट पाहुरा लिएर माघी देवानी मान्न जान्छन् र महतवाकाे अागनमा बखेरी बस्छन् । बखेरी भनेको वार्षिक अधिवेशन जस्तै हो । बखेरी बसिरहेको बेला गाउँको महतवाले गाउँको प्रत्येक घरको व्यक्तिहरु अा-अाफ्नाे समस्या भन्छन् । कसैले भन्छ मेरो घर बनाउने छ, कसैले भन्छ मेरो छाेराछाेरीकाे विवाह गर्नेछ,कसैले भन्छ मेरो खेतमा पानी चल्दैन कुलो खन्नुपर्याे, कसैले भन्छ मेरो छाेराछाेरी ठूलाठूला भइसके अब मलाई खेती गर्ने जग्गा मिलाइ दिनुपर्याे भन्ने लगायतका कुरा बखेरीमा उठेपछि सबै समस्याहरु कस्काे समस्या कसरी समाधान गर्ने भनेर एक वर्ष भरी लागु हुने गरि नीति कार्यक्रम बनाइ बखेरी सकिन्थ्यो । तर अाज माघी पर्व पहिलेको जस्तो नीति कार्यक्रम बनाउने काम खासै नगरिए पनि सामुहिक रूपमा यो पर्व मनाउने, नाचगान गर्ने, रमाइलो गर्ने, भेटघाट गर्ने गरिएको थारू संस्कृति विदहरुले जनाएका छन् ।

Must View