घुम्न जाऔं ! सुदूरपश्चिमको खप्तड, बाजुरा, बझाङ, अछाम र डोटीको केन्द्रबिन्दुमा पर्ने खप्तड
भू–स्वर्ग’को उपमाले परिचित क्षेत्र हो खप्तड । यसको उचाइ समुन्द्र सतहदेखि २ हजार ७ सयदेखि ३ हजार दुई सय २७ मिटरसम्मको उचाइमा अवस्थित छ । दुई सय २५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वकै एक दलदले घाँसे मैदान हो । सुदूरपहाडका चार जिल्लाहरू बाजुरा, बझाङ, अछाम र डोटीको केन्द्रबिन्दुमा पर्ने खप्तड क्षेत्र नेपालकै विभिन्न पर्यटकीय क्षेत्रहरूमध्येको एक हो ।
खप्तड राष्ट्रिय निकुञ्जलाई चिनाउन खप्तड बाबाको महत्वपूर्ण योगदान छ । भारतमा जन्मेका स्वामी सच्चिदानन्द सरस्वती नै खप्तड क्षेत्रमा तपस्यारत रहेपछि खप्तड बाबाको रूपमा चिनिएका थिए । झण्डै ५ दशक खप्तडको जैविक विविधतामा रमाएका बाबाको निधन २०५३ सालमा भएको थियो । ती बाबाको कारण जति क्षेत्र चिनियो, त्यसपछिका दिनहरूमा यसको प्रचारप्रसार खासै हुन सकेन ।
आँखाले नभ्याउने विशाल फाँटहरू, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रंगीबिरंगी फूलले छपक्कै छोपेका मैदानहरू । हिउँदको बेला बाक्लो हिउँमा पहिलो पटक खुट्टा टेक्दा त धर्तीको स्वर्गमा पुगेझैं अनुभूति हुन्छ । २२ पाटन मैदान र ५२ वटा (थुम्का) झोतीहरू भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको आश्रम, त्रिवेणी नदी, खप्तड दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला पाटन, जेठी बहुरानी ढुंगा, भलाउने पाटन, जस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई विशिष्ट बनाएका छन् । यी क्षेत्र तथा स्थानहरूको आ–आफ्नै महत्व छ । गंगादशहरा मेलाका दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, आफूले मागेको कुरा पूरा हुने बिश्वास रहेकोले यो मेला बढी आकर्षण रहेको हो । प्रत्येक वर्षको एक पटक खप्तडमा गंगा दशहरा मेला र ईन्द्रजात्रा मेला लाग्ने गर्छ । जेठ÷असार महिनामा गंगा दशहरा र साउन÷भदौमा खापर दहमा ठूलो मेला लाग्ने गर्छ । त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन् । सुदूरपहाडको देउडाले रातभर मेला नै गुञ्जायमान हुन्छ ।
कसरी पुग्ने खप्तड ? देशको राजधानी काठमाडौंबाट करिब १२ घण्टाको समयमा बसमा धनगढीको अत्तरिया पुगिन्छ । हवाईजहाजमा पनि धनगढीसम्म जान सकिन्छ । अत्तरियाबाट खप्तड जानलाई बझाङ, बाजुरा, अछाम र डोटीबाट जाने प्रवेश द्वार बनाएका छन् । तर पनि खप्तडबाट सबैभन्दा नजिक रहेको सहर बझाङ छान्नाको मेल्तडी पर्छ । मेल्तडीसम्म नै गाडी जान्छ । त्यहाँबाट खप्तड जान अढाई घण्टामात्र लाग्छ । बाजुराबाट पनि सडकबाट करिब आठ घण्टार समय लाग्छ । त्यस्तै, अछामबाट खप्तड जाने हो भने पनि सवारीसाधन पुग्ने ठाउँबाट करिब पाँच घण्टा समय लाग्छ भने डोटीबाट खप्तड जाने हो भने मूल प्रवेशद्वार झिग्रानाबाट सात घण्टामा खप्तड पुगिन्छ । अन्य जिल्लाबाट जान फुर्सदमा हिँड्ने पर्यटकलाई सहज हुन्छ भने छोटो समयमा खप्तड भ्रमण गर्ने पर्यटकलाई भने बझाङबाट नै सजिलो पर्छ । अन्य जिल्लामा एक–दुई दिन हिँडेर खप्तड पुगिन्छ भने बझाङबाट खप्तड जाँदा त्यो अरु जिल्लाको बाटोकै समयबराबर खप्तडमा केही महत्वपूर्ण ठाउँहरू घुम्न सकिन्छ । काठमाडौंबाट खप्तड पुग्न, घुम्न र फर्कन धेरै खर्च लाग्दैन । काठमाडौंबाट प्लेनमा जाने हो भने चार हजारदेखि १२ हजारसम्मको टिकट लाग्छ धनगढी पुग्न । बसमा जाने हो भने १५ सय रुपैयाँ कैलालीको अत्तरिया बजारसम्म गाडी भाडा लाग्छ । बझाङ जिल्लाबाट भएर जाने हो भने प्रतिव्यक्ति ८ सय रुपैयाँ गाडी भाडा लाग्छ । मेल्तडीमा खाना खाएर हिँडेर नै जानुपर्छ । दिउँसो २-३ बजे नै खप्तड पुगिन्छ । डोटीबाट जाने हो अत्तरियाबाट ८ घण्टामा डोटीको सिलगढी पुगिन्छ भने सिलगढीबाट करिब तीन घण्टामा झिग्राना बजार पुगिन्छ । झिग्रानाबाट करिब ७ घण्टाको पैदल हिँडेर खप्तड पुगिन्छ । करिब एक हप्ता खप्तड घुम्ने गरी भ्रमणमा जाँदा काठमाडौंबाट गएर काठमाडौं पुग्न (खान, बस्न, टिकट, अन्य खर्च) न्यूनतम १० हजारजति लाग्छ । खप्तडमा खाने, बस्ने व्यवस्था छ । तरपनि पाल, स्लिपिङ ब्याग, ड्राइ फुड, न्यानो ज्याकेट, रेनकोट, ऊनीको बाक्लो टोपी, बाक्लो मोजालगायत न्यानो हुने कपडाहरू लैजानुपर्छ । बडी लोसन, खोकी र टाउको दुखेको औषधि, हेन्डीप्लास्ट पनि बोकेर जानुपर्छ । खप्तडमा पानी पर्यो भने सहनै नसक्ने जाडो हुन्छ । क्षण–क्षणमै मौसम परिवर्तन हुन्छ । पानी पर्दा फाँटहरू एकैछिनमा जलाशयमा परिणत हुन्छन् । आकाशको पानी बन्द हुनेबित्तिकै एकैछिनमा जम्मा भएको पानी सबै बगेर ओभानो हुन्छ ।
भूमिराज जोशी