नागरिक पोष्ट News


‘एमसीसी' अमेरिकी नीति नेपालका लागि घातक छ, अमेरिका नेपाल छिरे सजिलै फर्किदैन – लिलामणि पोख्रेल

2.6K

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लिलामणि पोख्रेलले अमेरिका एकचोटी नेपाल छिरेपछि सजिलै नफर्किने भन्दै समयमै सबै सचेत हुनुपर्ने बताउनुभएको छ ।

‘एमसीसी अमेरिकी लगानीमा सञ्चालित परियोजना हो। यो इण्डोप्यासफिककै एक अंग हो। यो कुरा हामीले भनेका होइनौं, अमेरिकी अधिकारीहरुले नै भनेका छन्, ‘उहाँले भन्नुभयो, ‘इण्डोप्यासफिक भनेको बिआरआई रोक्न आएको अमेरिकी रणनीति हो।

एमसीसी पास भए नेपाल इरान बन्न सक्छ : लिलामणि पोख्रेल

इण्डो प्यासिफिक सैन्य गठबन्धनको रणनीति हो भएको चर्चा गर्दै नेता पोख्रेलले भन्नुभयो, ‘एकचोटी अमेरिका नेपाल छिरेपछि सजिलै फर्किदैन। अस्ति भर्खर इरानको सन्दर्भमा ट्रम्पले भनेका छन्, ‘इरानमा हाम्रो धेरै लगानी छ, त्यत्तिकै फर्केर जान मिल्दैन।’ भोलि नेपालका सन्दर्भमा पनि त्यही भन्यो भने त्यसको जिम्मा कसले लिन्छ ?’

एमसीसी सम्झौता नेपालको कानूनभन्दा माथि रहने प्रावधान एकदमै घातक रहेको भन्दै नेता पोख्रेलले सम्झौतामा कसैले पनि आफ्नो रणनीति नलेख्ने र ती सधैं पर्दापछाडि हुने बताउनुभयो ।

‘एमसीसी नेपालको कानूनभन्दा माथि रहने प्रावधान एकदमै घातक छ। एमसीसी सम्झौतासँग बाझिएका कानूनहरु निस्क्रिय हुन्छन् भन्नुको तात्पर्य के हो ?’ उहाँले भन्नुभयो, ‘सम्झौतामा कसैले पनि आफ्नो रणनीति लेख्दैनन्, त्यो पर्दापछाडि हुन्छ। एमसीसी सम्झौतामा पनि त्यस्ता धेरै प्रावधान राखिएका छन्, जसका बारेमा सबै कुरा प्रष्ट छैन। त्यो पनि हाम्रा लागि अर्को घातक कुरा हो।’

४ सय केभी प्रसारण लाइन लिन बनाइएको स्थानका बारेमा पनि नेता पोख्रेलले सवाल उठाउनुभयो । उहाँले भन्नुभयो, ‘एमसीसी सम्झौतामा ४०० केभी प्रशारण लाइन भरतपुर पाल्पा हुँदै सुनौली लैजाने कुरा छ। त्यो पाल्पा किन लैजानुपर्यो ? त्यसका पछाडि कुन स्वार्थले काम गरिरहेको छ ?’

विकासका लागि भनेर अमेरिका एमसीसी सम्झौतामार्फत् नेपाल छिर्न खोजेको भन्दै पोख्रेलले एमसीसी सम्झौता पास गर्नु इन्डो–प्यासिफिक सैन्य गठबन्धनमा आधारित रणनीति स्वीकार गर्नु भएकोले नेपालले बेलैमा बुद्धि पु¥याउनु पर्ने बताउनुभएको हो ।

Must View