दाङ घुम्न आउने के सोध्छन् ??
एसियाकै ठूलो उपत्यका हो दाङ। हालसम्म दाङलाई चिनाउनेगरी एउटा कुनैपनि परिकार स्थापित भने हुन सकेको छैन।
दाङमा स्थानीय खाने कुरालाई स्थापित गर्ने सोचका साथ उचित अध्ययन तथा अनुसन्धान समेत हुन नसकेको रेष्टुरेण्ट सञ्चालक सञ्तोष गिरी स्वीकार्छन्। यो दाङको पर्यटन विकासका लागि विडम्वाना मान्नुपर्ने उनी बताउँछन्।
गिरी लगायतका साथीहरु मिलेर हालै घोराहीमा एक करोड बढीको लगानीमा जिल्लामै नौंलो खालको ‘मेट्रो दाङ’ नामक रेष्टुरेण्ट सञ्चालनमा ल्याए। झन्डै तीन महिना अगाडि सञ्चालनमा आएको उनको रेष्टुरेण्ट राम्रै चलेको छ।
गिरीका अनुसार पछिल्लो समय ‘अक्टोपस’ दाङमा बढी रुचाएको परिकार हो। योभन्दा पहिले सी फूड खान पाइने रेष्टुरेण्ट जिल्लामै नभएको उनी दावी गर्छन्।
‘हामीले बनाएको नयाँ स्वादको परिकार खान पाउँदा उपभोक्ता खुसी छन्’ गिरीले भने ‘तर जिल्लालाई नै चिनाउनेगरी स्पेसल परिकार स्थापित हुन सकेन।’
पहिलेजस्तो अब समोसा, चाउमिन, मःम, सेकुवा मात्रै बेच्ने हो भने दाङले नयाँ स्वादको परिकार चखाउन नसक्ने उनी बताउँछन्। दाङमा सहज उपलव्ध हुने उपजबाट कस्तो नयाँ परिकार, कसरी तयार गर्ने भन्नेमा उनी पनि चिन्तित छन्।
‘नयाँ ठाउँमा जाँदा कुनैपनि पाहुनाले सबैभन्दा पहिले खोज्ने त्यहीको स्थानीय ब्रान्डेड परिकार नै हो’ उनले भने ‘खानेकुरामा ग्राहक रमाउन पाउनु पर्छ।’
केही फरक खानेकुरा बेच्नुपर्छ भन्ने कुराले संधै आफुलाई पिरोल्ने गरेको उनी बताउँछन्। दाङको गुन्द्रुक र बदिया भाले नेपालमा लोकप्रिय भएकाले त्यसकै परिकारलाई व्यवसायिक रुपमा ब्राण्ड बनाउन सकिन्छ कि भन्ने कसरतमा उनी लागेका छन्।
‘दाङमा मुलाको मात्रै गुन्द्रुक बनाइन्छ, तर अरु जिल्लाहरुमा अन्य सागपात कुहाएर बनाइन्छ,’ गिरीले भने ‘छुट्टै स्वादको गुन्द्रकबाट फरक परिकार बन्न सक्छ।’
बट्टाई पनि दाङको लोकप्रिय चरा हो। पछिल्लो समय बट्टाईलाई पनि ब्रोईलर कुखुराजसरी पाल्न थालिएपछि बट्टाईको चर्चा सेलाउँदै गएको गिरी बताउँछन्।
पहिले दाङको तोरीको तेल, मसुरोको दाल, कात्तिके माहुरीको मह, तिल्की धानको चामलको चर्चा देशभर थियो। सहर बजारमा पाहुरका रुपमा यी लैजाने चलन थियो।
तर अहिले यी उत्पादन नै लोपहुने अवस्थामा पुगेका छन्। तुलसीपुर निवासी ८५ पर्षीय भुवन चौधरी रैथाने अन्नवाली जोगाउन ध्यान नदिने र बाहिरबाट हाईव्रिड जातका धान ल्याउँदा समस्या निम्तिएको बताउँछन्।
आयातित धान, चामलका कारण मार्सी, तिल्की, मनसुली जस्ता रैथाने धानहरु लोप भएको चौधरीको तर्क छ। दाङको उत्तरी भूभागमा सिस्नो र ढिँडोको लोकप्रियता छ।
परिकार मात्रै होइन, दाङका कृषि उपज समेत ब्रान्डिङ हुन नसकेको स्थानीय बताउँछन्। कागती, निबुवा, अदुवा, बेसार र टिम्मुरको व्यवसायिक खेती गर्न सके त्यसबाट पनि जिल्लाको पहिचान बन्न सक्ने शान्तिनगर गाउँपालिका निवासी ७७ वर्षीय मनोज घर्तीको विश्वास छ।
‘कृषिमा राज्यले अध्ययन, अनुसन्धान र लगानी गर्न सकेन,’ घर्तीले भने ‘सबै युवा विदेश जान थाले। गुजारामुखी खेती मात्रै भइरहेको छ, त्यसले रैथाने उत्पादन र परिकार ओझेलमा पर्दै गए।’
वनजंगल मासिदै जानु, खेतिपाती कम हुँदै जानु र जताततै घर घडेरी मात्रै निर्माण गर्नुले असअघि दाङको ब्राण्डका रुपमा देशैभर चिरपरिचित कृषि उपज लगाउने ठाउँ समेत अभाव भएको उनको बुझाई छ। तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल पनि घर्तीको कुरामा सहमत छन्। रिजालले भने ‘रैथाने बालिनाली र पशुपंक्षीको पहिचान गरी व्यवसायिक खेती सुरु गर्न ढिला गर्नु हुन्न।’
स्थानीय उत्पादन र परिकारलाई कसरी ब्राण्डिङ बनाउने भन्ने सवालमा स्थानीय सरकारले पनि जोड दिनुपर्ने उनको भनाइ छ। तुलसीपुरमा फ्लोरमिल सञ्चालन गर्दै आएका रिजालले कृषि प्रधान देशमा मिलका लागि आवश्यक खाद्यान्न समेत भारतबाट ल्याउनु पर्ने परिस्थिति आएको बताउँछन्।
‘विश्वमा ख्याति कमाएका होटेल र रेष्टुरेण्टका सेफहरुले आफ्नै स्थानीय खानालाई ब्राण्डिङ बनाएर लोकप्रियता हासिल गरेका छन्,’ रिजालले भने ‘तर हामी कहाँ बाहिरको खानालाई भजाएर सेफ बन्ने गलत होडवाजी चल्दै आएको छ।’
तुलसीपुरमा होटेल वेष्टर्न प्यालेस सञ्चालन गर्दै आएका दुर्गा खड्का बाहिरबाट आउने पाहुनाले दाङको स्पेसल ब्राण्ड सोध्दा आफूले जवाफ दिन नसक्ने अवस्था रहेको बताउँछन्।
पछिल्लो समय जिल्लामा स्तरीय होटेल र रेष्टुरेण्टहरु थपिने क्रम बढेकाले रैथाने खानाको अध्यन र अनुसन्धान जरुरी रहेको उनले बताए।
From setopati
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६, १४:२२:००