सिड्नीमा नेपाल भ्रमण वर्षकाे 'भव्य शुभारम्भ
प्रकाशित : पुस २२, २०७६ १४:१७
सिड्नी — सिड्नीको पर्यटकीयस्थल ‘सर्कुलर की’बाट नेपाल भ्रमण वर्ष २०२० को अस्ट्रेलियामा औपचारिक सुरुवात गरिएको छ । कार्यक्रममा अधिकांश नेपाली तथा केही विदेशीहरु सहभागी थिए ।
उद्घाटन कार्यक्रममा भ्रमण वर्षभरिमा एक लाख अस्ट्रेलियाली पर्यटकलाई नेपाल भित्र्याउने दाबी गरिएको थियो। कार्यक्रममा न्यु साउथ वेल्स राज्य विधानसभाका सभामुख जोनाथन ओडिआ, पूर्व प्रिमियर नाथन रिस, विदेश विभागका अधिकारी पनि सहभागी थिए।
कार्यक्रममा नागरिक उडड्यन, पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईले गत वर्ष ३८ हजार अस्ट्रेलियालीले नेपाल भ्रमण गरेको जानकारी दिँदै यसवर्ष यो संख्या १ लाख पुरयाउने दाबी गरे। उनले नेपाल सरकारले भ्रमण वर्षको सबै तयारी गरी औपचारिक रुपमै सुरुवात गरेको बताए। मंगलबारदेखि विश्वभरि औपचारिक रुपमा सुरुवात गरिएको मन्त्री भट्टराईले जानकारी दिए। कार्यक्रममा सहभागी न्यु साउथ वेल्सका सभामुख ओडिआले नेपाल र अस्ट्रेलियाबीचमा ६० वर्षको कुटनीतिक सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा भ्रमण वर्ष महत्वपूर्ण हुने बताए। उनले नेपाल सुन्दर र मनोरम रहेको उल्लेख गर्दै यस किसिमका कार्यक्रमले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। कार्यक्रमलाई सफल बनाउनका लागि एनआरएनले ओसिनिया क्षेत्रका लागि दिनेश पोखरेलको संयोजकत्वमा मूल समिति बनाएर काम गरिरहेको छ। कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ लेखिएको टिसर्ट वितरण गरिएको थियो भने सहभागीहरुलाई नेपाल भ्रमण वर्षको बारेमा जानकारी दिइएको थियो। कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, अवैतनिक महावाणिज्यदूतहरु दीपक खड्का र चन्द्र योञ्जन, वाणिज्यदूत दीपक धमला, फ्रेड ब्राउन, जो टुमा, एनआरएन उपादक्ष्य मन केसी लगायतको सहभागिता रहेको थियो। र्यालीलाई सुरक्षाकर्मीको अवरोधऔपचारिक कार्यक्रमपछि करिब १ किलोमिटरमा रहेको पर्यटकीयस्थल ओपेरा हाउससम्म पैदल यात्रा गर्दै गएको नेपाली टोलीलाई सुरक्षाकर्मीले रोकेका थिए। नेपाली तथा अस्ट्रेलियाली झण्डा र ‘भिजिट नेपाल २०२०’ को टिसर्ट लगाएका दर्जनौँ सहभागी उक्त र्यालीलाई ओपेरा हाउसको परिसर पुग्ने क्रममा सुरक्षाकर्मीले केहीबेर सोधपुछ गरेका थिए। भ्रमण वर्ष उद्घाटन गर्न आएका नागरिक उडड्यन, पर्यटन तथा संस्कृतिमन्त्री योगेश भट्टराईसमेत सहभागी उक्त र्याली ठूलो संख्यामा रहेका कारण र ओपेरा हाउससम्म जाने अनुमति नलिएकाले रोकिएको सहभागीहरुले बताए। ओपेरा हाउसमा पर्यटकीय र्याली गर्नका लागि सिड्नी काउन्सिलमा आयोजकको तर्फबाट पहिले अनुमति मागिएको भए पनि काउन्सिलले स्वीकृति दिएको थिएन। काउन्सिलले र्याली गर्नका लागि अनुमति नदिए पनि र्यालीकै संख्यामा दर्जनौँ सहभागी एकैसाथ पुगेपछि सुरक्षाकर्मीले रोकेको बुझिएको छ। कार्यक्रममा सहभागी अस्ट्रेलियाका राजदूत महेशराज दाहालले र्यालीलाई रोकिएको खबर झुटो भएको सुनाउँदै ओपेरा हाउसमा र्याली गर्ने कुनै योजना नभएको सुनाए। उनले मन्त्री ओपेरा हाउस जाने क्रममा केही भीड देखेपछि सामान्य रुपमा अनौपचारिक जानकारी लिएको मात्र बताए। ‘हामीले ‘सर्कुलर की’मा नै सबै कार्यक्रम सकेर फोटो खिच्नका लागि मात्र ओपेरा हाउस गएका थियौँ। हामीलाई रोकिएको तथा अवरोध पुरयाइएको होइन।’
सुरक्षाकर्मीले ठूलो समूहमा ओपेरा हाउससम्म जान नदिएपछि मन्त्रीसहित अन्य केही व्यक्ति मात्रै ओपेरा हाउस गएर फोटो खिचाएका थिए। मन्त्री भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै भिजिट नेपाल २०२० देश विकासका लागि महत्वपूर्ण भएको र यसमा सहयोग गर्न सबै विदेशमा रहेका नेपालीहरुले भूमिका खेल्नुपर्ने सुनाएका थिए।
From ekantipur.com