नागरिक पोष्ट News


देशभर चिसो अझै बढ्ने, विहिबार र शुक्रबार पानी पर्ने ! सचेत रहन चिकित्सकको आग्रह ।

2.5K

देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम सूचीकृत (रेकर्ड) भएको छ ।

आइतबार विहान १ डिग्री तापक्रम सूचीकृत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो गतवर्ष डिसेम्बर महिनाको अन्तिमतिर सूचीकृत भएको ०.५ डिग्री भन्दा बढ्दो क्रमको तापक्रम हो ।

हरेक वर्षको डिसेम्बरको मध्यबाट चिसो बढ्ने भए पनि यसपाली अलिक छिट्टै चिसो बढेको महाशाखाको भनाइ छ ।

काठमाडौँलगायत देशभर अझैं केही हप्ता चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार पनि चिसो बढेसँगै बाक्लो हुस्सु र कुहिरोको चाप पनि बढ्दो छ । पश्चिम तराईमा लागेको कुहिरो र हुस्सु आइतबार अपराह्नपछि केही हटेको छ । जसका कारण यस क्षेत्रका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपुरको जनजीवन प्रभावित बनेको छ ।

मध्य तराई क्षेत्रमा भने साँझसम्म नै बाक्लो हुस्सु र कुहिरो रहने अवस्था छ । जसका कारण चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा र परासी क्षेत्रमा घाम कम लाग्ने र शीतलहरले जनजीवन असर परेको छ । त्यस्तै, पूर्वी तराईको कुहिरो र हुस्सु कायम रहँदा घामको ताप कम मात्र धर्तीको सतहमा पुगेको छ । त्यस क्षेत्रका महोत्तरी, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा क्षेत्रमा चिसोको प्रभाव बढेको छ ।

बिहीबार र शुक्रबार पश्चिमी वायु सक्रिय हुँदा पानी पर्ने सम्भावना छ । जसका कारण केही दिनमा थप चिसो बढ्ने विभागले पूर्वानुमान गरेको छ ।

Must View