फागुन ७ देखि १० सम्म कांग्रेस महाधिवेशन, नेपाल तरुण दलको म्याद ६ महिना थप
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ।
मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको थियो । यसबिचमा भएका सहमतिका प्रयास पनि सफल हुन सकेेेन।
मंसिर २६ गतेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला समुहले बैठक बहिस्कार गरेपछि बसेको यो बैठकमा निर्णय गर्दा पनि वरिष्ठ नेता पौडेल र सिटौला पक्षधर नेताहरु भने सहभागी थिएनन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारकाबीच शुक्रबार साँझ पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोकेको हो ।
यस्तै, बैठकले भ्रातृ संगठन नेपाल तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय पनि गरेको छ। तरुण दलको म्याद गत कात्तिकमै सकिएको थियो । केन्द्रीय समिति बैठकमा २८ बाट बढाएर ४१ विभाग गठन गर्ने सभापति शेरबहादुर देउवाले प्रस्ताव पनि पारित भएको छ । नेविसंघको बारेमा भने वैठकमा निर्णय भएन ।