गाउँमा बिरामी बोक्ने एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी किन्ने बजेट छुट्याइन्छ
बाजुराको बडीमालिका नगरपालिका–८ रापकका विरामीका आफन्त पिठ्युँमा बोकेर अस्पताल लैजाँदै । भारी वर्षाका कारण यातायातका साधन नचलेपछि बोकेर उपचार गराउन ल्याएका हुन् । तस्वीर ः प्रेमबहादुर रौले
गाउँका कोही बिरामी परे कि त भाडाकै गाडी खोज्नुपर्छ, कि त डोको वा पिठ्युँमा बोकेर लैजानुपर्ने हुन्छ । नियमित चल्ने सवारीसाधनमा अक्सिजन हुँदैन । अस्पातलबाट एम्बुलेन्स आउन धेरै समय कुर्नुपर्ने हुन्छ । जसले गर्दा बिरामीहरुको अकालमा ज्यान जान्छ । तर स्थानीय सरकार भएपछि जनप्रतिनिधिहरुलाई गाडी सुबिधाको लागि लाखौं रुपैयाँ बजेटमा छुट्याइन्छ । हामीले तिरेको करबाट हामीले नै गार्हो अप्ठ्यारो र बिरामी पर्दा एम्बुलेन्स सुबिधा समेत नपाउने यो कस्तो राज्यको नीति ? गुल्मीको सत्यवती गाउँपालिकाका नागरिकले खेप्दै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको दुई वर्ष भइसक्दा पनि जनप्रतिनिधिले आफ्ना नागरिकका लागि एम्बुलेन्स खरिद गर्न सकेका छैनन् । सत्यवती गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सातवटा स्वास्थ्य चौकी र छ वटा सामुदायिक स्वास्थ्य केन्द्र गरी कूल १४ वटा स्वास्थ्य संस्था छन् । तर तीमध्ये कुनैमा पनि एम्बुलेन्स नभएको गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्यबहादुर रानाले बताउनुभयो । यो त एउटा प्रतिनिधिमुलक समाचार हो । यस्तो हजारौ समाचारहरु गाउँ गाउँका छन् । तर गरीब जनता सधै अभाव र राज्यको सामान्य सुबिधबाट पनि बञ्चित हुनुपर्दछ । यो अबस्था कहिलेसम्म, बेलैमा स्थानीय सरकारको ध्यान जाओस् ।