सन् २०१९ मा ४९ जना पत्रकारको हत्या
‘रिपोर्टर्स विथाउट वोर्डर’ ले हालै सार्वजनिक भएको विवरणअनुसार सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको छ । तर अघिल्लो वर्ष विश्वका ९४ जना पत्रकारको हत्या भएको तथ्यांक सार्वजनिक भएको थियो । पछिल्लो दुई दशकमा औषतमा प्रत्येक वर्ष ८० पत्रकारको हत्या हुने गरेको जनाइएको छ ।
सबैभन्दा धेरै पत्रकार मारिएको वर्ष सन् २००६ थियो । त्यसवर्ष मात्रै १ सय ५५ जना पत्रकार मारिएका थिए । यो सङ्ख्यामा आमसञ्चार संस्थामा कुनै न कुनै रुपमा काम गर्ने सबैलाई जोडिएको छ । सन् २०१८ मा हत्या गरिएका पत्रकारको सङ्ख्या सन् २०१७ को भन्दा बढी भएपनि इराक र सिरियामा युद्ध चर्किएको बेलामा जस्तो धेरै भने थिएन ।
गएको १६ वर्षमा अफगानिस्तान पत्रकारका लागि सबैभन्दा खतरनाक देशको रूपमा कायम छ । काबुलमा एउटा बम विस्फोटको समाचार संकलन गर्न गएका नौ अफगानी पत्रकार मारिएका थिए । दोस्रो आत्मघाती विस्फोट पत्रकारकै भेष धारण गरेका आक्रमणकारीले गराएका थिए । पत्रकार हत्याका घटनामा अहिले भने कमी आएको छ ।