हिमपातले अवरुद्ध सुदूरका राजमार्ग सञ्चालन
डडेल्धुरा : हिमपातका कारण बिहीबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। अवरुद्ध भएको करिब ३८ घण्टापछि भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो। बिहीबार साँझदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए।
हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा बिहीबार रातिदेखि अलपत्रमा परेका सवारीसाधन अहिले राजमार्ग सञ्चालन भएपछि आ–आफ्नो गन्तव्यतिर लागिरहेका छन्। डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको मुख्य राजमार्ग रहेको उक्त भीमदत्त राजमार्गमा बिहीबार साँझदेखि यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो। भीमदत्त राजमार्गको मेलखर्क, हगुल्डे, साहुँखर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करीब तीन फिट बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको थियो। हिमपातका कारण अवरुद्ध भएको डडेल्धुरा–बैतडी जोड्ने दशरथचन्द राजमार्ग पनि सञ्चालन भएको छ।
डडेल्धुराको अनराखोलीमा परेको हिउँले अवरुद्ध बनेको उक्त राजमार्ग शुक्रबार साँझबाट संचालनमा आएको हो। डडेल्धुराको अनराखोल बजार र बैतडीको खोडपेबजार क्षेत्रमा तीन फिटसम्म हिउँ रहेको र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पहलमा ३ वटा डोजर लगाएर बाटो खुलाइएको हो। फोन र इन्टरनेट सेवा अझै अवरुद्ध हिमपातले क्षति गरेका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल टेलिकमको सम्पूर्ण फोन तथा ल्याण्डलाइनको एडिएसएल सेवा अवरुद्ध भएको छ। हिमपातका कारण टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला शुक्रबारदेखि सञ्चार सम्पर्कविहीन हुन पुगेका छन्। बिहीबार दिउँसोदेखि परेको बाक्लो हिमपातका कारण नेपाल टेलिकमको डडेल्धुरास्थित काफली टावरमा खराबी आउँदा यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा र डोटीमा फोन सेवा तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ। यस्तै, डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवासमेत अवरुद्ध छ। हिमपातका कारण विद्युत् सेवा अरुवद्ध भएको हो। अवरुद्ध रहेको विद्युत् सेवा संचालनमा ल्याउनको लागि कर्मचारी खटाइएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाइएको छ।